काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान पक्का गरेको हो।
जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो। फाइनल खेल शनिबार मध्यान्ह हुनेछ।
बिहीबार कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए। लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो।
आकास त्रिपाठीले १३ रन र हर्ष थाकरले १७ रन जोडे। थाकर जिमी निशमसँग असमझदारीका कारण १२औं ओभरमा रनआउट हुन पुगेका थिए।
त्यसपछि जिमी निशमले जनकपुरको आसा जगाए। उनले १७ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४५ रन जोडे। तर उनी १५औं ओभरको तेस्रो बलमा कर्णालीका विपिनप्रसाद शर्माबाट बोल्ड हुँदा जनकपुर दबाबमा आयो। यहि ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई विपिनले १ रनमा एलबिडब्लूको धरापमा पर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो।
१९औं ओभरको चौथो बलमा मयन यादव दुई रन लिने क्रममा रनआउट हुन पुगेका थिए। उनले १८ बलमा १४ रन जोडे। यो ओभरमा जनकपुरले १४ रन लिएपछि जित निकाल्न सफल भयो। जसमा शेर मल्लले १० बलमा जोडेको नटआउट १६ रन महत्वपूर्ण सावित भयो।
बलिङमा कर्णालीका विपिन शर्माले ३ विकेट लिए भने सोमपाल कामी, विलियम बासिस्टो र जिशन मक्सुदले १(१ रन हात पारे।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दोस्रो क्वालिफायरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन जोड्यो।