जनमानसमा केपी ओलीले फैल्याएको अनगिन्ती झूट : पानी जहाजदेखि रेल, कहाँ कहाँ भयो झेल ?

diyopost.com
राजु झल्लु प्रसाद
  बिहिबार, पौष ०१, २०७८ | २०:२९:५०

२०७७ पुस २६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै एकैदिन लगातार तीन वटा झुट बोले ।

झुट १ : “भुकम्पबाट क्षतिग्रस्त ७ लाख घरहरु निर्माण गरेर जनतामा वितरण गरियो ।”

झुट २ : “चाँदनी दोधारामा सुख्खा बन्दरगाहको व्यवस्था गरेका छौँ ।”

झुट ३ : “शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा कति प्रगति भएको छ भन्ने सबै साथीहरुलाई थाहा छ । अहिले भर्ना दर कति पुगेको छ । यो पनि थाहा छ । अहिले विद्यालयबाट बाहिरिनेको संख्या कसरी घटेको छ, त्यो पनि थाहा छ । छात्र र छात्राहरुको (भर्ना) अनुपात बराबरीको स्थितिमा पुगेको छ ।”

देशका तात्कालिन प्रधानमन्त्रीले कुनै चिया पसलमा होइन । सार्वभौम सांसदलाई दिएको अभिव्यक्ति कति झूटो थियोे भन्न तल उल्लेखित तथ्यहरुलाई हेरौँ ।

प्रकरण एक : ओलीले दाबी गरे जस्तो सात लाख घरहरु बनेका थिएनन् । ५ लाख ५९ हजार १ सय ३९ घरहरुको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरणको वेबसाइटको तथ्यांकले देखाउँछ । र, अर्को कुरा भुकम्प पीडितलाई सरकारले तीन लाख रुपैयाँ अनुदान दिन्छ । यो रकम मात्रै प्रयोग गरेर घर बन्न सम्भव नै छैन । भुकम्प पीडित आफैले बनाएका घरलाई वितरण गरिएको भन्नु भ्रमपूर्व दाबी हो ।

प्रकरण दुई :  भारतसँगको नेपालको सम्बन्ध सुध्रिएको दाबी गर्न चाँदनी दोधाराको प्रसंग निकालेका ओलीले सो आयोजना करीब १० वर्ष पुरानो भएको बताउन जरूरी ठानेनन् । नेपाल इन्टरमोडल यातायात विकास समितिको वेबसाइटमा उपलब्ध दस्तावेजले सो आयोजना आर्थिक वर्ष २०७३/७४ को बजेटमा नै उल्लेख भएको बताउँदछ ।

प्रकरण तीन : उल्लेखित भनाइमा ओलीले आफू आएपछि मात्रै ‘छात्रा र छात्र’को भर्ना संख्या बारबार रहेको झैं गरि बोलेका छन् । जबकी उनले सत्ता सम्हाल्नुभन्दा एक वर्षको अगाडी तथ्यांकले उनको दाबी भ्रमपूर्ण रहेको देखाउँछ । आर्थिक सर्वेक्षण २०७३/७४ का अनुसार २०७३ सालमा ३७ लाख ९० हजार ५ सय ८९ छात्राहरु भर्ना भएका थिए । यो संख्या त्यस वर्ष भर्ना भएका छात्रहरुको भन्दा १ लाख ३५ हजार ८० जनाले धेरै थियो (साउथ एसिया चेक) ।

८ फागुन २०७८ मा ७० वर्ष पुग्न लागेका ओलीका यस्ता धेरै झुटो अभिव्यक्तिहरु छन् । जो सँधै चर्चा र विवादको केन्द्रमा परिरह्यो ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ‘ओलीले आफ्नो चुनावी घोषणापत्रको पाँच–दश प्रतिशत पनि कार्यान्वयन गर्न नसकेको’ बताउँछन् । ‘यो सरकारले दुनियालाई आश्चर्यचकित बनाउनेखालका कामहरू गर्नेछ’ भनेर सत्ता सम्हाल्दाखेर बोलेका ओलीका उदेकलाग्दा हर्कतहरूको फेहरिस्त निकै लामा छन् ।

