कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा मिटरब्याज धन्दा चलाउने सुशिला सिग्देललाई पक्राउ गरेको छ । पीडित अमर कुमार सुनारको जाहेरीको आधारमा सिग्देललाई विहिबार बेलुका घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत पश्चिम नवलपरासीको पक्राउ अनुमतिको आधारमा उनलाई पक्राउ गरिएको हो । उनका श्रीमान ओम प्रकाश सिग्देल फरार भएका छन् । विहिबार बेलुका उनको निवासमा प्रहरी पुग्दा श्रीमान घरमा थिएनन् भने प्रतिवादी मध्येकी एक सुशिला सिग्देल मात्रै घरमा थिइन् । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत रहेको वडा प्रहरी कार्यालय वैदामले सिग्देललाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालत पश्चिम नवलपरासी पठाएको छ ।
सिग्देलले पोखराकै सभागृह चोकमा गण्डकी सुनचाँदी पसल संचालन गर्ने अमर सुनारलाई १ हजार दशमलव ८ प्रतिशतसम्म ब्याज लगाएको खुलेको थियो । सुनारले ३ करोड हाराहारी रकम लिएको स्टेटमेन्ट र प्रमाणहरुमा देखिन्छ । तर, मिटरब्याजी दम्पत्ति सिग्देलद्वयले १६ करोड रुपैयाँभन्दा बढी बुझाएको अनुसन्धानमा खुलेको थियो । चेक अनादर मुद्दा फिर्ता लिइदिने भन्दै अन्तिममा पश्चिम नवलपरासीको करिब ७ करोड ५० लाख मुल्य पर्ने २३ कठ्ठा जग्गा समेत ठगी गरेको खुलेको थियो । घटनाको अन्तिम वारदात पश्चिम नवलपरासी परेका कारण प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले काठमाडौंमा जाहेरी दर्ता गरेर मुद्दा भने पश्चिम नवलपरासीबाट चलाएको छ ।
पोखरामा खुंखार मिटरब्याजी दम्पत्ति : १ हजार ८ प्रतिशत ब्याज, ३ करोडको १३ करोड रुपैयाँ असुली !