श्री लालीगुराँस सहकारीबाट वडाध्यक्षनै ठगीए : ‘२ करोड ५६ लाख बुझाएँ, ४ रोपनी जग्गा हत्याए’ !

दियोपोस्ट संवाददाता

काठमाडौं, ३० मंसिर । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगीएकाहरु दर्जनौँ छन् ।

उक्त सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीबाट पीडित बनेकाहरु सहित श्री लालीगुराँस सहकारीकै स्टेटमेन्ट सहितको करिब ३ दर्जन अंक दियोपोस्ट डटकममा प्रकाशित भइसकेको छ ।

यसैबीच आफूलाई श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको भन्दै एक वडाध्यक्ष नै दियोपोस्टको सम्पर्कमा आइपुगेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ५ फर्पिङका वडाध्यक्ष श्याम बहादुर खत्रीले आफूलाई श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको बताएका छन् । प्रस्तुत छ खत्रीले दियोपोस्टसमक्ष सुनाएको ठगी विवरणको सम्पादित अंश :


श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष हिराकाजी महर्जन मेरा मित्र थिए । उनी लगनखेलको हाइ भिजन हल चलाउँथे । म फर्पिङमा शीतल हाइ भिजन हल चलाउथेँ ।

२०६७ साल तिर मैले श्री लालीगुँरास बहुउद्देश्यीय सहकारीबाट १ करोड ९० लाख रुपैयाँ ऋण लिएँ । सहकारीका कर्मचारी थिए– बेदनिधि दुवाडी ‘प्रकाश’ । उनी सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नजिकको व्यक्ति समेत रहेछन् । मैले पनि विश्वास गरेँ । किस्ता तिर्नको लागि लालिगुँरासको कार्यलय पुग्थेँ । आफ्नै कामको कारण हतारमा पनि हुन्थेँ ।


हिसाबकिताब मिलाउनु पर्ने, नविकरण गर्नुपर्ने आदी प्रक्रियाहरु हुँदो रहेछ । ‘सरलाई हतार छ भने ल्याप्चे र सही गरेर छाडिदिनुस बाँकी कुरा म भरिदिन्छु’ भन्ने गर्थे तिनै प्रकाश । विश्वास लाग्ने भएको कारण मैले पनि ल्याप्चे र सहि गरेर छोड्थेँ । त्यो बीचमा मैले सहकारीलाई २ करोड ५६ लाख बुझाएको रहेछु । त्यो प्रमाण मैले अदालतमै बुझाएको पनि छु ।


तर विडम्बना मेरो सोझोपनलाई उनीहरुले फाइदा लिने दाउ बनाए । अनेक तिकीडम लगाएर मेरो ४ रोपनी जग्गा पनि थाहै नदिई सहकारीको नाममा पास गरेछन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ४ मा रहेको उक्त जग्गा अहिले करिब साढे २ करोडको मुल्यांकन हुन आउँछ । त्यसपछि शुरु भयो लालिगुँराससँग लडाइँ ।


जग्गा लिलामी भएको पत्र पाएपछि मैले सहकारीसँग हिसाबकिताब माँगे । उनीहरुले डिलिट भैसक्यो भनेर हिसाबकिताब देखाएनन् । उनीहरु डराए पनि । मिलौँ भनेर आग्रह पनि गरे । तर मेरो सम्पत्ती नै खाइसकेपछि म किन मिल्ने ?


त्यसपछि मेरो छोराको सहयोगमा मैले सहकारी मन्त्रालय, डिभिजन सहकारीलाई गुहारेँ । प्रधानमन्त्रीका सचिवसमक्ष पनि पुग्यौँ । त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला थिए । प्रधानमन्त्री कार्यलयका सचिवले मिलाउनु पर्छ भन्दै मिल्नको लागि आग्रह समेत गरे । उनले राष्ट्र बैँकका मान्छे पनि त्यही बोलाए । तर प्रमुख कार्यकारी निर्देशक भनिने सुरेन्द्र भण्डारी भने छलफलमा आएनन् । उनले अर्का तेस्रो व्यक्ति पठाए ।

सुरेन्द्र भण्डारी सहकारीमार्फत ‘अवैधधन्दा’ गरेर आफै पीडितमाथि अदालतमा मुद्धा दायर गर्छन् । न्यायलयका ठूल्ठूला अहोदाका व्यक्तिहरुसँग पनि उनको सम्बन्ध छ । अदालतमा आफु अनुकुलको वातावरण तयार नभएसम्म पेशी पनि निवेदनमार्फत टार्ने गर्छन् र जब आफु अनुकुलको वातावरण तयार हुन्छ तब उपस्थित हुन्छन् । उनी खुशी भएको बेला मसँग नै भनेका छन,‘अदालतलाई यति भए पुग्छ भनेर ।’