छापा माध्यममा लेख लेखिरहने विश्लेषक बद्रिनरसिंह के.सी. भन्छन्, “चौध वर्ष जेल बसेको निर्विवाद बहानामा उहाँलाई तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यमा महासचिव मदन भण्डारीले ल्याउनुपरेको भित्री कारण, बैठकमा सदैव नयाँ नयाँ चिन्तनशील कुरा ल्याउने, महासचिव भण्डारीलाई चुनौती दिने सिपी मैनालीलाई गालीगलौजको शैलीमा क्षुद्र र ओठे जवाफ दिनका लागि थियो । त्यो बेला ओलीको काम गाउँघरका उखान, टुक्का, मुहावरा, गालीका बान्की खोजीखोजी ल्याएर सिपीको मेख मार्नु हुन्थ्यो । मुलुकको गरिमामय पदमा विराजमान हुँदा पनि उहाँले त्यही काम गरिरहनुभयो ।”

केसीको दाबीसँग मेलखाने ओलीका अन्य अभिव्यक्ति पनि छन् । जसले उनलाई विवाद र आलोचनाको केन्द्रमा पारिरह्यो ।

‘रेल आउँछ..!’

‘रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउन्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ’, ओलीले ६ जनवरी २०१९ मा सङ्घीय संसद् गरेको सम्बोधनको अंश हो यो ।

आफू प्रधानमन्त्री भएसँगै मुलुकले विकासमा फड्को मार्ने र रेल सञ्चालनमा आउने बताएका ओलीले यसैगरी पटक–पटक रेल र पानीजहाजको सपना बाँडे । ०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदाखेर पनि ओलीले नेपालीलाई रेलको सपना बाँढेका थिए किनकि उनलाई थाहा थियो यो नेपालीको लोकप्रिय सपना हो, यो सपना नबाँडे चुनाव जितिन्न ।

गत असोज (०७७) मा हतार–हतार भारतबाट रेल पनि आयो । तर, ‘लाजको पसारो’– भारतबाट जनकपुर आइपुगेको रेल त्रिपाल ओढेर हिउँद र वर्षा काटिरहेको छ ।

एक वर्षदेखि जनकपुरमा घुम्टो ओढाएर राखिएको रेलमा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ । सञ्चालन नै हुन नसकेको रेलमा कुल नोक्सानीसमेत ४० करोड रुपैयाँ पुगिसकेको छ । रेल ल्याउदा सञ्चालन गर्ने गरी ल्याइएको भए पनि हालसम्म थन्किएको रेलको वारेन्टी अवधि सकिएको छ, तर रेल कहिले चल्छ भन्ने अझै यकिन हुन सकेको छैन । समाचार स्रोतहरुका अनुसार रेलको ट्रयाकसमेत नबन्दै कमिशनकै लागि हतारहतारमा रेल खरिद गरिएको थियो ।

रेल ल्याएदेखि हालसम्मको अवधिमा ४० करोडभन्दा बढीको नोक्सानी भएको छ । १० करोडभन्दा बढी सञ्चालनमा पूर्वकै खर्च छ । यस्तै रेल चलाएर पहिलो वर्षमा नै कम्तीमा ४० करोड रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य थियो । तर रेल नै सञ्चालन हुन नसकेकाले सो रकम पनि नोक्सानी भएको छ (शिलापत्र) ।

भएजति सबै काम आफूले गरेको देखाउन उद्घाटन र शिल्यानास गरी सस्तो लोकप्रियता कमाउन र विकासवादी नेता कहलिने रणनीति अबलम्बन गरेका नेता ओलीले यो कुरा कहिल्यै बताएनन् कि नेपालमा रेलमार्ग निर्माण गर्ने योजना बाबुराम भट्टराईको पालामा आर्थिक वर्ष २०६६/६७ बाटै शुरु भएको हो । सो सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेको थियो । पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमै भारतीय कम्पनी राइट कन्सल्यान्टले सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययनबाट नेपालमा रेल सम्भावना देखिएपश्चात भट्टराईले यस योजनालाई राष्ट्रिय गौरवको योजना अन्तर्गत राखेका थिए । हाल रेलका एक दर्जनभन्दा धेरै आयोजना अघि बढिरहेका छन् ।

‘पानी जहाज आउँछ, आउँछ.. !’

