काठमाडौँ, कात्तिक २१ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ । पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न नसकेको छैन ।
४ भदौमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी झाको हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले तीन कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, घटनामा उनीहरूको संलग्नताको कुनै प्रमाण नभेटिएपछि छुटिसकेका छन् ।
झा घरभित्रै मृत भेटिएका थिए । हत्या गर्ने व्यक्ति कसरी भित्र छिरे भन्नेमै प्रहरी अधिकारी अहिलेसम्म अन्योलमा छन् । पहिलो तलामा रहेको झ्यालको जाली थोरै मात्र काटिएको र त्यहाँबाट मान्छे छिर्न कठिन हुने प्रहरी अधिकारीहरू बताउँछन् । काटेको जालीबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुन सक्ने अनुमान पनि छ । तर, उक्त कोठामा झाकी श्रीमती सुत्थिन् । उनलाई थाहा नहुनु पनि रहस्यमय नै छ । उमेर र रोगका कारण कमजोर रहेकी उनको कतिपय कुरा प्रहरीले विश्वाससमेत गरेको छैन ।
झा संगै एक दशक अगाडी १७ असोज २०६६ मा ललितपुरको धाबीघाटमा व्वसायी दिवाकर चन्द हत्या गरिएको अवस्थामा प्रहरीभेटिएका थिए । घटनाको अनुसन्धान अपराध शाखादेखि सिआइबीसम्मले गरे तर परिणाम अहिलेसम्म शुन्य छ । त्यस्तै नेपाल प्रहरीका तत्कालीन सइ कुवेर कार्कीको हत्या भएको १२ बर्ष भइसकेको छ तर यो घटनाको अनुसन्धान पनि शुन्य छ । २१ मंसिर ०६३ मा सइ कार्कीको गोठाटारमा खुकुरीले हानेर हत्या भएको थियो ।