काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा र माओवादी एकताको बाधक नभएको बताएका छन् । उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लप र आफ्नो पार्टी माओवादीबीच एकताको बाधकका रुपमा प्रचार गरिए पनि त्यो सत्य नभएको बताएका हुन् ।
चिनियाँ नेता माओ दिवसमा अवसरमा राजधानीको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा शर्माले भने, ‘पछिल्लो समय हाम्रो सम्बन्धमा थोरै कालो बादल लगाउने कोसिस गरिएको थियो। त्यो सत्य थिएन।’
त्यो सत्य होइन भन्नेमा आफू र विप्लव स्वयं पनि पहिलेदेखि नै प्रष्ट रहे पनि कपिलवस्तु र ललितपुरको हरिसिद्धिमा भएको छलफलबाट भ्रम चिरिएको उनको भनाइ छ।
‘एक महिनाअघि कपिलवस्तुमा उहाँको निवासमा गएको थिएँ, हामीले केही संक्षिप्त कुराकानी गर्यौं,’ शर्माले भने, ‘विप्लव र माओवादीबीच एकताको बाधकका रुपमा चर्चा गरियो। तर, हामीबीचमा हामी कम्युनिष्ट एकतालाई अघि बढाउन चाहान्छौं भन्नेमा हामी कुनै भ्रममा थिएनौं।’ उनले थपे, ‘कपिलवस्तु र हरिसिद्धिमा भएको छलफलबाट हामी थप प्रष्ट भयौं।’