सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिनामा मुछिए उपराष्ट्रपति पुत्र पुन र ग्यालेक्सी टिभिका मालिक राई

फूलमती  

काठमाडौं । बुटवलमा कार्यालय खडा गरि काठमाडौंमा ऋणको कारोबार गर्दै आएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेको छ । ग्यालेक्सी टेलिभिजनका मालिक समेत रहेका गितेन्द्रबाबु राई (जिबी) संस्थापक अध्यक्ष रहेको उक्त सहकारीले सर्वसाधरणबाट एक अर्ब बिस करोड रुपैयाँ भन्दा बढी रकम संकलन गरेपनि यतिबेला बचतकर्ताले एक पैसा पनि फिर्ता पाउन सकेका छैनन् ।

उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सचिव रहेको यो सहकारीबारे खबर सार्वजनिक भएपछि सर्वसाधरणहरु आफ्नो बचत रकम फिर्ता लिन लाइन लाग्न थालेका छन् । पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिव समेत हुन् । स्रोतका अनुसार उपराष्ट्रपति पुनका पुत्र पुन र संस्थापक अध्यक्ष राईको मिलेमतोमा अर्बौं रकम काठमाडौंमा मिटर ब्याजमा लगानी गरेका छन् ।

सर्वसाधरणको बचत रकम ग्यालेक्सी टेलिभिजनमा समेत लगानी गरेको र उक्त टेलिभिजन समेत नाफामा नगएपछि बचतकर्ताको रकम डामाडोल भएको हो । टेलिभिजनले निकै महँगो रकम खर्चिएर पत्रकारलाई भित्र्याएको थियो । यसअघि सम्पादक रहेका प्रसान्त अर्याललाई वार्षिक ८४ लाख रुपैयाँ तलब दिने सम्झौता गरेको भएपछि उनले तीन महिनामै जागिर छाडेका थिए । टेलिभिजन पर्दामा देखिने सबैजसो चर्चित अनुहारले ग्यालेक्सीमा जागिर खाएका छन् । हाल राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर सांसद बनिसकेका रवि लामिछानेले समेत उक्त टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाउँथे । उनै लामिछानेलाई लिएर जिवी राईले टेलिभिजन खोलेका थिए ।

उपराष्ट्रपति पुत्र दिपेश पुन

 

२०५७ सालमा स्थापना भएको सुप्रिम सहकारीको प्रधान कार्यालय बुटवल–९ चौराहामा छ । रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुमा कारोबार गरेको सहकारीले दाङमासमेत शाखा विस्तार गरेको छ । २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीमा १ अर्ब ३० करोड निक्षेप रहेको छ । रूपन्देही र कपिलवस्तुमा कार्यक्षेत्र रहेको सुप्रिम सहकारीले बुटवल, भैरहवा र कपिलवस्तुमा गरी ५० जना जति संकलकहरूबाट दैनिक रूपमा रकम संकलन गर्दै आएको थियो । बुटवल, भैरहवा र कपिलवस्तुमा संकलन गरेको रकम सुप्रिमो सरहकारीले ऐन विपरित काठमाडौंमा ल्याएर मिटरब्याजमा लगाउन थालेको थियो । राई र पुन दुवै काठमाडौंमै क्रियाशिल छन् । राई त मलेशया, दुबई, सिंगापुर लगायत विभिन्न मूलुकमा नेचर हर्ब्स नामक नेटवर्किङ व्यवसायमा समेत समलग्न छन् । नेटवर्किङ व्यवसायलाई नेपालमा एक समय अवैध भनेर राज्यले नै मुद्दा चलाएको थियो । राई अहिले नेचर हर्बस नामक कम्पनिलाई बस्तुको प्रत्यक्ष विक्री अर्थात ‘डाइरेक्ट सेलिङ’ भन्दै फेरी नेटवर्किङ व्यावसायमै सक्रिय रहेका छन् ।

गितेन्द्रबाबु राई (जिबी) संस्थापक अध्यक्ष

 

