कलाकार सुजन डङ्गोल भन्छन्- ‘काठमाडौँ नेवारहरूको मात्रै होइन’

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर ०८, २०७८ | ०:२३:२६

‘सहरीकरण : समस्या वा अवसर ?’ कलाकार सुजन डङ्गोल भन्छन्, ‘समस्या ।’ 

व्यवस्थित सहरीकरण विकासको मार्ग हो तर अस्तव्यस्तता र घरैघर विनाश हो ।  क्षेत्रफल, जनसङ्ख्या र पूर्वाधारको विकासले कुनै पनि ठाउँ सहर बन्ला तर सहर बनिरहन सक्दैन । सहर बन्नु भनेको घरैघर बन्नु होइन, फोहोरी फोहोर थुप्रिनु होइन, गाडी नै गाडी कुदिरहनु होइन ।  

सहरमा मानिसको आकर्षण हुन्छ तर भइरहँदैन । यस्तो हुनुका थुप्रा कारणहरूमध्ये प्रमुख हो, सहरमा समुदाय रहेन । पहिले समुदाय थियो- सहर थियो, सहर रहर थियो । अहिले यहाँ समुदाय छैन, काठमाडौँ बस् ‘घरैघर घरैघर घरैघरको पहिरो’ भएको छ । ‘घरैघर घरैघर घरैघरको पहाड’ भएको छ । ‘घरैघर घरैघर घरैघरको बाढी’ भएको छ । ‘घरैघर घरैघर घरैघरको थुप्रो’ भएको छ । ‘घरैघर घरैघर घरैघरको डुङ्गुर’ भएको छ ।  

वृहत् मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग एवं सञ्चार व्यापक सुविधा प्रदान गर्ने थलो सहर हो । अझ, मानवीय सभ्यता, इतिहास, संस्कृतिलाई जिउँदो राख्दै बनाइएको व्यवस्थित र विकसित थलो भनेको सहर हो । मुख्य सहरको बनावट शैलीले देशको पुरै सभ्यता बोकेको हुन्छ। त्यो सहरलाई हेरेरै पनि विगतको इतिहास र मौलिक पक्ष यस्तो रहेछ भन्ने थाहा हुन्छ ।आजको काठमाडौँलाई नियालिरहेको बाह्य एवं आन्तरिक पर्यटकले के सोच्दा हुन् ? यस्तो घरैघरैको थुप्रोमा आइपुगेर फोहोर पन्छाउँदै लिच्छविकालदेखिको घामपानी देखेर, भोगेर बसेका चैत्य र मूर्तिहरूमा उसले के भेट्दा हुन् ? डरलाग्दा पुरानो घरको छिँडी छेँडेका साँघुरा गल्लीहरूमा कतिपटक अलमलिँदा हुन् ? कतिपटक नाक समाउँदा हुन् ? कतिपटक खुट्टा उचाल्दा हुन् ? कतिपटक खुइय गर्दा हुन् ? कतिपटक दिक्क मान्दा हुन् ?

ठुला सहरहरूमा सुविधाहरू पनि ठुला रहन्छन् भन्ने आममान्यता हो । शिक्षा, रोजगारी, सुविधा र सरल जीवनको खोजीमा आममानिस सहरतर्फ आकर्षित हुन्छ तर उचित व्यवस्थापन, पूर्वाधारबिनाको विकास, असल नीति र परिवर्तनशील योजनाहरूको अभावमा नेपालका धेरै सहरहरू ‘घरैघर घरैघर’को पट्यारलाग्दो पहाड बन्न पुगेको छ, विशेषतः काठमाडौँ सहर । यही कुरा आफ्ना चित्रमार्फत देखाइरहेका छन्- डङ्गोल । 

