मकवानपुर, कात्तिक १५ । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने अन्तिम तयारी गरेका छन् । मुख्यमन्त्रीपछि दोस्रो वरीयतामा रहेका मन्त्री स्थापितलाई प्रदेशका अन्य मन्त्रीहरुको सल्लाह बमोजिम हटाउन लागिएको स्रोतले जनाएको छ ।
मन्त्री स्थापितले मुख्यमन्त्रीको निर्देशन नमान्ने, आफ्नो मन्त्रालयमा नबस्ने, कामको गति फितलो तथा मन्त्रीपरिषदको वैठकमा अभद्र ब्यवहार गरेको कारणले स्थापितलाई हटाउन लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका दुई पुर्व महिला कर्मचारीहरुलाई यौन दुव्र्यवहार गरेको आरोप खेपिरहेका स्थापितले मुख्यमन्त्री पौडेलसंग पनि पटकपटक अभद्र व्यवहार गरेको कारण स्थापितको मन्त्रीपद संकटमा परेको हो ।
मन्त्री स्थापितलाई हटाउन प्रदेशका धेरैजसो मन्त्रीहरु सहमत भए पनि पार्टी नेतृत्व र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँग अन्तिम छलफल गरेर हटाउन लागिएको हो ।