जिल्ला अदालतबाट हामीले मुद्धा हारेपछि पुनः मुद्धा दायर गरेका छौँ । सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार संस्थाले रोकेको व्यक्तिको सम्पत्ति पनि तिर्नुपर्ने रकम तिरेपछि पुनः फिर्ता गर्न मिल्छ रे । सोही अनुसार नै मैले अदालतमामार्फत सहकारीलाई पैसा तिरेँ र सम्पत्ती फुकुवाको लागि आग्रह गरेँ । तर उहाँहरु अहिलेसम्म जोड्न जानु भएको छैन । अझै पनि छलछाम नै गरिरहनु भएको छ ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको मुख्य उद्धेश्य नै व्यक्तिको सम्पत्ती हत्याउनु हो । एकातिर अदालतमा मुद्धा हाल्ने अनि मुद्धा चलिरहेको समयमा पत्रपत्रिकामा सुचना निकालेर आतंक मच्चाउने । म त राजनीतिक व्यक्ति हुँ । पत्रिकामा फोटोसहित नाम निकालेपछि विभिन्न युट्युब च्यानलमार्फत मेरो चरित्र हत्यासमेत भयो । मैले मेरो अधिवक्तासँग पनि छलफल गरेँ । अदालतमा मुद्धा चलिरहेको बेलामा अन्य प्रक्रिया नचाल्ने छलफल भएपछि हामी चुप लागेर बस्यौँ । तर सुरेन्द्र भण्डारी भने कानुन विपरित मनपरि गरिरहेका छन् ।

उनी (सुरेन्द्र भण्डारी) सार्वजनिक मञ्चबाट नै हाम्रो चरित्र हत्या गर्न पछि पर्दैनन् । केही समय अगाडी भएको सहकारीको बार्षिक साधारण सभामा समेत उनले ऋण नतिरेको भनेका छन् । उनलाई मेरो प्रश्न पनि छ , ‘१ करोड ९० लाख लिएर २ करोड ५६ लाख तिर्ने चोर हुन्छ कि पैसा लिएर पनि लिएको छैन भन्ने चोर हुन्छ ?’ सहकारीबाट म मात्रै ठगीएको होइन । मजस्ता १२ जना छन्, रुवाबासी नै चलेको छ ।

यो सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले व्यक्तिको नामको सम्पत्ती लिलाम गरेर सहकारीमा ल्याउँछन् , त्यसपछि आफ्नो आफन्तलाई नै दिन्छन् । गायक रामकृष्ण ढकालको घरमा सुरेन्द्रकै दाजु गएर बसेका छन् । अझै खोतल्ने हो भने धेरै भेटिन्छन् ।

राजनीतिमा पनि पहुँच राख्छन् सुरेन्द्र भण्डारी । सत्तामा जो आयो उनी उसैको मान्छे भैदिन्छन् । जो शक्तिमा पुग्छन् उनकै हातबाट टिका थाप्न पुगिहाल्छन् । नेपालको कानुनले आफुलाई छुन सक्दैन भन्ने सोँच राख्ने व्यक्ति हुन्–सुरेन्द्र भण्डारी । गुण्डागर्दी गर्ने, पीडितहरुलाई पुलिस लगाएर समाउने, मानसिक तनाव दिने उनको नियत नै हो । जसरी हुन्छ व्यक्तिको सम्पत्ती हत्याएर माग्ने बनाउनु नै उनको काम हो ।

तर, शरीरमा एकथोपा प्राण भएसम्म हामी हाम्रो सम्पत्ति छोड्दैनौँ । त्यसका लागि कानुनी प्रावधानअनुसार जुनसुकै प्रक्रिया पनि अपनाउन तयार छौँ । हामी पीडितहरु एकै ठाउँमा आएर एकिकृत ढंगले न्यायको बाटोमा लाग्ने छौँ ।


भण्डारीले सहकारीको आवरणमा लूटतन्त्र नै मच्चाएका छन् । कुनै महिना किस्ता तिर्न सकिएन भने पेनाल्टी लगाउँछन, २० देखि ४० प्रतिशत । लालीगुँरासले सहकारीको परिभाषा नै नकारात्मक बनाइदिएको छ ।

सहकारीमा २१÷२२ हजार शेयर सदस्य छन् । सबै कुरा उनीहरुलाई थाहा पनि हुँदैन । मिडियाहरुमा पनि सहकारीले असल काम गरेको मात्र आउँछ । सबैजसो मिडियाहरुलाई उनले आफु अनुकुल बनाएका छन्, त्यसैले सहकारीको पक्षमा रहेको समाचार मात्र प्रकाशनमा आउँछ । त्यसबाट शेयर सदस्यहरु पनि सहकारीमा भइरहेको अवैध धन्दाबारे अनभिज्ञ हुन्छन् ।

समस्या समाधानको लागि बसेर छलफल गरौँ भन्दा पनि उनी भेट्न खोज्दैनन् । शायद गलत काम गरेपछि अनुहार देखाउन लाज लागेर होला । मैले दुइचार पटक फोन पनि गरेँ । जीवनभरी झगडा गरेर नबसौँ दुबैको सल्लाहमा विवाद टुंग्याऔँ भन्ने मेरो इच्छा थियो । तर उनि कहिल्यै भेट्न खोज्दैनथे । अदृश्य शक्ति प्रयोग गरेर अगाडी नै बढिरहे ।

सम्बन्धित खबर

सिफारिस