घरैघर घरैघर घरैघरको पट्यारलाग्दो पहाड कोरिरहेका डङ्गोल काठमाडौँ उपत्यकास्थित बबरमहलको सिद्धार्थ आर्ट ग्यालरीमा भेटिन्छन् । सहरमा पुरानै मौलिक कुराहरूको खोजीमा भौतारिरहने डङ्गोल आफ्नो चित्रकलामार्फत अव्यवस्थित सहरीकरणका बग्रेल्ती समस्याहरूलाई देखाइरहेका छन् । ‘टेल्स अफ सिटी’ अर्थात् ‘सहरको कथा’ शीर्षकको चित्र प्रदर्शनीमा पुग्दा जनघनत्व बढी भएको काठमाडौँको कारुणिक चित्रहरू देख्न/भेट्न सकिन्छ । प्रदर्शनीमा डङ्गोल ती टेल्स (कथा)हरू हामीलाई देखाइरहेका छन्, जो हामीले अनदेखा गरिरहेका छौँ । जसलाई हामी लत्ताइरहेका छौँ । जुन कथावस्तुलाई धूलिसाथ गर्न हामी लागिपरेका छौँ । डङ्गोलले हामीले बेवास्ता गर्दै गएका यहाँका गल्ली, चोक, डबली, चैत्य र मन्दिरहरूमा रैथाने मसलाको बास्ना आउने यहाँका साँघुरा भान्छा र भट्टीहरू, मल्लकालीन काठका होचा ढोकाहरू, जात्रा पर्वहरू, मौलिक वस्तुस्थिति र वास्तुस्थितिहरू कसरी सकिँदै छन् र यसले दिर्घकालिनरुपमा कस्तो प्रभाव पार्नेछन् भन्ने कुरा चित्रमार्फत प्रस्टाएका छन् । डङ्गोलले रेखा चित्रमार्फत आफ्नो जाति, धर्म, संस्कृति, सम्पदा तथा काठमाडौँ उपत्यकाको सांस्कृतिक वैभवलाई उतारेका छन् ।

‘कृष्णको कथक नृत्य अर्थात् कालियादमनको चित्र, ‘विष्णुको बँदेलरूप ‘बराह अवतार’ले सहर उचालिरहेको चित्र’, ‘सहरमाथिको अँध्यारो आकाशमा मडारिरहेको विष्णुको ‘कल्की अवतार’को चित्र’, ‘वृत्रासुरको वधका खातिर ऋषि दधिचीको मृत्युपश्चात् उनकै हड्डीबाट  विश्वकर्माले निर्माण गरेको अस्त्र (बज्र)मुनि चेपिएको सहरको चित्र’, ‘घरैघरको पहाडको टाकुरामा पुननिर्माणको क्रममा रहेको स्वयम्भूको चित्र’ लगायतका चित्रकथाहरूले विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरूलाई सम्बोधन गर्न, गाउँ र सहरहरू बिचको दुरी घटाउन एवं सहरी विकासको लागि योगदान पुर्‍याउन ठुलो मद्दत पुर्‍याउनेछ ।  

यमुना नदी किनारमा आफ्नो भकुन्डो खसेपछि भकुन्डो लिन गएका कृष्णलाई मार्न कालिया नागले विष छोड्छ । तर कृष्णले त्यो विष पन्छाउँछन् । साथै विषवमन गर्ने कालियालाई त्यहाँबाट भगाउँछन् । र, आफ्नो गाउँलाई विषालु सर्पदेखि जोगाउँछन् । डङ्गोलले यही मिथकमा रहेर बिम्बात्मक काम गरेका छन् । 

काठमाडौँ सहरलाई सोही पोखरी सरह उतारेर त्यसमाथि सर्पहरू देखाएका छन् । र, सर्पमाथि कथक नृत्यमा मग्न कृष्णलाई देखाइएको छ । “सहरका विष वमन गर्ने सर्पलाई भगाउने कृष्ण तपाईँ हामी नै हौँ । यो सहर एउटा जतिको मात्रै होइन, नेवारको मात्रै होइन । यहाँ जो आइपुग्छ, उसको हो । काठमाडौँ हामी नेवारको मात्रै भनेर अरू कालिया सर्प बन्नु भएन”, डङ्गोल भन्छन् । 

काठमाडौँले समयानुसार आफूलाई परिवर्तन गरेको छ । पर्वत अग्लिएर कचौराजस्तो भएको यस भूखण्डमा कुनै बेला (करिब पन्ध्र लाख वर्ष अघि) घना जङ्गल थियो । घनाबस्ती जङ्गली जनावरको घर थियो। समयक्रममा बागमती नदीले आफू वरपरको महाभारत पर्वतलाई त्रिशूली या दूधकोशीलेझैँ काट्न सकिनन् र ठुलो तालको रूपमा थिग्रिन पुगिन ।  युरेसियन र इन्डियन प्लेटको घर्षणले दक्षिणतिर महाभारत पर्वतशृंखला अग्लिन पुग्दा बागमती जस्ता उत्तर–दक्षिण बग्ने धेरै नदीको बाटो थुनिन पुगेको भू-वैज्ञानिकहरू बताउँछन् । यसप्रकार निर्मित विशाल ताललाई पछि मञ्जुश्रीले चोभारको खोँचदेखि काटी पठाए भनिन्छ । यसलाई विश्वास गर्न नसकिए, वैज्ञानिक मतको सहारा लिऔँ ।

