काठमाडौं, मंसिर ७ । लामो समयदेखि होटल याक एण्ड यतिलाई घर भाडादेखि सरकारलाई तिर्नुपर्ने राजस्व र मजदुरलाई दिनुपर्ने तलबसमेत नदिई सत्ताधारीहरुको सेटिङमा मनपरी ढंगले क्यासिनो रोयल संचालन गर्दै आएका सुरेन्द्रबादुर सिंहले विवादास्पद सुन व्यापारी सुरेशलाल श्रेष्ठ र श्रीलंकाका अनुराधा फरेराको लगानीको होटल मल्लमा रहेको क्यासिनो बेल्जियम कब्जा गरेर बसेका छन् ।
बेल्जिजयम क्यासिनो कब्जा गरेर बसेका बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठसँग मिलेर केही समयअघिमात्र क्यासिनो किनेको पार्टीलाई सञ्चालन गर्न नदिई आफैँ सञ्चालन गर्ने प्रयास गरिरहेका छन् ।
बाबा भन्ने ज्ञानेन्द्रले बेल्जियम क्यासिनोमा श्रीलंकाका अनुराधा फरेरा र जीवन चन्दलाई छिर्नै दिएका छैनन् ।
काठमाडौंको लाजिम्पाटमा रहेको पाँचतारे होटल -याडिसनमा सञ्चालित क्यासिनो ¥याड हालसालै बिक्री भएको छ । लैनचौरमा रहेको होटल मल्लको क्यासिनो बेल्लिजका बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठले क्यासिनो -याडलाई ४० करोड रुपैयाँमा खरिद गरेको स्रोतको भनाइ रहेको छ । सो क्यासिनो किन बिक्री गरियो भन्नेबारे अहिलेसम्म कुनै कुरा बाहिर आएको छैन । २०५१ सालदेखि विभिन्न फौजदारी अभियोग लागेर फरार भई श्रीलंकामा भागेर गई लुकेर बसेका उनै बाबा भन्ने ज्ञानेन्द्र, मेरिगोल्ड सुन पसलका मालिक सुरेन्द्रलाल
श्रेष्ठ र विवादित ल्हाक्र्याल लामाको समूहले सो क्यासिनो खरिद गरेको खुलेको छ । पैसा र शक्तिको आडमा अहिले नेपाल आएका ज्ञानेन्द्र श्रेष्ठ सुरुमा होटल मल्लको क्यासिनो बेल्लिजमा रहेका थिए । क्यासिनोको पूर्णस्वामित्व जीवन कुँवर भन्ने व्यक्तिको रहेको थियो । पछि शक्तिकेन्द्रको आडमा कुँवरलाई र कुँवरले नेपाल भित्र्याएको श्रीलंकाली नागरिक अनुराधा फरेरालाई पछिल्लो समयमा क्यासिनो छिर्न समेत नदिई हडपेर बसेका थिए । सर्वोच्च अदालतले बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई होटल मल्लमा बेल्लिज क्यासिनो सञ्चालन गर्न अनुमति दिएसँगै उनले अवैध रुपमा ४० करोड रकम भित्र्याएको समेत खुलेको थियो । श्रेष्ठले एफडीआई नगरी श्रीलंकाबाट हुण्डीमार्फत उक्त रकम भित्र्याएर क्यासिनो सञ्चालन गर्दै आएको आरोप उनीमाथि लागिरहेको अवस्थामा पछिल्लो समयमा क्यासिनो -याड खरिद गरेपछि उनको कालाधन्धाको खुलासा भएको छ ।
पहिले भेन्टेज नेपालको नाममा रहेको उक्त क्यासिनोमा अहिले बेल्लिज प्रालि बनाई ७५ प्रतिशत श्रीलंकाली नागरिक अनुराधा फरेरा, २१ प्रतिशत श्रेष्ठ र ४ प्रतिशत जीवन चन्दको सेयर रहेको छ । श्रीलंकाली नागरिकको नाममा सेयर राखिए पनि एफडीआई नगरी रकम आएको हुँदा क्यासिनोको लगानी नै अवैध देखिएको हो । ज्यान मार्ने उद्योगमा २३ वटा मुद्दा रहेका श्रेष्ठलाई प्रहरीले असल चालचलन भएको रिपोर्ट दिएर क्यासिनोमा लगानी गर्न छुट दिएको समेत पाइएको छ । केही समयअघि महानगरीय प्रहरीपरिसरले काठमाडौंले असल चालचलन भएको रिपोर्टको लागि सिफारिस गरेका श्रेष्ठ बेबिलोन डिस्कोका राकेश लिम्बुदेखि रानीबारीमा इञ्जिनियर दम्पतीमाथि आक्रमण गरेर ज्यान मार्ने उद्योगमा मुद्दा