खाद्य संस्थानभन्दा पनि निजी क्षेत्रलाई धान बेच्दै किसान

diyopost.com
Diyo post  सोमबार, मंसिर २४, २०७५ | १६:१८:४४

वीरन्द्र कर्ण
वीरगञ्ज, मङ्सिर २४ । सङ्घीय सरकारले धान खरिदको न्यूनतम समर्थन मूल्य तोकेपनि पर्साका अधिकांश किसान नेपाल खाद्य संस्थानमा नभई निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका छन् ।

नेपाल खाद्य संस्थानभन्दा महङ्गो मूल्यमा धान खरिद गर्ने हुँदा उनीहरु निजी क्षेत्रका गल्ला व्यापारीसँग धान बेच्ने गरेका हुन् ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धान प्रति क्वीन्टल दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । तर निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्वीन्टल दुई हजार ७०० सम्ममा खरीद गर्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ ।

संस्थानको मूल्यभन्दा स्थानीय व्यापारीले प्रति क्वीन्टल दुई सयदेखि रु ३०० सम्म बढी मूल्यमा खरीद गर्ने भएकोले हामी निजी क्षेत्रलाई बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ । अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धान प्रति क्वीन्टल दुई हजार ५२५ तथा जिरामसिनो धान प्रति क्वीन्टल तीन हजार २००का दरले खरीद गरेको थियो । तर यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले राससलाई बताएका छन् ।

संस्थानले चालु आर्थिक वर्ष २०७५÷७६ मा १५ हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्वीन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिलो आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोनामन्सुली र जिरामसिनो धान खरीद गरेको थियो ।

अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना मन्सुली, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्वीन्टल चामल मौज्दात अवस्थामा रहेको छ ।

संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटस्थित कारागारमा पनि पठाउने गरेको छ ।

गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरुप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल संस्थानले पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताएका छन् ।
प्रमुख घिमिरेले निजी क्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सरकारले तोकेअनुसारको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन् । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानलाई पर्सा र बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा गरेको धानखेतीबाट दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेको छ ।

सम्बन्धित खबर