चलचित्र प्रसादबारे दलित नेता भन्छन्–‘सामाजिक रुपान्तरणको विषय भगवान र प्रसादसँग जोड्नु ठीक भएन’

दियो पोस्ट  

  प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘प्रसाद’को विषयवस्तु महिला र दलितको न्यायको कोणबाट गलत छ भन्ने समीक्षाहरु आउन थालेपछि दलित नेता तिलक परियार पनि हलसम्म पुगे । उनले ‘प्रसाद’ले सामाजिक रूपान्तरण गर्ने पनि प्रतिक्रिया दिए । आधा मात्रै चलचित्र हेरेर दिएको उनको प्रतिक्रियालाई चलचित्रको टिमले आत्मरक्षाको रुपमा प्रयोग गरिरहेको देखिन्छ ।
चलचित्रभित्र आएका दलित र महिलासम्बन्धी मुद्दालाई लिएर नेपाल कम्युनिस्ट पार्टीका नेता तिलक परियारसँग गरिएको अन्तर्वार्ता :


‘प्रसाद’ चलचित्र हेर्नुभो भन्ने हल्ला छ, कस्तो लाग्यो त ?
– ठीकठीकै छ । धेरै राम्रो भन्न पनि सकिँदैन, खराबै भन्न पनि सकिँदैन । हिन्दू उच्च जातीय अहंकारवाद त्यहाँ झल्किएको छ ।

भिलेनले उच्च जातीय अहंकारवाद प्रदर्शन गरेर आएको छ । दलितको श्रीमतीलाई बलात्कार गरिएको छ । त्यो उच्च जातिय अहंकारवाद हो ।


त्यस्तो पनि दलित वा जोकोही महिलाले स्विकार गर्नुपर्छ र ? दलित र महिलाको न्यायका दृष्टिले ‘प्रसाद’ले के सन्देश दिएको छ ?


– त्यसको विरद्धमा प्रतिरोध गर्नुपर्छ । त्यत्रो बलात्कार हुँदा जबकि यहाँ बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने हल्ला चलिरहेको अवस्थामा बलात्कारीलाई कानुनी कारबाही केही पनि गरिँदैन । अन्त्यमा दुर्घटनामा गएर टुङ्ग्याइन्छ । राज्यले के भूमिका खेल्यो, नियम–कानुनले समान रुपमा हे¥यो कि हेरेन भन्ने प्रश्न खडा गर्छ ।

मैले चलचित्र बीचबाट हेरेको हुँ, पूरै हेरेको छैन । जति हेरेँ, त्यसले सामाजिक सांस्कृतिक रूपान्तरणमा सहयोग पु¥याउँछ । तर, यो विषय भगवान र प्रसादसँग जोड्नु ठीक भएन ।

तपाईंलाई दलित अगुवा र कम्युनिस्ट नेता पनि भन्छन्, दलितको न्यायको कसीमा तपाईंले बुझेको ‘भगवान्’ र ‘प्रसाद’ के हो ?


–भगवानको प्रसाद भन्ने कुरा पारिवारिक अन्तर्विरोधलाई हल गर्न त्यता लगिएको होला । भौतिकवादीहरुले प्रसाद र भगवान्लाई मान्ने कुरा हुँदैन ।

उसो भए, यो फिल्मको कथानक ठीक छ त ?


यो कथा ठीक छैन । तर, सामाजिक र भावनात्मक रुपमा अलिकति योगदान गर्छ ।


तपाईंले एउटा भिडियो अन्तर्वार्तामा त चलचित्र कथा ‘ठीक छ’ भन्ने खालको प्रतिक्रिया दिनुभएको रहेछ नि ?


मैले चलचित्र बीचबाट हेरेको हो, पूरै हेरेको छैन । जति हेरेँ, त्यसले सामाजिक सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्‍याउँछ । भगवान र प्रसादसँग जोड्नु ठीक भएन ।


कस्तो सामाजिक रुपान्तरण ?


