प्रधानन्यायाधीश बन्‍न लबिङ : दुई वरिष्ठ न्यायाधीशबीच यस्ताे रस्साकसी

Diyo post  

काठमाडौं, मंसिर २० ।संवैधानिक परिषद् बैठक नजिकिँदै गर्दा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ। भावी प्रधानन्यायाधीश छनोटका लागि शनिबार परिषद् बैठक बस्दै छ। यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो।

न्यायपालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद्मा पठाएको छ। यसअघि पनि हालका प्रधानन्यायाधीश ओमप्रकास मिश्रसहित तीनै जनाको नाम पठाइएको थियो।

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ। विशेषगरी परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानन्यायाधीशका लागि लबिङ भइरहेको छ। परिषद् बैठकमा उनीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले बैठकको पूर्वसन्ध्यामा निकट सूत्रमार्फत पछ्याउने काम चलिरहेको छ। ‘प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष दाहालसँग विभिन्न संयन्त्रमार्फत कुरा आइरहेको छ।

प्रधानन्यायाधीशमा सकारात्मक भूमिका खेलिदिनुपर्यो भन्ने कुरो छ’, दाहाल निकट एक सभासद्ले अन्नपूर्णसँग भने, ‘अहिलेसम्म अन्योल देखिन्छ। यसै भन्न सकिने अवस्था छैन।’ पुनरावेदन अदालत र विशेष अदालतमा रहेका बेला भएको फैसलाको विषयलाई लिएर दुवै न्यायाधीश उपर सर्वोच्चबाटै छानबिन र कारबाहीका लागि न्यायपरिषद्लाई लेखिपठाइएकोलगायत समग्र वैयक्तिक विषयमा अध्ययन भइरहेको छ। विशेष अदालतमा सदस्य रहेका बेला पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको विषयमा सर्वोच्चकी तत्कालीन न्यायाधीश सुशीला कार्की (प्रधानन्यायाधीशबाट अवकाश)सहितको इजलासले राणामाथि छानबिन र कारबाही गर्न न्यायपरिषद्मा लेखिपठाइएको थियो।

यस्तै इलाम पुनरावेदनको मुख्य न्यायाधाीश रहेका बेला जोशीलाई पनि सर्वोच्चबाटै छानबिन र कारबाहीका लागि परिषद्लाई आदेश भएको थियो। सर्वोच्चकै तत्कालीन न्यायाधीश कार्की र बलराम केसीको संयुक्त इजलासले उक्त आदेश दिएको थियो। परिषद्बाट प्रधानन्यायाधीशका लागि यसअघि जोशीको नाम सिफारिस भए पनि संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएपछि मिश्र प्रधानन्यायधाीश बनेका थिए।

यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर बिनानिष्कर्ष टुंगिएको थियो।

सर्वोच्चको न्यायाधीशका लागि भने जोशी र राणा दुवैको नाम सुनुवाइ समितिबाट एकपल्ट अनुमोदन भइसकेको छ। दाहाल निकट ती सभासद्का अनुसार परिषद् बैठकमा प्रधानन्यायाधीशका लागि जोशी र राणामा गम्भीर मतभेद देखिए तेस्रो विकल्पमा जाने विषयमा समेत सामान्य कुराकानी चलिरहेको छ। तेस्रो विकल्पमा जोशीलाई कायममुकायम राखेर सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने अवस्थासमेत आउन सक्छ।

तेस्रो विकल्पमा जान परिषद् पदाधिकारीबीच चरम मतभेद भए मात्र सम्भव हुने हो। अन्यथा जोशी र राणामध्ये एक नै हुने सम्भावना छ। संविधानतः प्रधानन्यायाधीशका लागि तीन वर्ष सर्वोच्चको स्थायी न्यायाधीश भएको व्यक्ति हुनुपर्ने व्यवस्था रहेकाले कार्की आगामी साउन १७ गते मात्र प्रधानन्यायाधीशका लागि योग्य हुन्छन्। उनलाई न्यायपालिकाको नेतृत्वमा ल्याउन साउनसम्म कुर्नुपर्छ। नत्र स्थायीमा तीन वर्ष पुग्दैन।

तत्कालीन एमाले निकट एक पूर्वमहान्यायाधिवक्ताका अनुसार प्रधानमन्त्री ओलीले भने प्रधानन्यायाधीशका लागि खुलेरै राणाको प्रस्ताव गर्ने भएका छन्। कांग्रेस नेता देउवाको भने पूर्वकांग्रेस रहेका कारण पनि जोशीलाई सहानुभूति रहने निकटस्थ बताउँछन्। परिषद् सदस्य रहेका प्रधानन्यायधाीश मिश्र हालसम्म तटस्थ भूमिकामा छन्।

सुनुवाइ समितिबाट अस्वीकृत भए पनि आलोचनाबीच जोशीलाई इजलास तोकेर न्याय सम्पादनको जिम्मेवारी दिएका कारण मिश्रको सहानुभूति उनैप्रति हुन सक्ने आकलन गरिएको छ।

सम्बन्धित खबर