आज काग तिहार: यस्तो छ तिहारको महत्व

Diyo post  

काठमाडौँ, कार्तिक १९ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

पहिलो दिन काग तिहार

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले बताए ।

कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले राससलाई जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।

कागेश्वरीमा कागको विशेष मेला

कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन आज सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिने भएको छ ।

प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिनसमेत विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएको छ । नगरपालिकाको नामकरण भएकाले काग तिहारमा विशेष मेला समेत शुरु गरिएको हो । सनातनदेखि नै यहाँ भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गर्न आउने भक्तजनको भीड लाग्थ्यो । पूजा गर्न आउने भक्तजनका माध्यमबाट मेलासमेत लाग्ने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन् । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

भाद्र शुक्ल अष्टमीमा कुनै कारणले चढाउन नपाएका भक्तजनले कार्तिक कृष्ण त्रयोदशीका कागेश्वरी महादेवलाई गोसाइँकुण्डको जल चढाउँछन् । नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेल कागका रूपमा रहेका कागेश्वरी महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश भई सुख, शान्ति प्राप्त हुने विश्वास रहेको बताउछन् ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो ।

कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । कागेश्वरी मेलामा लाखौँ हिन्दू र बौद्ध धर्माबलम्बीको भीड लाग्छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ ‘स्वस्थानी व्रतकथा’मा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम र नगरपालिकाको रु १३ लाख लागतमा २२७ किलोको कागको मूर्ति स्थापना गरिएको थियो ।

हजार किलोको कागको मूर्ति

धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस्, त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो कागको विश्वकै ठूलो मूर्ति बनाउन उपयोग हुनेछ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका –१ मा कागेश्वरी मन्दिर नजीकै रहेको लोकतान्त्रिक शहीद उद्यान गागलफेदीमा अनुमानित ५० लाख रुपैयाँको लागतमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो ।

मूर्ति स्थापना गर्न स्तम्भ निर्माण भइसकेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताए ।

यसका लागि नगरपालिकाका प्रत्येक घरधुरीलाई मिल्केका कवाड अष्टधातुका सामान उपलब्ध गराउन आह्वान गरिएको छ । सँगै जोडिएका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकावासीलाई पनि अष्टधातुका कवाड सामग्री बुझाउन अनुरोध गरिएको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो ।

सुन, चाँदी, तामा, पित्तल, फलामलगायत धातुका सामग्री कवाडीलाई नदिई सम्पदा निर्माणमा उपयोग गर्न लागिएको हो । यसका लागि गागलफेदी– आलापोट– भद्रवास– डाँछी– मूलपानी– गोठाटारलगायत क्षेत्रमा सार्वजनिक पदयात्रा गर्ने तयारीसमेत भइरहेको छ ।

सम्बन्धित खबर