राप्रपा एकता विवाद : थापा–राणा आरोप–प्रत्यारोप

दियो पोस्ट  

काठमाडौं, कात्तिक २७ । पार्टी एकीकरण प्रक्रिया बिथोलिएपछि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच आरोप–प्रत्यारोप सुरु भएको छ । एकता भाँडिनुमा दुवैले एक–अर्कालाई दोषी देखाएका छन् ।

सोमबारका लागि तय भएको एकीकरण आइतबार थापा र राणाबीचको एकान्त वार्तापछि एकाएक भाँडिएको थियो । राणासँगको वार्तापछि राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बोलाई अध्यक्ष थापाले एकता बिथोलिएको जानकारी गराएका थिए । बैठकमा थापाले चुनाव चिह्न र राजसंस्थाको विषयमा पहिला भएको सहमतिमा बखेडा झिकेर राणाले एकता बिथोलेको आरोप लगाए ।

तर, राणाले थापाको भनाइ अस्वीकार गर्दै थापाकै कारण एकता सम्भव नभएको बताएका छन् । ‘पार्टी एकीकरणका लागि डा। लोहनीजी ९प्रकाशचन्द्र लोहनी०ले पाँच दिनको समय माग्नुभएको छ । उहाँलाई पनि समेट्नुपर्ने भएकाले समय दिऔँ भनेर मैले प्रस्ताव राखेँ, तर कमलजीले विमति जनाउनुभयो,’ राणाले नयाँ पत्रिकासँग भने, ‘सैद्धान्तिक विषयमा कुरा भएकै छैन । उहाँले भ्रम छर्नुभयो ।’

थापासँगको एकान्त वार्तामा राजसंस्थाको विषयमा निर्णायक कुरा नभएको राणाले बताए । ‘राजसंस्थाको विषयमा कुरै भएको छैन । चुनाव चिह्न भने फेर्नुपर्छ भनेका हौँ, उहाँहरूले हुन्छ या हुन्न भन्ने आधिकारिक धारणा दिनुभएकै छैन,’ राणाले थपे, ‘पहिला भएको सहमति बिथोल्यौँ भन्ने किसिमको प्रचार गराएर उहाँले भ्राम फैलाउन खोज्नु भयो ।’

राणा भन्छन्, राजतन्त्र समस्या नै होइन
राप्रपाले एकीकृत पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने आफ्नो ‘बटमलाइन’ रहेको बताउँदै आएको छ । यता, राप्रपा प्रजातान्त्रिकले चुनाव चिह्न हलो हुनुपर्ने धारणा राख्दै आएको छ । ‘एकता महाधिवेशनबाट पारित नीति, विधान र गाई चुनाव चिह्न हाम्रो बटमलाइन हो,’ राप्रपा अध्यक्ष थापाले नयाँ पत्रिकासँग भने ।

राणाले भने एकता महाधिवेशनले पारित गरेको सैद्धान्तिक विषयमा विमति नरहेको भन्दै आफू एकताका लागि सकारात्मक भएको बताए । ‘एकताका विषयमा राप्रपा प्रजातान्त्रिक सदैव सकारात्मक छ,’ राणाले भने, ‘चुनाव चिह्न गाईबाहेक अर्को राख्नुपर्छ । चुनाव चिह्नको विषय मिलेपछि राजसंस्थाको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा फर्मुला निस्किसकेको छ ।’

कमल थापा
अध्यक्ष, राप्रपा
एकता महाधिवेशनबाट पारित नीति, विधान र गाई चुनाव चिह्न हाम्रो बटम लाइन हो । उहाँहरूले यसमा पहिले सहमति पनि गर्नुभएको थियो । राजतन्त्र र चुनाव चिह्न छाड्न हामी तयार छैनौँ, पशुपतिजी मान्न तयार हुनुभएन ।

पशुपतिशमशेर राणा
अध्यक्ष, राप्रपा प्रजातान्त्रिक
राजतन्त्र र चुनाव चिह्नको विषयमा निर्णायक छलफल भएकै छैन । बाहिर भ्रम फैलाउने काम मात्र भयो । चुनाव चिह्न गाईबाहेक अर्को राख्नुपर्छ । यो मिलेपछि राजसंस्थाबारे कसरी अगाडि बढ्ने भन्ने फर्मुला निस्किसकेको छ ।

TATA ADD