रेशम पत्नी रञ्जिता भन्छिन्- १२ दिनसम्मको लागि म आफ्नै घरमा अछुत भएँ

महिनावारी बहस

diyopost.com
राजु झल्लु प्रसाद
  सोमबार, मंसिर १३, २०७८ | ०:१३:३१

काठमाडौँको क्षेत्रपाटीमा जन्मिएकी रञ्जिता श्रेष्ठले पत्रकारिता विषय अध्ययन गरेकी हुन् । रेडियो सगरमाथा, इमेज टेलिभिजन र विभिन्न रेडियो स्टेसनहरूमा सामाजिक सचेतना, लोकगीत र समसामयिक मूलका कार्यक्रममार्फत उनी र पति रेशम चौधरीले राम्रो प्रसिद्धि कमाएका थिए । दम्पती दुवैले अन्तर्राष्ट्रिय संस्था युएनडिपीको प्रयोजनमा आएको कार्यक्रम ‘बिहानी दुइटै आँखाले देख्छ’ जस्ता कार्यक्रम समेत चलाएका थिए ।

समयक्रमअनुसार, दम्पती दुवैले टीकापुर (०६० साल वैशाख १४ गते) मा फूलबारी एफ.एम स्थापना गरे । २०७२ साल भदौ ७ गते प्रहरी र थरुहट निकट आन्दोलनकारीबिच भिडन्त भयो । त्यो भयानक घटनामा ८ जना प्रहरी सहित एक २ वर्षीय बालकको मृत्यु भयो । भोलिपल्ट बिहान अर्थात् भदौ ८ गते आक्रोशित समूहले (अखण्ड सुदूरपश्चिम निकट) सञ्चालनमा रहेको एफएम स्टेसन, घर, गाडीको साथसाथै नजिकै रहेको रिसोर्टमा आगो लगाइदिए | एफ.एममा आक्रोशित समूहले आगो लगाएपछि एफ.एम सञ्चालनमा रहेन । टिकापुरमा फेरी रेडियो चलाउने रञ्जिताकाे चाहना छ ।

हाल उनी छोरासँग काठमाडौँमा बसोबास गर्दै आइरहेकी छन् । आफ्नो श्रीमान् रेशम चौधरीलाई बरोबर मिडिया, सरकार र सम्बन्धित व्यक्तिहरूले मोहरा बनाउँदै आएको श्रेष्ठ बताउँछिन् । “सोसल मिडिया, पत्रकार र सत्ताधिकारीहरू पटक–पटक उहाँ (रेशम) लाई नै मुख्य दोषी प्रमाणित गर्न लागिपरेका छन् ।” तर श्रेष्ठ न्यायको लडाइँ लामो हुने र आफूहरू लडाइँमा रहेको बताइरहेकी छन् । आफ्ना पति छिट्टै घर फर्किने विश्वासमा रहेकी श्रेष्ठ सामाजिक न्यायका विषयहरूमा आफ्नो मत राखिरहेकी हुन्छिन् ।

प्रस्तुत छ, दियोपोस्टले तयार पारेका सामग्री : रञ्जिता श्रेष्ठसँग ‘महिनावारीका कुरा’:

महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बिबिसीले बताइसकेको थियो । यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो । सरकारको यस नालायकीपनलाई कसरी हेरिरहनु भएको छ?

सरकारले प्याडको मूल्य बढाउनू एकदमै गलत निर्णय हो । सरकारको नालायकीपनको कुरा गरेर साध्य नै छैन ।

अध्ययनअनुसार, ‘नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन् ।’ तपाईँको आफ्नो भोगाई के छ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ ?

महिनावारी हुँदाको पीडा एउटी महिलाले बाहेक कसैले पनि बुझ्न सक्दैन । मेरो भोगाइ भन्नु पर्दा यो समयमा मलाई एकदम गाह्रो हुन्छ । पेट, ढाड दुख्ने समस्याले एकदम दुःख दिने गर्दछ । यो समयमा खर्च भइरहेकै हुन्थ्यो तर आजभोलि खर्च बढेको छ । पहिले १२० मा पाउने प्याड अहिले त्यति रुपियाँमा पाइँदैन । पेनकिलर र प्याडको खर्च जोड्ने हो भने ४०० रुपैयाँ जति खर्च हुन्छ, केही दिन अगाडिकै अनुभव ।

प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र ?

महँगो भएपश्चात् पनि प्रयोगमा त आइ नै रहेको छ। कमसल विधि अपनाइनु राष्ट्रको लागि भन्दा पनि हामी महिला दिदीबहिनीहरूको स्वास्थ्यको लागि खतराको कुरा हो ।

महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?