सहकारी ऐन अनुसार कुनै पनि सहकारी संस्थाले आफ्ना सदस्यभन्दा बाहिरका ऋणीलाई ऋण लगानी गर्न मिल्दैन । तर, काठमाडौं शैलीको व्यवसाय नाम दिइएको सुप्रिम सहकारीले बढी ब्याज असुल्ने नाममा रूपन्देही र कपिलवस्तुका बचतकर्ताबाट संकलन गरेको रकम काठमाडौंमा रहेका व्यापारीलाई बिना धितो लगानी गर्दै आएको स्रोतको भनाई छ ।

सर्वसाधारणसँग दैनिक बचतको रूपमा रकम संकलन गर्ने र व्यवसायीलाई चर्को ब्याजमा लगाउने कार्यलाई यस क्षेत्रका सहकारी अभियान्ताहरू काठमाडौं शैलीको सहकारी व्यापारको रूपमा व्याख्या गर्दै आएका छन् । सुप्रिम सहकारीले बुटवल बजारबाट मात्रै १ अर्ब २० करोड रुपैयाँ संकलन गरेको थियो । तर उक्त रकम बढी ब्याज पाउने लोभमा सहकारी ऐनविपरीत बिना धितोमा लगानी गरेपछि ब्याजसँगै लगानी समेत डुब्ने भएपछि बचतकर्ताहरु मारमा परेका छन् ।
सुप्रिम सहकारीले असार महिनाअघि सम्म गरेको लगानी संकटमा परेपछि बचत तथा ऋण सहकारी संघको सहजीकरणमा व्यवस्थापनको प्रयास गरिएको थिया े। तर बिनाधितो ठूलो रकम काठमाडौंमा लगानी गरिएकोले रकम उठ्न सकेन । लगानी गरेको ठूलो रकम उठ्न नसक्ने भएपछि समस्या फेरि बल्झिएको हो ।

आफैंले जम्मा गरेको रकम नै सहकारीले डुबाइदिन लागेपछि बतचकर्ताहरु चिन्तित भएका छन् । चिन्तित बचतकर्ताहरु पछिल्लो समय सहकारीसँग आफ्नो लगानी रकम फिर्ता माग्न थालेका छन् । तर सहकारीले भने रकम फिर्ता गर्न सक्दैन । सरकारीले अटेरी गर्न थालेपछि वचतकर्ताहरुले सरकारीको कार्यालयमा नै तोडफोड गर्न थालेका थिए । लगानीकर्ताले आफ्नो रकम फिर्ता नगर्ने देखिएपछि बचतकर्ताले कार्यालयमा तोडफोड गरेका थिए ।

 

सहकारीले तोडफोडपछि एक सूचना जारी गर्दै कार्तिक २३ गतेदेखि लागू हुनेगरी संस्थाको अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रत्येक खाताबाट हप्ताको २ दिन भुक्तानी हुने गरी चेक सटही गरिने उल्लेख गरेको थियो ।सहकारीले मेगा बैंक, सिटिजन बैंक, ग्लोवल आईएमई बैंक, प्राइम बैंक, गरिमा विकास बैंक र राष्ट्रिय सहकारी बैंक लगायतमा गरी २ करोड रुपैयाँ रहेको र बैंकले प्रतिदिन ९ लाख ९० हजार मात्रै दिने भएकाले पनि समस्या भएको थियो ।

सदस्यहरुका अनुसारसुप्रिम सहकारीका सञ्चालकहरुले जग्गा खरिदमा धेरै लगानी गरेको र पछिल्लो समय जग्गा कारोबार ठप्प भएकाले समस्या आएको बताए । प्रतिष्ठित टेलिभिजनका मालिक र उपराष्ट्रपतिका पुत्र नै सहकारीको रकम हिनामिनामा मुछिएपछि सर्वसाधरणले कसरी न्याय पाउँछन् भन्ने प्रश्न उठेको छ ।

सम्बन्धित खबर