करिब ३० हजार वर्षअघिबाट काठमाडौँ खाल्डोको पानी बगेर जाने सुरु भयो भनिन्छ । नेपालको भूकम्पीय जोखिममा छ, कारण यी दुई प्लेटका घर्षण हुन् । सोही घर्षणले ठुला तालहरू छचल्किनु र कुनै समय बाँध फुट्नु स्वाभाविक प्रक्रिया नै हो । जे होस्, काठमाडौँको पानी निख्रिन समय लाग्यो र अन्ततः निर्ख्रीइ छाड्यो । र, १० हजार वर्षअघि मानवबस्तीका लागि योग्य भू–भागमा परिणत भयो । र, आज ? आज उपत्यका अब बस्न नहुने भइसकेको छ । तर, यसो भन्दैमा काठमाडौँलाई अझ खराब बनाउने त ? पक्कै होइन, सिकारी युगबाट कृषि युगमा फड्को मार्दै यही आइबसी यहीको मलिलो माटोमा खाइखेली हुर्केका र सभ्यताको विकास गरेका मानव पुर्खाहरूको यस इतिहासलाई ‘अब बस्न योग्य’ छैन भन्दै झनै बिगार्दै जान कसैलाई पनि छुट छैन । घरबेटी, घरबहाल, सरकार र पर्यटक कसैलाई पनि । यही कुरा त डङ्गोल, आफ्नो दोस्रो चित्रमार्फत देखाइरहेका छन् । 

उनले विष्णुको बँदेलरूप ‘बराह अवतार’ ले सहर उचालिरहेको चित्र बनाएर ‘काठमाडौँ’लाई जोगाउनु पर्ने बताएका छन् । तर डङ्गोल जसप्रकार काठमाडौँको संरक्षणको नाममा कुकृत्यहरू भइरहेका छन्, त्यससँग सन्तुष्ट छैनन् । “भूकम्पले लडाएको दरबार र पोखरीहरू बनाएर मात्रै हुँदैन । त्यति मात्रै गरेर पुग्दैन । वसन्तपुरको सौन्दर्ययता तब छ, जब त्यस वरपरको स्थानीयताले जगेर्ना पाउँछ । वसन्तपुर वरपर खै कहाँ बचेको छ स्थानीयता ? खै त्यहाँका कथाहरूको संरक्षण गरेको ? खै त्यहाँको किम्बदन्तीहरू जोगाएको ?” उनी भन्छन्, “काठमाडौँ किम्बदन्तीहरूको सहर हो । किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो । वैज्ञानिक अनुसन्धानले सुल्झाउन नसकेको रहस्यको गाँठो किम्बदन्तीहरूमा लुकेको हुन्छ।” कुनै पनि सहरसँग सभ्यता, संस्कृति, भाषा, सङ्गीत, भेषभूषा लगायतका कुराहरू जोडिएका हुन्छन् । वसन्तपुरको मात्रै पुनर्निर्माण गरिदा यी यावत कुराहरू छुटिरहेका छन् ।

धमाधम महलहरू ठडाएर आ-आफ्ना कामकाजमा ‘मगनमस्त’ भइरहेकाहरू, न कसैसँग बोलिरहेका, न फुर्सदमा भएजस्ता देखिने सहरवासीहरूको दिक्कलाग्दो नियमिततामाथि आफ्ना अन्य चित्रहरूमार्फत डङ्गोल खरो उत्रिएका छन् । गाउँका जग्गाजमिन मासेर (नासेर) सहर पसेकाहरू एवं रोजीरोटीकै लागि सहरको दमन गरिरहेकाहरू एकपटक उनको प्रदर्शनीमा पुग्नु नै पर्दछ ।  असन्तुलित सहरी विकास, शहरकेन्द्रित आर्थिक, प्रशासनिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रका कामकाजी विकासले सहरलाई कति खोक्रो बनाइसकेका छन्, डङ्गोल आफ्ना चित्रमार्फत बताइरहेका छन् । उनी भन्छन्, “सहरमा काष्ठ, प्रस्तर, चित्र, धर्म, संस्कृतिसँगै सङ्गीत, नाटक, साहित्य, खाना, खेती, वास्तु आदि पनि हुन्छन् ।”

