दुई सय २० बाँदर नियन्त्रणमा

दियो पोस्ट  

 

पर्वत, १५ कात्तिक । बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ ।
दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म २२० बाँदर नियन्त्रणमा लिएको हो ।
उक्त गाउँपालिकाअन्तर्गत ६ वटै वडाबाट गरी तीन महीनाको अवधिमा सो संख्यामा बाँदर नियन्त्रणमा लिइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको सङ्कल्प प्रस्तावसहित रु ३० लाख विनियोजन गरेको थियो ।
बाँदर नियन्त्रणका लागि भारतीय नागरिक, स्थानीयवासी र प्रहरी गरी २० जनालाई परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका बाँदरलाई वडा नं ४ स्थित पाखापानीमा सुरक्षित खोर बनाएर राखिएको छ ।
बाँदर बर्दिया राष्ट्रिय निकञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुरा भएको भए पनि प्रदेश सरकार, वन विभाग, वन मन्त्रालयलगायत झण्डै एक दर्जन बढी निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन नसकिएको प्रवक्ता उच्चैले जानकारी दिए ।
यसरी नियन्त्रण गरेपछि बालीनाली जोगिए पनि यिनीहरुलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधि उपचार गर्न समस्या परेको बताइएको छ ।
बाँदरलाई दैनिक आवश्यक पर्ने खानाका लागि फलफूल, मकै, धान, तरकारी, आलु स्थानीयवासीले नै दिँदै आएका छन् । दैनिक ५० किलोग्रामभन्दा बढी खाद्यान्न आवश्यक पर्ने अध्यक्ष पौडेलले बताए ।
आधुनिक प्रविधिको पासो लगाएर बाँदर नियन्त्रण गर्ने काम जारी रहेको छ । भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल तथा तरकारी बाली सखाप पार्ने गरेकामा गएको साउनयता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताइन् ।
–––