ओलीले २०७३ जेठ ४ गते पहिलोपटक भनेका थिए, ‘अब नेपालले आफ्नै पानीजहाजबाट सामान ल्याउँछ ।’ यसपश्चातका चुनावी भाषणमा पनि ओली पानीजहाज सपना दोहोर्याइरहे । यसैगरी, ०७४ को चुनावताका (कात्तिक २५ गते झापामा) ओलीले भनेका थिए, ‘यो चुनावपछि प्रशान्त र हिन्द महासागरमा पानीजहाज चलाउने व्यवस्था गरिनेछ । हाम्रै पानीजहाज चलाउँदा कांग्रेसले छट्याकपट्याक नगरोस् ।’

यसपश्चातका भाषणवाजीमा ओलीले ‘पानीजहाज चलाउँदा सामान बोक्न सजिलो हुने मात्रै नभई राष्ट्रिय ध्वजावाहक जहाजले देशको गौरव पनि बढाउने’ भनि ‘राष्ट्रवादी’ भइ टोपले । पानीजहाज नेपालको आवश्यकता हो कि गौरव मात्र हो भन्ने निष्कर्ष पुग्नुपूर्व ओलीले पानीजहाजमा कसरी सामान आउँछ, नेपालले पानीजहाज चलाउँदा कुन साइजका, कति जहाज कुन रुटमा चलाउने भन्ने कुरा कहिल्यै बताएका छैनन् । उनले एकोहोरो ‘पानी जहाज आउँछ, आउँछ’को रटान मात्रै लगाइरहे ।

तर, वास्तविकताको ऐनामा राख्दा ओलीको त्यो झूट मतदातालाई भ्रमजालमा पार्नु मात्रै थियो भन्ने पुष्टि हुन्छ ।

४९ वर्षअघि नेपालमा पानीजहाज चलाउन कम्पनी खडा भएको थियो । ०२७ सालमा पानीजहाजसम्बन्धी कानुन र २०२८ मा नियमावली बनेको थियो । ‘रोयल नेपाल सिप कर्पोरेसन’ भन्ने संस्थान २०२९ मा खुलेको थियो । पूर्वअर्थसचिव हिमालयशमशेर राणाका अनुसार कान्तिपथमा कम्पनीको कार्यालय थियो । ‘एउटा जहाज भाडामा लिएर चलाउने तयारी थियो, तर पछि खै के भएर हो त्यो योजना कार्यान्वयन हुन सकेन,’ राणाले भन्छन् । इन्टरस्टेटका मल्टी मोडल ट्रान्सपोर्टका प्रबन्ध निर्देशक आरबी रौनियारका अनुसार, त्यतिबेला पनि हचुवा भरमा पानीजहाज चलाउने कुरा आएको र चलाउन नसकिने भएपछि बन्द गरिएको हो ।

राजा महेन्द्रका भाइ हिमालय शाहको लगानी भएको त्यो कम्पनीबाट नाफा नहुने भएपछि चलाउने हिम्मत आएन,’ रौनियारले भने, ‘अहिले त नेपालको मात्र सामान बोक्ने पानीजहाज चल्न सम्भव छैन भने त्यो बेला झन् चल्ने कुरा भएन ।’ रौनियारका अनुसार, ‘अहिलेसम्म कुनै पनि जहाजले नेपालको मात्र सामान बोकेका छैनन्, किनकि नेपालमा आउने सामान एकदमै थोरै हुन्छ  (सेतोपाटी)।’

