काठमाडौं । कमजोर आर्थिक धरातल र अशिक्षित पारिवारिक पृष्ठभूमिका कारण अमरकुमार सुनार किशोर अवस्थामै गुल्मीबाट पोखरा झरे । सानै उमेरमा घर छाडेपनि उनीमा पुख्र्यौली सुनार पेसाको सामान्य ज्ञान थियो । पोखराको नागढुंगास्थित एक डेराघरमा सुनको गहना बनाउने सानो कारखाना खोलेर उनले कालीगढ पेशा सुरु गरे । त्यतिनै बेला पोखरामा पनि विदेशिने लहर पनि चलिरहेको थियो । त्यसको प्रभावबाट अमर कुमार पनि अछूतो रहन सकेनन् ।
कालीगढी कामकै साउदी अरब गए । अरबमै बगाएको पशिनासँग साटेको पैसाले उनले पोखरामा घर र घरेडी जोडे । साउदी अरबमा ७ बर्ष काम गरेपछि पोखरामै केही गर्ने आधार उनले तयार पारिसकेका थिए । त्यसपछि उनी साउदी फर्किएनन् । पोखराकै सभागृहचोंकमा थोरै लगानीमा गण्डकी सुनचाँदी पसल नामको गहना पसल खोले । १० वर्षको अवधिमा व्यापार व्यवसाय राम्रो हुँदै थियो । अमरले जुन घर भाडामा लिएर पसल चलाएका थिए,सोही घर खरिद गर्नसक्ने हैसियत बनाए । कास्कीबाट शुरु भएको उनको व्यापारिक साम्राज्य स्याङ्जा, पाल्पा, तनहुँ, लमजुङ्ग, म्याग्दी, पर्वत, हुँदै बाग्लुङसम्म फैलन थाल्यो । यसै क्रममा, २०७३ सालतिर उनको पसलमा एक महिला पात्र झुल्किन थालिन् । उनी थिइन् पोखराकै सुशिला सिग्देल । गहना किन्ने बहानामा पसलमा आउने सुशिला अमरको व्यावसाय र दैनिक आम्दानीको उतारचढावबाट जानकार हुँदै गइन् ।
‘मेरो पसलमा बस्ने समयमा गहना बनाउन आउनेदेखि गहना बन्धकी राखेर ऋण लाने, बंगाली कालीगढहरु सुनको गहना बेच्न, काँचो सुन खरिद गर्न र सुन किन्ने ऋण माग गर्न आउनेसम्मको ग्राहकहरु आउँथे,’ अमर भन्छन्,‘यसरी ऋण माग्न आउने, बन्धकी राख्न आउने जस्तासम्मको व्यापार व्यवसाय भएको देखेर सुशिलालाई पनि मेरो वा पसलमार्फत् ब्याजमा पैसा लगाउने ईच्छा जागेछ । त्यसपछि ‘अन्य व्यक्तिलाई ऋण आवश्यक हुन्छ भने मलाई पनि भन्नु होला, कपाली तमसुकमा जस्तो त होइन, व्यापार व्यवसाय (मिटरब्याज) मा जस्तो राम्रै ब्याज आउँछ भने म पनि लगानी गर्न तयार छु’ भनी प्रस्ताव राख्नुभयो ।’
सुशिलाकै प्रस्ताव अनुसार अमर कुमारले उनकै कारखानामा काम गर्ने कालीगढका लागि २५ देखि ३० लाख रुपैयाँ ऋण मागिदिए । त्यसपछि अमर र सुशिलाबीच कारोबारको यात्रा शुरु भयो । ‘बंगालीहरुले पनि सयको मासिक ब्याज रु.३।