तीन विश्वविद्यालय आन्दोलनमयः यस्ता छन् आन्दोलनका कारण

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर २६, २०७५ | ७:०१:१०

काठमाडौं, मंसिर २६ । देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा डिनदेखि उपकुलपति कार्यालयसम्म तालाबन्दी छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि शिक्षालाई निजीकरण गरेको विरोधमा महिनौँदेखि प्राध्यापक तथा विद्यार्थीहरू आन्दोलनमा छन् । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि पदाधिकारीका कारण आन्दोलनमय बनेको छ ।

तालाबन्दी तथा आन्दोलनका कारण विद्यार्थीको परीक्षा तथा नतिजा प्रकाशनमा समस्या भएको छ । केही विश्वविद्यालयमा महिनौँदेखि विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।

त्रिविमा विद्यार्थीदेखि प्राध्यापकसम्मको ताला, परीक्षाका काम प्रभावित
त्रिविको मानविकी संकायको डिन कार्यालय, योजना निर्देशनालय, शिक्षाध्यक्ष र उपकुलपति कार्यालयमा तालाबन्दी छ । मोहन वैद्यनिकट नेकपा माओवादीनिकटका प्राध्यापकहरूले गत बिहीबार सहायक डिन नियुक्तिमा भागबन्डाको माग राखेर डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘सहायक डिन नियुक्तिको माग राखेर प्राध्यापकले तालाबन्दी गरेका छन्,’ त्रिविका एक पदाधिकारीले भने ।

प्राध्यापकको तालाबन्दीका कारण स्नातकोत्तर तहकोे सेमेस्टर प्रणालीको परीक्षाको नतिजा सार्वजनिक गर्न तयार भएको काम रोकिएको छ ।

नेविसंघको एक समूहले योजना निर्देशनालय, शिक्षाध्यक्ष र उपकुलपति कार्यालयमा ताला लगाएको छ । बिसिएको सम्बन्धनलगायतमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै नेविसंघ विश्वविद्यालय कमिटीको नामबाट ताला लगाइएको छ । त्रिवि उपकुलपति प्रा.डा. तीर्थ खनियाँले ताला खोल्न वार्ता भएको र छिट्टै केही सहमति हुने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन ठप्प
सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय आन्दोलनमय छ । भागबन्डामा आएका विश्वविद्यालयका पदाधिकारीका कारण विश्वविद्यालयको काम ठप्प छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लबीच पहिलेदेखि नै मनमुटाव सुरु भएको थियो । उपकुलपति कोइरालाले मल्ललाई पदबाट हटाएपछि विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनले अहिले चर्को रूप लिएको छ ।

विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनले वार्ताबाट समस्या समाधान गर्नुको सट्टा विद्यार्थीमाथि धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कडा आन्दोलनको चेतावनी दिएका छन् ।

निजीकरणको विरोधमा कृषि विश्वविद्यालय महिनौँदेखि बन्द
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा २७ असारदेखि आन्दोलन जारी छ । पछिल्लोपटक २१ कात्तिकदेखि पठनपाठन ठप्प छ । विश्वविद्यालयका मूलगेट बन्द छ । निजीलाई दिएको सम्बन्धन पूर्णरूपमा खारेज हुनुपर्ने माग राखेर विद्यार्थी र प्राध्यापक संयुक्त रूपमा आन्दोलनमा छन् । बिएस्सी सातौँ सेमेस्टरको चलिरहेको परीक्षा बीचमै रोकिएको छ । कतिपय विद्यार्थी परीक्षा सकेर इन्टर्नमा जानुपर्नेमा आन्दोलनका कारण रोकिएको छ । आन्दोलनकारीले चितवनको रामनगरदेखि काठमाडौंसम्म पुगेर आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले मंगलबार माइतीघर मण्डलामा कोणसभा गरेका थिए ।

कृषि वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.ईश्वरीप्रसाद कडरियाले विश्वविद्यालयले त्रुटिपूर्ण रूपमा सम्बन्धन दिएका कारण रद्द गर्नुपर्ने बताए । उनले आंगिक र सम्बन्धनलाई फरक मापदण्ड बनाएर दिएकाले आन्दोलनमा लागेको जिकिर गरे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले २० असारमा सात कृषि र एक वन विज्ञान क्याम्पसलाई सम्बन्धन दिएको थियो । सम्बन्धनको विरोध भएपछि १४ साउनमा मन्त्रिपरिषद्को बैठकबाट सम्बन्धन रद्द भयो ।

त्यसपछि निजी कलेजका सञ्चालक सर्वोच्च अदालत पुगे । १ भदौमा सर्वोच्चले अन्तिम फैसला नहुन्जेल सम्बन्धन रद्द नगर्न अन्तरिम आदेश दियो । अदालतले २६ पुसका लागि पेसी तोकेको छ ।

सम्बन्धित खबर