तर, यी सब तथ्यलाइ बेवास्ता गरिदिएर प्रधानमन्त्री हुँदा ओलीका राजनीतिक सल्लाहकार रहेका एमाले नेता विष्णु रिमालले पानीजहाज राजनीतिक भाषण मात्र नभएको बरू भूपरिवेष्टित राष्ट्रको समुद्रसम्मको अधिकार प्रयोग गर्दै भारतसँगको परनिर्भरता हटाउने दुरगामी सोच भएको दाबी गर्न पुगे । रिमालले ओलीले देखाएको पानीजहाजको सपना ‘देशको आवश्यकता र गौरव’ हो या ‘राजनीतिक भाषणवाजी’ हो भनेर खुट्टाऊने प्रयास नै गरेनन् । किनकी उनलाई हमेशा लाग्दछ, ‘मेरो सल्लाह मान्ने ओली कदाचित झुट हुनै सक्दैनन् । ”

काँधमा बोकेर हिँड्नै नर्पने सिलिण्डर..

नाकाबन्दीमा इन्धन नपाएर आक्रान्त नागरिकलाई ओलीले घर–घरमा पाइपबाट ग्यास पुर्याइदिने सपना देखाए । उनले ०७२ पुषमा भनेका थिए, “मैले अलिकति समय पाएँ भने सिलिन्डरको फेज नै समाप्त पारिदिन्छु । पाइपबाट घरघरका चुलोमा ग्याँस पुर्याइदिन्छु । त्यसपछि सिलिण्डर काँधमा बोकेर हिँड्नै पर्दैन ।”

पिउनयोग्य पानी र बिजुलीको समेत व्यवस्थापन नभएको नागरिकहरु सायद ओलीको सभामा ‘पटट’ ताली बजाइरहेका थिए । ताली पाएर मदहोश भएका प्रधानमन्त्रीले आफ्नो भाषणमा कुन स्रोतबाट ग्यास वितरण गर्ने भन्ने कुरा खुलाउनै जरुरत ठानेनन् । उपत्यकाको जमिनमुनि रहेको भूमिगत ग्यास उत्खनन गर्ने हो कि विदेशबाट ग्यासको पाइपलाइन ल्याएर वितरण गर्ने हो ?, जनताले सोध्नुपर्थ्यो । नसोधेपनि ओलीले बताउनुपर्थ्यो । तर उनले यसलाई ‘त्यो पर्दैन’ भनेर टारीदिए । झण्डै दुई तिहाई बहुमत सहितको दोस्रो कार्यकालमा उनले त्यस दिशामा एक कदम पनि काम गर्न सकेनन् ।

उद्घाटन गरेको ८ महिना बित्दा पनि तयार भएन धरहरा !

ओलीले ०७८ वैशाख ११ गते हतारोमा धरहराको उद्घाटन गरे पनि धराहरा पुनर्निर्माणको काम अझै सकिएको छैन । ठेकेदार कम्पनीका अनुसार बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै ६ महिना लाग्छ । सिंगो आयोजनामध्ये ३० प्रतिशत काम बाँकी छ ।

ओलीले धराहरा स्तम्भ तयार नहुँदै उद्घाटन गर्न हतारो गरेपछि काममा बाधासमेत उत्पन्न भएको थियो/छ । दुईवटा लिफ्ट जडान र बाहिरी रुप तयार पारेपछि ओलीले धरहरा उदघाटन गरेका थिए । २२ तले धरहरामा चढ्ने भर्याङको त्यतिबेला काम सुरु नै भएको थिएन । २० औं तलासम्म पुग्ने भर्याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो ।

‘अझै धेरै काम बाँकी छ, एकपटक राखिएको लिफ्ट फेरि फुकाल्नुपर्यो, तीनतला भूमिगतको काम पनि बाँकी छ,’ निर्माण सेवाका प्रतिनिधिले नयाँ पत्रिकासँग भने, ‘वरिपरि व्युटिफिकेसनको काम त झन् सुरु नै भएको छैन ।’

केहीदिन अघि चितवनमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा समेत धरहराको तस्विर राखेर केपी ओलीको ‘ब्राण्डिङ’ गरिएको थियो ।

काखमा भ्रष्टाचारी राखेर भ्रष्टाचार विरुद्ध भाषण !

