
काठमाडौं । प्रभु समुहका अध्यक्ष देवि भट्टचन जिल्ला अदालत काठमाडौंको फरार प्रतिवादी हुन् । उनले ३८ सहकारीको ७ करोड ५२ लाख ५५ हजार ४ सय २० रुपैयाँ र ४ सय ६४ सहकारी रेमिट्यान्स बापत पाउनुपर्ने २ अर्ब २० करोड ३१ लख ८८ हजार ९ सय ५८ रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले भट्टचन, कुसुम लामा लगायत ७ जना र २ कम्पनिसहित ९ प्रतिवादी करार गरेर मुद्दा दर्ता गरिसकेको छ । उनीहरु सबैजना फरारको सुचीमा छन् ।
सहकारीको रकम ठगी तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको यो अभियोगमा मुछिएको एउटा ब्रोकर कम्पनिलाई भने सीआइबीले उन्मुक्ति दिएको छ । हाल प्रहरी हिरासतमा रहेका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनसँगको मिलेमतोमा प्रभु म्यानेजमेन्टको रकम हिनामिनामा संलग्न रहेको ‘दिभ्या सेक्युरिटिज नामक धितोपत्र कारोबारका लागि लाइसेन्स पाएको दलाल कम्पनिले भने उन्मुक्ति पाएको हो ।

ब्रोकर नम्बर ५९ रहको दिभ्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लीको खातामा प्रभु म्यानेजमेन्टबाट १५ करोड रुपैयाँ रकमान्तर भएको देखिएको घटनालाई सीआइबीले अनुसन्धान गरि प्रतिवेदन बुझाएको हो । तर, सरकारी वकिल कार्यालयले उक्त कम्पनिका अध्यक्ष राम प्रसाद आचार्यलाई बयान मात्रै लिएर छाडेको छ ।
बयानमा आचार्यले बताए अनुसार प्रभु म्यानेजमेन्ट प्रा.लीको प्रभु बैंकमा रहेको खाता नम्बर ०८६००५५९३१२०००३३ मा २०७८ असोज ५ गते १२ करोड रुपैयाँ जम्मा गरिएको थियो । प्रभु बैंकका सीइओ अशोक शेरचनले सात आठ दिनका लागि भनेर उक्त रकम आफूले दिएको र शेरचनले १० दिनपछि १२ करोड रुपैयाँ प्रभु म्यानेजमेन्ट प्रा.लीबाट फिर्ता भएको उनको बयान छ । त्यस्तै २०७८ पुस २७ गते प्रभु म्यानेजमेन्ट प्रा.लीको प्रभु बैंकमा रहेको खाताबाट दिभ्या सेक्युरिटिज एण्ड स्टक हाउसको ग्लोबल आईएमई बैंकको खातामा १५ करोड रकमान्तर भएको कम्पनिका अध्यक्ष राम प्रसाद आचार्यले दिएको घटना विवरण कागजमा उल्लेख छ ।
सोही रकम नासा सेक्युरिटिजको नामा ५ करोड र तीन करोडको दुई वटा चेक दिएको र अनलाईन सेक्युरिटिज प्रा.लीको संचालक सोभा मिश्रलाई ७ करोड को चेक दिएको बयानमा उल्लेख छ । सम्पूर्ण कारोबार हाल प्रहरी हिरासतमा रहेका अशोक शेरचनको निर्देशनको आधारमा दिएको आचार्यको बयानमा बताइएको छ । उनले कारोबारको प्रयोजन समेत थाहा नपाई यतिका रकम दिएको बयान दिएका छन् ।
त्यतिमात्रै होइन उक्त कारोबारको समयमा प्रभु बैंक, प्रभु म्यानेजमेन्ट र दिभ्या सेक्युरिटिज एण्ड स्टक हाउसबीच कुनै प्रकारको लिखित सम्झौता समेत नभएको पाइएको छ । १२ करोड र १५ करोडको कारोबार तत्कालिन प्रभु म्यानेजमेन्टकी प्रमुख कुसुम लामालाई जानकारी समेत नदिई भएको पाइएको छ । उनको बयानले प्रभु म्यानेजमेन्टको कागजी जिम्मा कुुसुम लामाको नाममा भएपनि कारोबार भने देवि भट्टचन र अशोक शेरचनले गर्दै आएको प्रमाणित भएको छ । सञ्चालक समितिबाट समेत यो कारबारबारे कुनै निर्णय नगरी दिभ्या सेक्युरिटीले कार्य गरेको पाइएको छ । आफू अध्यक्ष रहेको दिभ्या सेक्युरिटीले प्रभु बैंकबाट ओभरड्राफ्ट ऋण, र टर्म ऋण लिएको समेत उनले बतयान दिएका छन् । तर, ऋण लिँदा धितो स्वरुप कम्पनि, र व्यक्तिगत जमानी बाहेक कुनै धितो समेत नराखेको पाइएको छ । यसरी मिलेमतोमा सर्वसाधरण बचतकर्ताको रकम हिनामिनामा यो कम्पनिको समेत संलग्नता भएपनि सरकारी वकिल कार्यालयले प्रतिवादी नै नबनाई मुद्दा दर्ता गरेको छ ।