– अन्तरजातिय विवाहले केही सहयोग गर्छ । अन्तरजातीय विवाहले केही सहयोग नै गर्दैन भन्ने कुरा होइन । मूल कुरा राजनीतिक विचार नै हो । राजनीतिक सत्तामा दलित समुदायको पहुँच स्थापित नगरेसम्म सामाजिक रुपान्तरणको गति अगाडि बढ्न सक्दैन ।

‘गुहु गन्हाउँछ, जात जनाउँछ’ भन्ने संवादको प्रतिकारमा अर्को भूमिका हुनुपथ्र्यो । संविधानले यसलाई गम्भीर सामाजिक अपराध भनेर व्यवस्था गरेको छ, त्यसो भन्न पाइँदैन ।

चलचित्रमा बलात्कार र टेस्टट्युबबाट जन्मेको बच्चालाई एउटै जस्तै भनिएको संवाद छ, तपाईंको दृष्टिकोण पनि यही हो ?


यो गलत हो । टेस्टट्युब बेबी स्वीकारको कुरा भित्र पर्छ । बलात्कार भनेको जबरजस्तीको कुरा हो । त्यो ठीक भएन ।


चलचित्रमा दलितलाई ‘गुहु गन्हाउँछ, जात जनाउँछ’ भनेर हेपिएको छ । के दलितहरु ‘गुहु जस्तै गन्हाइरहेछन् र जात जनाइरहेछन् ? त्यसरी जातीय संवेदनामा ठेस पुर्‍याउन पाइन्छ ?


– समाजमा यथार्थतः त्यस्तै भनिरहेको स्थिति हो । चलचित्रमा गन्हाउँदैन भन्ने कुरा टुङ्गोमा पुर्याउनुपथ्र्यो । ‘गुहु गन्हाउँछ, जात जनाउँछ’ भन्ने शब्दको प्रतिकारमा अर्को भूमिका हुनुपथ्र्यो । त्यसो भएको भए राम्रो हुन्थ्यो । दोस्रो भाग बनाउँदा त्यो बनाउनुपर्छ भन्ने सुझाव दिएको छु । संविधानले यसलाई गम्भीर सामाजिक अपराध भनेर व्यवस्था गरेको छ, त्यसो भन्न पाइँदैन ।

अनि, दलितमाथि अपमानपूर्वक लादिएका संवादहरु चलचित्रकै अर्को अध्यायले प्रतिकार गर्ने हो कि तपाईंहरु जस्ता राजनीतिक दलका नेताहरुले गर्ने हो ?


– नेतृत्वले पनि प्रतिकार गर्ने कुरा हुन्छ । चलचित्रले पनि गर्नुपर्छ ।

विभेद, अत्याचार गर्नेले जात जनाउँछ कि शोषणमा पर्नेले ? तपाईंको बुझाइ के हो ?


– शोषण गर्ने र अत्याचार गर्नेहरुले नै जात जनाउँछन् नि ।


बलात्कारबाट जन्मिएको सन्तानलाई भगवानको प्रसादको रुप दिइएको छ, के यो ठीक हो ?


– जुन तरिकाले प्रसाद भनिएको छ, त्यो ठीक होइन । दलितलाई नै कमजोर पात्रको रुपमा किन ल्याइयो भनेर प्रश्न गर्नुपर्ने हुन्छ ।


समाजमा उखान, लोककथा, साहित्य, गीत, फिल्मले प्रभाव पार्छ भन्ने मान्नुहुन्छ कि मान्नुहुन्न ?


– प्रभाव पार्छ ।


त्यसो भए यो फिल्मले कस्तो प्रभाव पार्ला ?


– सामाजिक रुपान्तरणको विषयमा केही प्रभाव पार्छ । नकारात्मक प्रभाव पनि पार्छ, त्यसलाई करेक्सन गर्नुपर्छ । परिमार्जन गर्नुपर्छ । संवादहरु परिवर्तन गर्नुपर्छ ।

TATA ADD

सिफारिस