काठमाडौँ, पुष ६ । विभिन्न मन्त्रालयका मन्त्री र तिनका स्वकिय सचिवहरुले सरकारले दिने गरेको इन्धन सुविधावापत सरकारले रकम उपलब्ध गराउँदै आएको छ । सरकारले उपलब्ध गराएको इन्धन सुविधावापतको रकम पनि लिने र मन्त्रालयबाटै गाडीमा इन्धन हाल्ने गरेको तथ्य सहित समाचार आएपछि मन्त्रीहरुले आफ्नो बचाउ गरेका छन् । आफ्नो तलब भत्ता आफैले नबुझ्ने आफुलाई त्यसको बारेमा थाहा नभएको भन्दै मन्त्रिहरु यस विषयबाट पन्छिन खोजेका छन् । नयाँ पत्रिका दैनिकले इन्धनबापत आएको पैसा गोजीमा हाल्ने र मन्त्रालयबाट इन्धन हाल्ने बारेमा मन्त्रीहरुसंग प्रतिक्रिया लिएको छ ।
ईश्वर पोखरेल
मेरोतर्फबाट सचिवालयका कसैले भूलचुक गरेको रहेछ भने म बोल्छु । गैरकानुनी तरिकाले सुविधा लिएको भए अनुचित हो, त्यसो हुन दिइन्न ।
मातृका यादव
मेरो तलबभत्ता आफै बुझ्दिनँ । मेरो खातामा पनि पैसा आउँदैन । सबै स्वकीय सचिवले बुझ्नुहुन्छ । दोहोरो सुविधा लिएको भए सच्याउँछु ।
रघुवीर महासेठ
मसँग दुईवटा गाडी छन्, गृह र आफ्नै मन्त्रालयले दिएको । दुवै गाडीमा म आफै इन्धन हाल्छु । मेरो सचिवालयले के जानकारी दियो, मलाई थाहा छैन । (तर, उनको सचिवालयले भने इन्धन सुविधा लिने गरेको जानकारी दियो)
गोकर्ण विष्ट
मन्त्रीका प्रेस संयोजक मदन खनालले भने, ‘समाचार प्रकाशित भएलगत्तै सचिवालय र प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर जानकारी लिनुभएको छ, कार्यविधि र निर्देशिकामा के छ भनेर पत्ता लगाउनू भन्नुभएको छ ।’
शक्ति बस्नेत
मन्त्रीका स्वकीय अधिकृत तथा भतिज मुक्ति बस्नेतले भने, ‘पहिला व्यवस्था के थियो, अभ्यास के थियो भन्ने हेर्नुप¥यो, अभ्यासलाई मान्दै आएको हो, गलत भए सच्याउँछौँ । गाडी र इन्धनको विषयमा मेरो धारणाले हुँदैन, मन्त्रीज्यूलाई भन्छु ।’
गोकुल बाँस्कोटा
यो विषयमा प्रधानमन्त्रीज्यूले पनि प्रश्न उठाउनुभएको छ । प्राविधिक त्रुटि भए सच्याएर जानुपर्छ भन्ने छ । तर, मेरो विषयमा गृहले दिएको गाडीमा इन्धन आफै हाल्छु, काठमाडौंबाहिर जाँदा जिपमा मन्त्रालयले इन्धन हाल्छ ।
याे पनि पढ्नुहाेस्
मन्त्रीहरुको खुलेआम भ्रष्टाचारः मन्त्रालयको तेल हालेर नगद खल्तीमा