संस्कृत माविको जग्गा घोटला गर्ने पौष प्रसादले धादिङवेशीमा किने महल !

दियो पोस्ट  

धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका–२ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौषप्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको खुलाशा भएको छ ।

हाल संस्कृत उमावीमै शिक्षकको रुपमा कार्यरत तिवारीले २०६७ साल पौष १३ गते विद्यालयका लागि खरिद गरिएको कित्ता नम्बर ९९३ को जग्गाधनी सोम कुमारी ‘ठूलीकान्छी’ गन्द्रमालाई झुक्यानमा पारी आफ्नै नाममा राजिनामा पास गरेको जिल्लास्थित मालपोत कार्यालयको रेकर्डमा देखिन्छ ।

ज्वालामुखि गाउँपालीका २ गैरीगाउँका स्थायी बासिन्दा समेत रहेका तिवारीले विद्यालयको नाममा आउनुपर्ने कुल क्षेत्रफल (१ रोपनी १४ आना ३ पैसा) जग्गा आफ्नै नाममा राजिनामा पास गरी सो जग्गा बैंक तथा वित्तिय संस्थामा धितो ऋण समेत निकालेका छन् ।


उक्त जग्गामा हाल संस्कृत तथा साधारण माविको २ वटा भवन रहेका छन् । विद्यालय स्रोतका अनुसार उक्त भवन रुम टु रिड र जाइका नामक संस्थाले निर्माण गरिदिएको छ । तिवारीले भवनसहितको जग्गा बैंक तथा वित्तिय संस्थामा राखेका छन् ।

सोही भवन रहेको जग्गालाई साना किशान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड र ज्वालामुखि २ मा कार्यालय रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा धितो राखी पटक–पटक ऋण लिएको पाइएको छ ।


युनाइटेड पोष्टले फेला पारेको प्रमाण अनुसार तिवारीले केही वर्षअघि साना किशान सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकालेका थिए । त्यस्तै मैदीमै रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले भने विद्यालयकै जग्गा धितोमा राखेर ३ लाख रुपैयाँ ऋण दिएको प्रमाणमा देखिन्छ ।

तिवारीले आफू प्रअमा कार्यरत रहँदा विद्यालयमा रहेको बैंक मुद्दती खाताबाट ४ लाख, अक्षय कोषबाट १ लाख, विद्यालय आन्तरिक कोष तथा विद्यालयको चल्ती खाताबाट पौने २ लाख समेत गरी जम्मा ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको संस्कृत तथा साधारण उमाविको लेखा परिक्षण प्रतिवेदनमै उल्लेख छ । तिवारीले विद्यालयमा आफू प्रअमा कार्यरत रहँदा गरेको भ्रष्टाचारबाटै धादिङवेशी स्थित बजार क्षेत्र भित्र भब्य महल समेत खरिद गरेका छन् ।

अख्तियारको छानबीन


तिवारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले विभिन्न निकाय मार्फत कागजात माग गरेको छ । स्रोतका अनुसार अख्तियारले धादिङको ज्वालामुखि गाउँपालिका कार्यालय मार्फत केहि दिनअघि मैदीमा रहेको साना किशान सहकारी र स्वस्तिक सहकारीबाट कागजात जफत गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ललाई कागजातसहित प्रतिबेदन पेश गर्न अख्तियारले निर्देशन दिएको थियो । अख्तियारले दिएको निर्देशन पालना गर्न शिक्षा शाखा प्रमुख मल्ल भने आनाकानी गरिरहेका छन् ।

उनले भ्रष्टाचारका अभियुक्त तिवारीलाई भेटेको समेत पाइएको छ । उनीहरु दुई जनाको भेटपछि मल्लले गाउँपालिका मार्फत उक्त जग्गा तिवारीको नामबाट विद्यालयको नाममा पास गर्ने र त्यसपछि अख्तियारको कारबाही रोक्ने दुष्प्रयास समेत गरेको पाइएको छ ।

यद्यपी धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनालाई फोन गरेर अभियुक्त तिवारीको फाइल तुरुन्त पठाउन निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको गेटमा भेट्न पुगेका तिवारीलाई सिडिओ तामाङले गेटबाटै आउट गराएको पाइएको छ ।


तिवारीले विद्यालयमा विद्यार्थीको छात्रबृतिदेखि विद्यालय निर्माणका क्रममा हुने ठेक्का पट्टामा समेत व्यापक अनियमितता गरेका थिए । अनियमितता गरेरै उनले धादिङवेशीको पुछारबजारमा ठूलो महल खरिद गरेका छन् । उनलाई घर बेच्ने व्यक्ति भने क्यानडा पुगिसकेको पाइएको छ ।

विहिबार प्रकाशित युनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ ।

संस्कृत माविमा पौष प्रसादको भ्रष्टाचारकाण्ड : विद्यालयको जग्गा आफ्नै नाममा राखेर बैंकबाट लाखौँ झ्वाम !

संस्कृत माबिको जग्गा घोटालाकाण्डमा मुछिएका पौष प्रसादलाई जोगाउने ‘चलखेल’ !