पक्राउ परेका बच्चु पौडेलबिरुद्ध १ करोड ६९ लाख ठगीको अर्को जाहेरी, पीडितहरु पौडेलको त्रासमा !

रीता बुढाथोकी  

काठमाडौं । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका बच्चु पौडेलसहित ३ जनाबिरुद्ध वैदेशिक रोजगार विभागमा १ करोड ६९ लाख रुपैयाँ ठगीको जाहेरी दर्ता भएको पाइएको छ । बिभिन्न ब्यक्तिलाई अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पीडितले जाहेरी दर्खास्त दर्ता गरेका हुन् ।

रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छौँ भनि ठगी गर्ने नागपोखरी स्थित ‘इभास कन्सल्टेन्सी’ संचालक बच्चु पौडेल, हाल अष्ट्रेलिया बसोबास गर्ने अनिल दनाई र काठमाण्डौस्थित ‘इमारा कन्सल्टेन्सी’का सञ्चालक प्रभातमणी पौडेलका बिरुद्ध दर्खास्त दर्ता गरेको पीडितहरुले बताए ।

पीडितका अनुसार धनुषास्थित मिथिला नगरपालिका–९ का जीवन अधिकारी, दोलखा कालिन्चोक गाउँपालिका–८ की २३ वर्षीया भावना शिवाकोटी, काठमाडौं शंखरापुर नगरपालिका–८ भई हाल ललितपुर महानगरपालिका–२५ बस्ने २८ वर्षीया सबिना कार्की, बनेपा नगरपालिका–१० की २९ वर्षीया यूना मिजार र उनका श्रीमान रोहित मग्रातीले शुक्रबार संयुक्त रूपमा जाहेरी दिइएका हुन् ।
जाहेरीमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई काठमाडौं–१ नागपोखरीस्थित ‘इभास कन्सल्टेन्सी’ सञ्चालन गर्दै आएका ४८ वर्षीय बच्चु पौडेल, कास्की रुपा घर भई हाल ललितपुर महानगरपालिका–९ बस्दै आएका ‘इमारा कन्सल्टेन्सी’का सञ्चालक ३० वर्षीय प्रभातमणि पौडेल तथा लमजुङ बेसिशहर नगरपालिका–२ घर भई हाल अष्ट्रेलिया बस्दै आएका ३७ वर्षीय अनिल दनाईलाई प्रतिवादी बनाइएको छ ।

जाहेरी अनुसार रोजगारीको खोजीमा रहेका पीडितहरूलाई चिनजानमार्फत बच्चु पौडेलले आफ्नो कन्सल्टेन्सीमा बोलाई अष्ट्रेलियामा ‘केयर गिभर’को काममा पठाइदिने आश्वासन दिएका थिए । मासिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने र प्रतिव्यक्ति ३१ लाख रुपैयाँ खर्च लाग्ने भन्दै विश्वास दिलाइएको जाहेरीमा उल्लेख छ ।

माग गरे बमोजिमको रकम उनीहरुको पीडितहरूका अनुसार बैंक खातामा जम्मा गरिएको पीडितहरूले बताए । रकम बुझाएपछि ६ महिनाभित्र काम हुने आश्वासन दिदैँ उनीहरुले वर्कपरमिट समेत पठाइएको पीडितहरुको भनाई छ । तर वर्कपरमिट पठाएपछि प्रक्रिया अगाडि नबढाइएको जाहेरीमा उल्लेख छ ।

लामो समय बितिसक्दा पनि अष्ट्रेलिया नपठाइएपछि रकम फिर्ता माग्दा ‘छिट्टै पठाइदिन्छौं’ वा ‘नसके रकम फिर्ता गर्छौं’ भन्ने आश्वासन मात्र दिइएको तर हालसम्म वैदेशिक रोजगारमा नपठाइएको र बुझाएको रकम समेत फिर्ता नगरिएको पीडितहरूको भनाइ छ ।

जाहेरीमा उल्लेख भए अनुसार पीडितहरूबाट जम्मा १ करोड १२ लाख ९९ हजार रुपैयाँ रकम असुल दाबी गरिएको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा (१०) अनुसार कसुर भएको भन्दै दफा (४३) बमोजिम रकम असुल उपर गराई सोको ५० प्रतिशत जरिवानासहित कुल १ करोड ६९ लाख ४८ हजार ५०० रुपैयाँ फिर्ता गराउन तथा दोषीलाई कडा सजाय माग गरिएको छ ।
पीडितहरूले बैंक भौचर, मोबाइल बैंकिङ विवरण, रसिद, राहदानीको प्रतिलिपि लगायतका कागजात प्रमाणका रूपमा पेश गरेका छन् । वैदेशिक रोजगार विभागले जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ ।

बुधबार काठमाडौंको ठमेलस्थित मर्स्याङ्दी होटलबाट पक्राउ परेका पौडेललाई कालीमाटि बृत्तको हिरासतमा राखिएको थियो । उनले मिलापत्र गर्न पीडितहरुलाई दबाव दिएका छन् । वैदेशिक रोजगार विभागका उच्च अधिकारीलाई समेत मिलाएर, सेटिङ गरेर छुट्ने प्रक्रियामा रहेका उनी प्रहरीको सेटिङमा सुविधा सम्पन्न अस्पताललाई हिरासत बनाएर बसेका छन् । पौडेल समुहको त्रासमा रहेका पीडितहरु मिडियासँग बोल्न समेत डराएका छन् ।

सिफारिस