काठमाडौं । नेपाली कांग्रेसले दशैं, तिहार र छटको अवसरमा एकै साथ चियापान कार्यक्रम आयोजना गर्यो । झण्डै १ लाखलाई निमन्त्रण गरिएको चियापानमा त्यतिनै संख्यामा नेता कार्यकर्ता आउन भने सकेनन् ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपाकै नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री राम बहादुर थापा बादल लगायत विशिष्ट नेताहरु सहभागी भएका थिए ।
चियापान समारोहमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताको आधारमा समृद्धिको यात्रा तयार गरिने बताए ।
‘दलहरु मिलेर नै शान्ति प्रक्रियाको काम गरौं, हामीले मिलेर नै संविधान जारी गरौं, चुनाव गरौं, अब मिलेर नै संविधानको भावना र मर्मअनुसार विकास समृद्धिको यात्रातिर जानुछ’ उनले भने,‘गिरिजाप्रसाद कोइराला र मैंले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताको भवना अनुसार नै गरेका थियौं । जनताले छिटोभन्दा छिटो समृद्धि र विकास चाहेका छन्, त्यो पनि राष्ट्रिय एकताबाटै सम्भव छ ।’
चियापानमा सहभागीलाई कांग्रेसले समोसा, जेरी र निम्की प्लास्टिकको ‘दुना’मा दिएको थियो ।
सहभागी नेता तथा कार्यकर्ताले चिया समेत पिउन पाएका थिए । व्यवस्थापनमा केही कमजोरी देखिएपछि करिब ३ बजेतिर सहभागी भएकाहरुले भने ती समोसा जेरी नपाएपछि निम्कीमै चित्त बुझाउनु पर्यो । १ लाखलाई निम्ता गरेपनि एकलाखलाई पुग्ने खाने सामग्री नपुगेपछि कार्यकर्ताबीच हानाथाप नै चलेको थियो ।