लुम्बिनीविरुद्ध पोखराको १० विकेटको कीर्तिमानी जित

नेपाल प्रिमियर लिग

दियोपोस्ट संवाददाता  

काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो । जसमा गौसको पहिलो शतक समेत रह्यो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो ।

एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे । उनले १२ चौका र ५ छक्का नै प्रहार गरे ।

यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

पोखराका अमेरिकन विकेटकिपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरे । उनले २० बलमै ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।