माथ्लो तलामा चित्रहरू हेर्दै जाँदा एउटा सानो चित्रमा पुगेर पङ्क्तिकार रोकिन्छ । चित्रमा हलोजुवालाई डोजरले लथालिङ्ग पारिरहेको देख्न सकिन्छ । किसानहरूको पर्याय खेतबारी जोत्ने हलोमाथि अत्याधुनिक बुल्डोजरको नाङ्गो नाच मडारिनु भनेको विकासले कसरी हाम्रो मौलिकतालाई नष्ट पार्दै छ भन्ने कुरा सजीव चित्रण हो । 

पौराणिक कालको शाली नदी किनार अर्थात् नेपालको प्राचीन सहर  साँखुमा जन्मे–हुर्केको डङ्गोलले यतिबेला आफ्नो घर महाबौद्धमा बसेर अग्ला र अव्यवस्थित भवन निर्माण, अव्यवस्थित पार्क, पिउने पानीको अभाव, ढलको अव्यवस्थापन, खाली स्थानको अभाव, गतिछाडा ट्राफिक व्यवस्थापन, बादलभन्दा बालुवा (धुवाँधुलो) धेरै भएको काठमाडौँ आकाश नियाल्दै सोचिरहेका छन्, “पहिला पहिला बाजेहरूले भन्ने गरेको घरको छिँडी, बुइगल आज किन देखिँदैनन् ? स्कुल पढ्दा पाइने मिनपचासको बिदा (५० दिने जाडो बिदा)मा घाम ताप्दै हेर्ने परपरसम्मका दृश्य किन धुमिल हुँदै जाँदैछन् ?”

“आफ्नो भाषा, धर्म, जाति, संस्कृति र भूगोलसँग ठ्याक् नमिल्ने आरामदायी भनिएको आधुनिक विकासले हाम्रो परम्परागत घर, गल्ली, चोक मात्रै स्वास्थ्य, सामाजिकता, सद्भावना जस्ता कुराहरू पनि भत्काइदियो ।” डङ्गोल आफ्नै ‘लुनाटिक सिटी’ नामको चित्र नियाल्दै भन्छन्, “ कति दुखलाग्दो कुरा हो यो ।  जबकि एउटा सहर बन्नलाई हजारौँ वर्ष लाग्छ, तर भत्काउन २०/३० पनि वर्ष पर्याप्त हुँदो रहेछ ।” डङ्गोलले यसो भनिरहँदा पङ्क्तिकार एक भेटमा गायक जे. पापीले भनेको कुरा सम्झन्छ, “उत्तरमा ठमेल, दक्षिणमा टेकु, पूर्वमा टुँडिखेल, पश्चिममा विष्णुमती किनारसम्म सामान्य सहर थियो । त्यतिबेला सामाखुसी, मैतीदेवी नै काँठ थियो । म आफैँ धोबीखोलाको पानी खान्थे ।  ०४६/०४७ सम्म पनि मैले त्यो खोलाको पानी खाएँ तर अहिले त्यसो भन्दा ठट्टा गरेजस्तो सुनिन्छ।” 

नजिकैको इतिहासलाई नै केलाऔँ,

राजा महेन्द्रले आफ्नो राज्यारोहणपछि (२०२१-०२२ ताका) बेलायती इन्जिनियर कार्ल पुसालाई बोलाएर काठमाडौँको सहरी गुरुयोजना तयार गराए । पुसाले २५ सालमा गुरुयोजनाको प्रतिवेदन तयार पनि पारे तर महेन्द्रको पालमा काम अघि बढ्न सकेन ।  पछि, वीरेन्द्र आइसकेपछि चीन सरकारले चक्रपथ बनाइदिन सन् १९७२ मा प्रस्ताव राख्यो । भनिन्छ, पुसाको प्रतिवेदनमा चक्रपथको अवधारणा नै थिएन तर पछि त्यो कायम रह्यो ।  चक्रपथले सहरको स्वरूप नै परिवर्तन गरिदियो । चक्रपथ वरपर बस्ती विस्तार हुँदै गयो । बस्ती विस्तारले उत्पादनसँग सम्बन्धित उपत्यकाको जग्गालाई घर-घडेरीको रूपमा महत्त्व दिन थाल्यो । काठमाडौँको ‘अष्टवर्गाकार जग्गा’मा चोसो र कुना निकाल्दै ‘चाउचाउ कार्टुन’जस्ता घरहरू धमाधम ठडिन थाले । क्रमशः खेतका आली-आलीमा अलकत्रा विछ्छिए ।  गेहेन्द्र शमशेरले काँधमा बोकाएर ल्याएको गाडी मजदुरका काँधबाट ओर्लियो र, किसानका खेत मास्दै कुद्न थाल्यो ।  