– को दरले तिर्नुपर्ने हुन्थ्यो । त्यसपछि मसँग पनि सुशिलाको कारोबार सुरु हुन थाल्यो । त्यसरी ऋण लिएका कालीगढले सुशिलालाई रकम फिर्ता नगरेपछि अमरले नै फिर्ता गरे । त्यसपछि मेरो व्यापारको यात्रा पनि ओरालो धकेलिन थाल्यो । व्यापार ओरालो लागेपछि हरेक उद्यमीले जस्तै मैले पनि ऋण बढाएर लगानी बढाउन थालेँ,’ अमर भन्छन्, ‘अर्कोतिर विश्वव्यापी रुपमा बढेको कोरोना सृजित लकडाउनको शिकार पनि हामी सुनचाँदी व्यावसायी नै बन्यौँ । त्यहीबेलादेखि नै म सुशिलाको चक्रवर्ती ब्याजको शिकार बन्न पुगेँ । तर, मलाई भने यो हेक्का थिएन ।’
जब अमरको व्यापार ओरालो गतिमा लाग्न थाल्यो सुशिलाको मिटरब्याज आकाशिन थाल्यो । ‘मेरो व्यापार व्यवसायमा थाम्न नसक्नेगरी मन्दी शुरु हुन थाल्यो, तब सुशिलाले मसंग रुखो व्यवहार गर्न थाल्नुभयो भने पछिपछि त ब्याजको दर पनि अनियमिततापूर्वक, अन्धाधुन्द, मनलाग्दी बढाउन थाल्नुभयो । उनले नै हरहिसाब गरेर पठाएको म्यासेन्जरमा ऋणको बार्षिक ब्याज अनियमित दर ६८% देखि २१६%, २६९%, २८८%, ३६०%, ५५९% र १०००.८% सम्मको लिइएको पाइयो,’ अमरले प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोमा दिएको जाहेरीमा भनेका छन्,‘शुरु शुरुमा सुशिलाले नै तोकेको वा निर्धारण गरेको (ब्याजदर बारे तत्काल मैले कुनै वास्ता गर्ने गरेको थिइनँ भने निजले निर्धारण गरी माग गरेको) ब्याजदरवाला रकम विपक्षीलाई तिर्दा मञ्जुर हुने व्यक्तिले पछि पछि त मलाई च्यापेर निजले जतिखेर भन्यो, त्यतिखेर रकमहरु तिर्नै बुझाउनैपर्ने अफ्ठ्यारो परिस्थितिहरु सृजना गर्न थाल्नुभयो । मेरो सुन व्यवसाय नभएको, व्यवसायमा अपसिजन भएको बेलामा अत्यधिक मात्राको ब्याज जोडेर रकमहरु माग गर्न थाल्नुभयो । रकम नहुँदा वा निजले भनेकै समयमा रकम दिन नसक्दा पसलमा आई अन्य ग्राहकको अगाडि मलाई ‘ठग’ भन्ने शब्द प्रयोग गरी बेइज्जत गर्ने, पसल वरिपरिका मानिसहरुको अगाडि निजहरुले थाहा पाउने गरी हल्लाखल्ला गर्ने, मेरो घरमा गई मेरो नाबालक बच्चाहरुको अगाडि ‘तिमीहरु दुबै जना ठग हौ, तिमीहरु दुबै जनालाई जेल हाल्छु’ भनी बच्चाहरुको मानसिकतामा नकारात्मक असर पुग्नेगरी कराउने; त्यसो गरेमा बेइज्जती हुने डरले मैले सजिलै रकम दिन्छ होला भन्ने ठानी अस्वभाविक गतिविधि गर्नेगर्न थाल्नुभयो ।’
त्यसपछि सुशिलाले अमरको र उनकी श्रीमतीको चेक कटाउन थालिन् । व्यावसायीक ईज्जतकै खातिर अमरले सुशिलालाई भनेअनुसारकै चेक दिन थाले । ब्याज र साँवा रकम पनि बुझाउँदै गए । ‘कतिपय बैंकको चेक कटाउँदा ‘खातामा रकम छैन, चेक नलानुस्, चेक लगेर मलाई अफ्ठेरो नपार्नुस्’ भनी अनुरोध गर्दा पनि ‘ग्यारेन्टीको लागि लिएको हो; म तत्काललाई चेक साट्ने र बाउन्स गराउने काम गर्दिनँ, तपाईले सो चेकबमोजिमको नगदै रकम बुझाउनु भयो भने उक्त चेकहरु तपाईलाई नै फिर्ता गरिदिई हाल्छु, पीर नगर्नुस्’ भनी झुठ्ठा आश्वासन दिएर जाने गर्नुहुन्थ्यो,’ अमरले दिएको जाहेरीमा भनिएको छ,‘केही समय⁄दिनपछि दिइएको चेक बराबरको रकम नगदमा लिएर जाने गर्नुहुन्थ्यो ।