नेपालमा यियस्ता विषयका बारेमा कुराकानी गर्ने फुर्सद कुनै पनि पाठ्यपुस्तक,निकायहरू भएजस्तो लाग्दैन । विद्यालय स्तरको पाठ्यक्रममा यस्ता विषयहरूका बारे उचित शिक्षा दिने हो भने साना नानीहरू महिनावारी हुँदा भोग्न पर्ने समस्याहरूलाई लिएर मेन्टल्ली प्रीपयर हुने थिए, तर दुर्भाग्य त्यो हुन् सकिरहेको छैन ।

रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ? टिकापुर र काठमाडौँमा कता बेसी यी भाष्यहरू देख्नुहुन्छ ?

यी भाष्यहरू मैले काठमाडौँमा भन्दा टीकापुरमा बढी सुनेँ । छुई भएकोलाई छुनु हुँदैन। अझै छुई भएको अवस्था भनेको ‘एकदमै अपवित्र बेला हो’ जस्ता पदोटिप्पणीहरू पनि सुनेँ ।

महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ?

महिनावारीको विषयमा नेपालमा जति बहसहरू हुन्छन्, त्यसले राम्रै प्रभाव पारेको देखको छु तर बहसहरू पर्याप्त हुन् सकिरहेका छैनन् । र, हुँदै आइरहेका केही बहसहरू पनि पुरानै मान्यतामा रहेका हुन् कि झैँ प्रतीत हुन्छ ।

तपाईँ काठमाडौँमा हुर्कनुभयो, महिनावारीको पहिलो अनुभव कस्तो थियो ? कति वर्षको हुनुहुन्थ्यो? महिनावारी भएको हो कि होइन भनेर झुक्किनु पनि भयो कि ?

मेरो पहिलो अनुभव यस्तो छ । पिरियड हुँदाखेरि म १४ वर्षकी थिएँ । घरमा दाइ, ममी, बहिनी अनि हजुरआमा हुनुहुन्थ्यो । पिरियड भएको मैले थाह पाइहालेँ किनकि घरमा दिदी अनि ममी भइरहनु हुन्थ्यो । यसैले यो मेरो लागि नौलो कुरा भएन तर आफू भएपछि भने कसलाई भन्ने, कसरी भन्ने भनेर एकदम अप्ठ्यारो र डर लाग्यो ।

पिरियड भएको दुई/तीन घण्टा जति त कसैलाई पनि भन्दै नभनी माथि कौसीमा गएर बसिरहेँ । तल ममीले बोलाइ राख्नुभएको थियो । म जाँदै गइन । त्यसपछि ममी आफैँ आएर कराउनु भएपछि मैले नेवारी भाषामा आफू पिरियड भएको भनेर सुनाएँ । त्यसपछि ममीको रियाक्सन देखेर त एकछिन मलाई एकदम डर लाग्यो । ‘लौ, मैले त के गरे ?’ जस्तो फिल भएको थियो त्यतिखेर । पछि, ममी आफैँले कहिँकतै पनि नछुवाईकन मलाई एउटा कोठामा लगेर राख्नु भयो । त्यो बेलामा मेरो खाना खाने भाँडा छुट्टै, चिया खाने ग्लास छुट्टै थियो । १२ दिनसम्मको लागि म आफ्नै घरमा अछुत भएँ ।

तपाईँमा ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्या)’ देखिन्छ कि देखिँदैन ? त्यसलाई कसरी ट्याकल गर्नुहुन्छ ?

प्रि–मेन्सट्रुअल सिन्ड्रम मलाई हुँदैन ।

महिला कर्मचारीको हकमा ‘महिनावारी हुँदा बिदा चाहिन्छ कि चाहिँदैन’ भन्ने बहस पनि सुरु भएको छ, तपाईँको मत ?

महिनावारी हुँदा शतप्रतिशत बिदा चाहिन्छ । हामी घरमै बस्ने त कति गाह्रो छ, समय-समयमा प्याड चेन्ज गर । झन् कामको सिलसिला बाहिरफेर निस्किएका महिलाहरूलाई कति गाह्रो हुँदो हो ? महिनामा कमसेकम ४ दिनको बिदा हरेक महिला कर्मचारीले पाउनुपर्छ भन्ने मलाई लाग्छ ।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला ?

त्यस्तो धेरै केही गर्नुपर्दैन, महिनावारी न्याचुरेल प्रोसेस हो भनेर सबैले बुझ्नुपर्‍यो । यसका लागि स्कुल लेभलबाटै महिनावारी सम्बन्धी शिक्षा दिइँदै आउनुपर्दछ ।

सम्बन्धित खबर