खाली कागजमा नक्सा बनाएर मान्छे बसाल्ने प्रचलन बढ्यो, तर यसप्रकारको प्रचलन ठिक छैन भन्ने जान्दाजान्दै पनि कानुनी औजार चलेनन् । फलतः खेतीयोग्य जमिन कङ्क्रिटको जङ्गल बन्न पुग्यो ।  जनता र सरकार दुवैले चुपी साँधिदिँदा  जात्रा चलाउने निश्चित मार्गहरू मेटिए (चेपिए), फल्चा (फलैँचा) नासिए, बार्दलीहरू चोइटिए, मन्दिर/गुम्बा/चैत्य,देवल, पौवा, ढुंगेधाराहरू भत्किए/पुरिए  । सार्वजनिक थलोहरूको विनाशले मानिसहरूबिच भेटघाट, सामाजिक सम्बन्धमा फाँटो ल्यायो । लोककथाहरू, लोकबोलीहरू, सङ्गीत, कला-साहित्य, इतिहास धुमिल हुँदै गयो ।  ‘मानिसलाई जति जग्गा भए पनि पुग्दैन’ भनेजस्तो जग्गाप्रतिको अतिरिक्त मोह र ‘सहर सभ्यता पनि हो’ भन्ने सूक्ष्म चेतको अभावले काठमाडौँ उपत्यकाको मौलिकता नास्दै लग्यो ।  हुँदाहुँदै यति भयो कि गुठीको जग्गा, काठमाडौँको खोला समेत व्यक्तिको नाममा पुगे । आज काठमाडौँमा हुर्किएर रहेका बच्चाहरूले खेल्ने ठाउँ छैन, वृद्ध हजुरबुबा/हजुरआमाहरू जमघट हुने जग्गा छैन ।  बस्, घरैघर घरैघर मात्रै छ यहाँ ।  

यिनै कुराहरूले उकुसमुकुसिएका थिए डङ्गोल । यसैकारण, यस सहरको स्वरूप, आर्थिक अवस्था, जनसाङ्ख्यिक जटिलतालाई बुझेका उनले ‘यहाँ समस्या मात्रै होइन, समाधानको अभ्यासहरू पनि गर्न सकिन्छ भन्ने कुरालाई चित्रमार्फत देखाउने जमर्को गरे ।  उनले घरैघरको बिचमा चेपिँदै गइरहेका गल्लीभित्र मन्दिर, मूर्तिहरू छिराएर तिनलाई जोगाउनु अत्यावश्यक भइसकेको कुरा बताएका छन् । उनले काला-खैरा डाँडामाथिका आकाशलाई ‘गुन्द्री, चकटी’का त्यान्द्राले पोतेका छन् ।  यसो गर्नु भनेको कार्पेट ओछ्याएर चार भित्ताभित्र बन्द भइरहेको मानिसहरूलाई आफ्नो इतिहास नियाल्न अनुरोध गर्नु पनि हो साथै कार्पेट भन्दा गुन्द्री नै ठीक छ है भनी सम्झाउनु पनि हो । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नु पनि हो ।

‘समृद्धि र सुखी जीवनको आधार हाम्रा समुदाय र सहर’ भन्ने नारा नारामै सीमित राखिनु हुँदैन भन्दै  डङ्गोल भन्छन्, “सहर विकासको द्योतक होला तर सहरीकरण व्यवस्थित र मर्यादित हुन जरुरी छ । यसले आफ्नो मौलिकता मेट्न हुँदैन ।  उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने कुरा बोलीमा मात्रै होइन व्यवहारमा देखिनुपर्छ ।” छाने शैलीको परम्परागत घरलाई आफ्नो शैली बनाएका डङ्गोलले आफ्ना चित्रहरूमा सहरी विकासले कसरी ती छाना र घरहरूलाई खाँदै गयो मात्रै होइन त्यसलाई आजको रहनसहनअनुसार कसरी ढाल्न सकिन्छ भन्ने कुरा पनि बताएका छन् । 