नगदमा रकम लिएर जाने बखतमा सो रकम वापतको पहिले लगिएको चेक फिर्ता माग्दा उल्टै मलाई नै थर्काउनु हुन्थ्यो । ‘तपाईको चेक के मैले खाने हो र ! लकरमा थियो, ल्याउन बिर्सेछु, मसंग चेक हुँदा के बिग्रिन्छ र ! तपाईसंग हुनु र मसंग हुनु एउटै कुरा होइन ? मसंग हुँदा पनि केही फरक पर्दैन, चेकहरु लकरमा हुन्छ, पछि संझेको बेलामा ल्याइदिई हाल्छु’ भनी टार्नुहुन्थ्यो । म पनि पसलको कारोबारमा व्यस्त हुने भएको तथा तत्कालिन समयमा यतिका कारोबार गर्ने व्यक्तिले यो तहको बेइमान नै गरिहाल्नु हुँदैन होला भन्ने लागेर र केही समयपछि उक्त थाँती रहेको कामहरु बारे ध्यान नजाने हुनाले तत्काल चेक फिर्ता लिइएको अवस्था थिएन ।’
तर, सुशिलाले चेक बापत पाउनुपर्ने रकम भने अगाडी नै लगिसकेको अमर कुमार बताउँछन् । अमरले सुशिलालाई तिरेको मिटरब्याजको हिसाबको लेजरको तस्विर सुशिलाले म्यासेन्जरमा पठाउने गरेकी थिइन् । कतिपय संवाद ह्वाट्सप, भाइबरमा हुने गरेको थियो । ती सबै प्रमाण अमरले सिआइबीलाई बुझाएका छन् । रकम तिरिसकेको चेकहरुलाई सुशिलाले बाउन्स गराई अदालतमा चेक अनादरको मुद्दा हाल्न थालिन् । चेक अनादर मुद्दामा समेत तपाईंलाई पक्राउ पुर्जी जारी गरेको छ मेरो घर्रामा पक्राउ पुर्जी छ भन्दै सुशिलाले अमरलाई धम्काउन थालीन् । चेक अनादर मुद्दा फैसला भएपछि कार्यान्वयनमा नगएसम्म पक्राउ पुर्जी जारी हुँदैन । बैंकिङ कसुरमा भने जाहेरी पर्नासाथ पक्राउ अनुमति आउनसक्छ । हुँदै नभएको पक्राउ पुर्जी मेरो घर्रामा छ भन्दै सुशिलाले अमरबाट १ हजार दशमलव ८ प्रतिशतसम्म ब्याज असुली गरेको तथ्यहरुले नै देखाएको छ ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका अनुसार अमरले सुशिला र उनका पति समेत संलग्न रहेको ओम सुस ट्राभल्सबाट पटक पटक गरि जम्मा ३ करोड १० लाख ८७ हजार १८ रुपैयाँ लिएको देखिन्छ । तर, सुशिला र उनका श्रीमान ओम प्रकाश सिग्देलले अमरबाट ६८ प्रतिशतदेखि १ हजार दशमलव ८ प्रतिशतसम्म मिटर ब्याज जोडेर १६ करोड ७८ लाख ५२ हजार ६ सय ५९ रुपैयाँ मिटरब्याज असुली गरेका छन् ।
पोखरामा मिटरब्याज धन्दा चलाउने सुशिला सिग्देल कास्की प्रहरीद्वारा पक्राउ, श्रीमान फरार