खेपेका व्यक्ति हुन् । काठमाडौं परिसरका तत्कालीन प्रमुख विश्वराज पोखरेलले श्रेष्ठलाई प्रहरी रिपोर्ट दिएपछि उनले केही समयअघि अदालतबाट मुद्दा समेत मिलाइसकेको आरोप लागेको छ । श्रेष्ठले सर्वोच्च अदालतमै सेटिङ मिलाएर बेल्लिज क्यासिनो सञ्चालन गर्ने अन्तरिम आदेश ल्याएर क्यासिनो सञ्चालन गर्दै आएको बताइएको छ । उक्त क्यासिनोले सरकारलाई करोडौं रकम बक्यौता तिर्न बाँकी छ । सर्वोच्च अदालतले २०७४ पुस २३ गते होटल मल्लमा क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो ।
क्यासिनो नियमावली २०७० अनुसार प्रक्रिया पूरा नगरी बेल्लिजलाई क्यासिनो सञ्चालन गर्ने अन्तरिम आदेश तत्कालीन न्यायाधीश दीपकराज जोशीको एकल इजलासले दिएको थियो । क्यासिनोले सम्झौताअनुसार मल्ल होटललाई बक्यौता रकम नतिरेको उल्लेख गर्दै पर्यटन विभागले क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको थियो । तर, त्यसविरुद्ध बेल्लिज प्रालिमार्फत श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा हालेर सेटिङ मिलाई राज्यलाई करोडौं करछली क्यासिनो सञ्चालन गर्दै आइरहेका छन् । विवादास्पद लगानी र सञ्चालकका कारण चर्चामा आइरहने मल्ल होटलमा सञ्चालित ‘क्यासिनो बेलिज’मा अवैध धन्दा हुने गरेको पाइएको छ । क्यासिनो बेल्लिजमा नियमित खेल्न जाने एक जुवाडेका अनुसार क्यासिनोका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठ उर्फ ‘बाबा’ले चाइनिज, रसियनलाई ल्याउने गरेका छन् । सो क्यासिनो जानेहरुले अवैध रकमलाई वैध बनाउने गरेको आरोप समेत लाग्दै आएको छ । उनीहरुलाई बेल्लिज क्यासिनोको अण्डरग्राउण्डमा रहेको कोठाहरुमा बस्ने व्यवस्था गरिएको छ । विगतमा बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठ गुण्डागर्दी र ज्यान मार्ने अभियोग लागेका व्यक्ति हुन् ।
उनले श्रीलंकन कम्पनीलाई नेपालमा भित्र्याएर अवैध तरिकाबाट लगानी भित्र्याएको भन्दै विभिन्न निकायमा उजुरी परे पनि उनी र उनको कम्पनीमाथि छानबिन भएको छैन । श्रीलंकाको बेल्लिज क्यासिनोकै नामबाटै सञ्चालन गरिएको क्यासिनो बेलिजका नेपाली सञ्चालक बाबाले श्रीलंकामा पोकर टेबुब सञ्चालन गर्ने गरेका छन् । श्रेष्ठ कहिले कांग्रेस, कहिले एमाले त कहिले माओवादी गर्दै पार्टी परिवर्तन गर्ने विवादास्पद धार्मिक नेता ल्हाक्र्याल लामा (खेम्पो) सँग मिलेर अहिले क्यासिनो -याड खरिद गरेको पाइएको हो । बेल्लिजमा बाबाले कर्मचारी ट्रेड युनियन समेत खोल्न दिएका छैनन् । बाबाले वैध/अवैध काम गराउँदै आएका रसियन र चिनियाँ युवती नर्तकीलाई भने ह्यात होटलमा राख्ने गरेको क्यासिनोमा कार्यरत एक कर्मचारीले बताएका छन् । ललितपुरका मिनकृष्ण महर्जनसम्मको हत्या आरोप लागेका ज्ञानेन्द्र श्रेष्ठ बाबालाई तत्कालीन महानगरीय प्रहरी आयुक्त जयबहादुर श्रेष्ठले असल चालचलन भएको रिपोर्ट दिएका थिए । चन्दकै निर्देशनमा विभिन्न काण्डमा मुछिएका बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी रिपोर्ट लिइसकेका हुन् । एर्आइजी चन्दको निर्देशनमा काठमाडौं परिसरका प्रमुख विश्वराज पोखरेलले श्रेष्ठलाई प्रहरी रिपोर्ट दिएका थिए ।