चित्रमा हराउँदै डङ्गोललाई पङ्क्तिकार आफू आफू जन्मे-हुर्केको पहाड घरतर्फ लैजान्छ, जो भुईँचालो पश्चात् माटोमै मिल्यो । त्यो घरको ठाउँमा अहिले अरूले थमाइदिएका भूकम्प प्रतिरोधी चारकोठे एक तले घर छ । जसलाई सिमेन्टले बेरी राखेको छ । पहिलाको घरमा भुँइचोटा, माझछोटा र सिरानचोटा भन्ने गरिन्थ्यो । भुइँचोटा भनेसि बुझिन्थ्यो त्यहाँ भान्छा, मझेरी छ । माझछोटामा धान-मकै राखिएका छन् । सिरानचोटामा मकैका खोस्टा, कुटो-कोदालो राखिएका छन् । बार्दलीमा सुत्ने गरिन्थ्यो । ढिकीजातो राख्ने ठाउँ हुन्थ्यो । तर आजको विदेशी डिजाइनको नवनिर्मित घरमा ढिकीजातो राख्ने ठाउँ छैन । पानीको गाग्रो राख्ने ठाउँ छैन । तर ममी, हजुरआमा त्यही हुनुहुन्छ । उहाँहरूले अझै पनि ढिकीमा कुटेको चामल र जाँतोमा पिँधेको मकैको स्वाद बिर्सनुभएको छैन । सिलिङमा झुन्डिएको फ्यान भन्दा बार्दलीको बिहानको स्याठ नै निको थियो । सिलिन्डर खोल्न/मार्न र पड्की हाल्ने पो हो कि भन्ने डर भन्दा सुधारिएको चुल्हो नै न्यानो थियो । उ बेला बाटो खन्न डोजर आएको बखत एक बाजे आफ्नो जमिनमा सुत्दै भनेका थिए, “चलाउने भए ममाथि डोजर चला तर मेरो जग्गा नकोतरो । बरु बाँझै राख्छु, बाटो बन्न दिन्न । सहर भित्रिन दिन्न ।” उनी एक हिसाबले सही नै थिए क्यारे । जसलाई हामी सहर (विकास) भन्दैछौं, त्यो गाउँ नछिरेकै जाति ।  जग्गा बाँझै रहेकै जाति । 

सहरको नोस्टाल्जिया र सहरसँगको ‘नोस्टाल्जिया’मा हराइरहेका डङ्गोल मेरो यो भावावेगलाई बुझ्दछन् र त भन्छन्, “आधुनिकताको सिकार तपाईँको जन्मे-हुर्केको ठाउँ भर्खर-भर्खरै हुँदैछ । म जन्मे-हुर्केको ठाउँलाई आधुनिकताले लुछिसकेको छ ।”

प्रदर्शनीमा जगदीश उपाध्याय, अभिषेक साह, अनिल रञ्जित, अशेष डङ्गोल, रुपेशमान सिंहका फोटोग्राफी रहेका छन् । यस्तै शर्मिला श्रेष्ठका ‘अनाज कला’ राखिएको छ, जसले स्थानीय  खाद्य संस्कृति तथा मौलिक हस्तकला परम्परालाई जीवित तुल्याएको छ । 

काठमाडौँ उपत्यकाका कला, संस्कृति तथा ऐतिहासिक परिवर्तनका विषयमा भएको बहसमा कलाकार तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका सहायक डिन सुजन चित्रकार, सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर, कलाकार तथा क्युरेटर स्वस्ति राजभण्डारी, सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालिका सङ्गीता थापाले प्रदर्शित कलाकृतिका बारेमा बहस गरेका थिए । कार्यक्रमको सहजीकरण कलाकार तथा उपप्राध्यापक प्रतिमा थकालीले गरेकी थिइन् । जहाँ, प्रदर्शनीले हाम्रो सभ्यता र संस्कृतिको लामो परम्परालाई बहसमा ल्याउने जमर्को गरेको बताइएको थियो  ।


सम्बन्धित खबर