पुल नहुँदा १० मिनेटको बाटोलाई डेढ घन्टा

दियो पोस्ट  

सखुवानन्कारकट्टी–१ बाट वडा नं. ५ खयरबोनास्थित गाउँपालिका केन्द्र झन्डै पाँच किलोमिटर टाढा छ । साइकलबाट त्यहाँ पुग्न १० मिनेट लाग्छ । तर, बीचमा पर्ने कटनीया खोलामा पुल नहुँदा स्थानीय घुमाउरो बाटोबाट डेढ घन्टा लगाएर पुग्ने गरेका छन् ।

वडा नं. १ का वडाध्यक्ष शुभनारायण यादवका अनुसार पुल नहुँदा स्थानीयले ३३ किलोमिटर यात्रा गर्नुपरेको छ । यादवले भने, ‘पुल नहुँदा गाउँपालिका केन्द्र रहेको खयरबोना पुग्न मौवाही, सीतापुर, लहान हुँदै घुमेर जानुपर्छ ।’ गाउँबाट लहान २० किलोमिटर टाढा छ भने गाउँपालिका केन्द्र १३ किलोमिटर टाढा छ ।

गाउँपालिकाले वडा नं. १ र ३ मा पर्ने सो खोलामा पुल बनाउने भएको छ । पुलको ठेक्का पनि लागिसकेको गाउँपालिकाका अध्यक्ष केदारप्रसाद यादवले बताए । सो पुल अजय वामती जेभीले बनाउनेछ ।

पुल २० मिटर लम्बाइ र सात दशमलव दुई मिटर चौडाइको हुनेछ । पुलको बुधबार शिलान्यास भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले चार करोड ९२ लाख बजेट छुट्याएको छ ।

पुल निर्माणको सम्झौता गत २५ साउनमा नै भएको थियो । पुलको निर्माण १८ महिनामा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलले दर्जन गाउँलाई जोड्ने वडा नं. १ का वडाध्यक्ष शुभनारायण यादवले बताए ।

पुलले सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी र बरियारपट्टी गाउँपालिकाका दर्जन गाउँलाई जोड्नेछ । सखुवानन्कारकट्टी गाउँपालिकाको लतियाही, मधुवनी, मौवाही, भौर, कटैया, लक्ष्मीपुर पतारीको पत्थरगाढा, खरुकियाही तथा बरियारपट्टीको नरगी, गोविन्दपुर गाउँका बासिन्दालाई ओहोरदोहोर गर्न सजिलो हुनेछ ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवले गाउँपालिकाको थोरै विकास बजेट भए पनि कटनियामा पुल निर्माणलाई प्राथमिकता दिएको बताए । ‘जनताको दैनिकीसँग जोडिएको कटनियाको पुल निर्माण गुणस्तरीय हुनुपर्छ,’ अध्यक्ष यादवले भने, ‘त्यसका लागि स्थानीय बासिन्दाले निरन्तर निगरानी गर्न जरुरी छ ।’ डिपिआर, पुलको नक्सासहित प्रक्रिया पूरा गर्न एक वर्ष लागेकाले केही ढिलो भएको उनको भनाइ छ ।

पुल बनाउन गाउँपालिकाको पाँच करोड

कटनीय खोलामा पुल बनाउन सखुवानन्कारकट्टी गाउँपालिकाले चार करोड ९२ लाखमा ठेक्का लगाएको छ । गाउँपालिकाको कुल बजेट नै न्यून भए पनि अन्य विकास आयोजना कटाएर पुलका लागि विनियोजन गरेको अध्यक्ष केदारप्रसाद यादवले बताए । पुल बनेपछि तीन गाउँपालिकाका दर्जन गाउँका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।