दियोपोस्ट संवाददाता
धादिङ, २ पुस । विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबीनमा रहेका पौष प्रसाद तिवारीलाई जोगाउने चलखेल भएको पाइएको छ । धादिङ ज्वालामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौष प्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममापास गरी बैंकबाट ऋण निकालेको खुलाशा भएको थियो । तिवारीले दियोपोस्टले समाचार प्रकाशन गरेको मिति २०७६ मंसिर १३ गते नै ऋण निकालेको संस्था श्री स्वस्तिक बचत तथा ऋण सहकारी संस्थालाई ऋण भूक्तानी गरी मालपोत कार्यालयबाट जग्गा रोक्का फुकुवा गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको ज्वालामुखि गाउँपालिकाबाट आधिकारिक कागज पत्र सहित प्रतिबेदन माग गरेको थियो । तर, प्रतिबेदन बुझाउनुको सट्टा गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव मल्लले तिवारीलाई जोगाउन चलखेल गरेका छन् । स्रोतका अनुसार तिवारीले मल्ललाई आर्थिक प्रभावमा पारेका छन् । शिक्षा शाखा प्रमुख मल्ल तिवारीले अख्तियारको दुरुपयोग गरी जग्गा घोटाला गरेको कारबाही सिफारिस सहित अख्तियारलाई प्रतिबेदन बुझाउनुको सट्टा जोगाउने चलखेलमा लागेका छन् ।

मल्लले अख्तियारको निर्देशन अवज्ञा गर्दै तिवारीको नाममा रहेको जग्गा विद्यालयको नाममा पास गरी पास भइसकेपछि मात्रै अख्तियारलाई प्रतिबेदन बुझाउने चलखेल गरिरहेका छन् । सोही कारण हालसम्म पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले ज्वालामुखि गाउँपालिकाबाट आधिकारिक प्रमणको कागजात पाउन सकेको छैन । मल्लले तिवारीको नाममा रहेको उक्त जग्गा विद्यालयको नाममा पास गराउन दबाव मात्रै दिएका छैनन् विद्यालयको नाममा पास नभएसम्म प्रतिबेदन नै नबुझाउने अडान लिएका छन् । तिवारीले जग्गा दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा छानबीन गरिरहेको अख्तियारले तिवारीको नाममा रहेको जग्गा विद्यालयको नाममा आएको डकुमेन्ट सहित अख्तियारलाई गाउँपालिकाले प्रतिबेदन बुझाएमा आफू जोगिन सक्ने दाउमा छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालका एक उच्च अधिकारीका अनुसार गाउँपालिकाका प्रशासकिय अधिकृत वा जिल्ला प्रशासन कार्यालयले समेत अपराधलाई प्रश्रय दिए उनीहरु विरुद्ध समेत अख्तियारले कारबाही गर्नसक्छ ।
यस विषयमा ज्वालामुखि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मल्ललाई सम्पर्क गर्दा उनले आफू यो विषयमा बोल्न नसक्ने बताए । ‘अहिले बेलुका भइसक्यो । पत्रकारसँग कसरी बोल्ने भन्ने मलाई थाहा छ । म यो विषयमा बोल्न चाहान्न । कुरा गर्ने भए भोली १० बजे गरौँला,’ मल्लले भने,‘मैले तपाईंलाई चिनेको पत्रकारसँग कसरी बोल्न पर्छ मलाई थाहा छ ।’

हाल संस्कृत मावीमै शिक्षकको रुपमा कार्यरत तिवारीले २०६७ सालपौष १३ गते विद्यालयका लागि खरिद गरिएको कित्तानम्बर ९९३ को जग्गाधनी सोम कुमारी ‘ठूलीकान्छी’गन्द्रमालाई झुक्यानमा पारी १ रोपनी १४ आना जग्गा आफ्नो नाममा पास गरेको पाइएको थियो ।
ज्वालामुखि गाउँपालीका २ गैरीगाउँका स्थायीबासिन्दा समेत रहेका तिवारीले विद्यालयको नाममा आउनुपर्ने कुल क्षेत्रफल (१ रोपनी १४ आना ३ पैसा) जग्गा आफ्नै नाममा राजिनामा पास गरी सो जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखेर ऋण समेत निकालेको खुलाशा भएको थियो ।
उक्त जग्गामा हाल संस्कृत तथा साधारण माविको २ वटा भवन रहेका छन् । विद्यालय स्रोतका अनुसार उक्त भवन रुम टु रिड र जाइका नामक संस्थाले निर्माण गरिदिएको छ । तिवारीले भवनसहितको जग्गा बैंक तथावित्तिय संस्थामा राखेका थिए ।

सोही भवन रहेको जग्गालाई साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड र ज्वालामुखि २ मैदीमै कार्यालय रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा धितो राखी पटक – पटक ऋण लिएको पाइएको छ ।
दियोपोस्टले फेलापारेको प्रमाण अनुसार तिवारीले केहीवर्षअघि साना किसान कृषि सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकालेका थिए । त्यस्तै मैदीमै रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले भने विद्यालयकै जग्गा धितोमा राखेर ३ लाख रुपैयाँ ऋण दिएको प्रमाणमा देखिन्छ ।

तिवारीले आफू प्रधानाध्यापक हुँदा विद्यालयमा रहेको बैंक मुद्दती खाताबाट रु ४ लाख, अक्षय कोषबाट रु १ लाख, विद्यालय आन्तरिक कोष तथा विद्यालयको चल्ती खाताबाट रु. पौने २ लाख समेत गरी जम्मा ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको संस्कृत तथा साधारण उमाविको लेखा परिक्षण प्रतिवेदनमै उल्लेख छ ।

तिवारीले विद्यालयमा आफू प्रअमा कार्यरत रहँदा गरेको भ्रष्टाचारबाटै धादिङवेशी स्थित बजार क्षेत्र भित्रभब्यमहल समेत खरिद गरेका छन् ।
अख्तियारको छानबीन चलिरहँदा सिडियोको हस्तक्षेप !
तिवारीको भ्रष्टाचार काण्डबारे अख्तियारले कागजात मागेर छानबीन गरिरहेको अवस्थामा यता धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने क्षेत्राधिकार बाहिर गएर अभियुक्तलाई भेटेका छन् । भ्रष्टाचार अभियुक्त पौषप्रसाद तिवारीलाई उनले कार्यालयमै बोलाएर सोधपुछ गरेको स्विकार गरे । ‘मैले बोलाएर छलफल गरेको हुँ । भोली फेरी अभिभावकका अध्यक्ष र प्रअसहित तिवारीलाई पनि बोलाएको छु । अहिले मालपोतमा रोक्का पनि रहेनछ,’ तामाङले भने,‘अख्तियारले मुद्दा लगाउने काम गरिहाल्छ । मैले भोली छलफलमा भएको कुरा यहाँलाई जानकारी गराउँछु ।’