“हामी समृद्ध नेपालको यात्रामा छौं र भ्रष्टाचार समृद्धिको बाधक हो । त्यसैले सरकारले भ्रष्टाचारमा शून्य सहनशिलताको नीति लिएको छ । भ्रष्टाचार गर्ने कुनै पनि निकाय वा व्यक्तिविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुन्छ ।” माघ १५, २०७५ गते सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा ओलीले ‘आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार पनि नहेर्ने’ बताए ।

तर, ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको बताउँछ । खुद्रे मुद्दाहरू बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रण गरिरहेको बताए पनि ओलीको संरक्षणमा ठूला भ्रष्टाचार निरन्तर भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको मत छ । ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले ओलीको झुठो प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरू संरक्षित भएको बताउछन् । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमाओलीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने रेग्मीको भनाइ छ (हिमाल खबर) ।

‘ओली काल’मा भ्रष्टाचार ‘ओपन सेक्रेट’ बनेको थियो भन्दा अतियुक्ती नहोला ।

कोरोना विज्ञका रुपमा ओली !

२०७७ वैशाख २० मा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘कोरोना महामारीमा हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहोऔं ।’
तर, रमाइलो पक्ष- उनीबाट नै हल्ला र अफवाह फैलने काम भयो ।

४ असारमा राष्ट्रिय सभामा बोल्दै ओलीले भने, “कोरोना भाइरस भनेको एउटा रुघाखोकीजस्तो हो । लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।“ त्यहाँ उनले भाइरस भनेको निर्जीव तत्व भएको र कोरोनाभाइरस तातोपानीले हात धुने बित्तिकै त्यसको बाहिरी भागको बोसो पग्लिएपछि समाप्त हुने बताए । उनले बोसो पदार्थलाई ‘फ्याटिय तत्व’ समेत भन्न भ्याए ।

६ जेठ २०७७ मा संसद्मा बोल्ने क्रममा कोरोनाभाइरसको प्रकृतिबारे टिप्पणी गर्दै ओलीले भने, “वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो । इटालीबाट आएको पनि नरमै देखिएको थियो । दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो । तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।”

गत २६ चैतमा नेपाल चेम्बर्स अफ कमर्शको साधारण सभालाई सम्बोधन गर्दा ओलीले भने, “अलि तातोतातो पानी लिँदै, नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं ।”

रोग तथा महामारी जस्तो संवेदनशिल विषयमा प्रधानमन्त्रीकै तहबाट चियापसलमा गरिने हल्का हावादारी गफगाफ जस्तो अभिव्यक्ति आउनु भयानक विडम्बना थियो । ओली जो थिए ‘प्रधानमन्त्री’, वास्तवमा उनले प्रधानमन्त्रीको जस्तो व्यवहार गर्न सकेनन् । उनी जो हुन्, त्यस्तै व्यवहार नेपाली जनताले पाए ।

कोही किन झुट बोल्छ ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओलीमा “दुनियाँमा म मात्रै चलाख छु, जान्नेबुझ्ने छु, अरु मानिसले केही जान्दैनन् र बुझ्दैनन् भन्ने खालको अहंकार भाव छ । ‘अरु मानिसले तुरुन्तै भेरिफाइ गर्न सक्छन् भन्ने हेक्का ओलीको मनमा लाग्दैन । ओलीमा नैतिक, सांस्कृतिक लेबल ज्यादै तल छ,’ उनको कथन छ, ‘मानिसहरुको एउटा नैतिक, सांस्कृतिक लेबल हुन्छ, तर ओलीको त्यो लेबल औसतभन्दा पनि धेरै तल छ । नैतिक, सांस्कृतिक लेबल भएको कुनै मानिसले झुठ बोल्नै सक्दैन, बोल्यो भने दिनभर उसलाई अप्ठ्यारो भइरहन्छ ।”

ईकागजका सम्पादक एवं लामो समय (३२ वर्ष) पत्रकारिताको अनुभव रहेका लेखक हरिबहादुर थापा नेपालीहरू गम्भिर नभईदिँदा नेताहरूले झुटको खेति गरिरहेको बताउँछन् । “जति पनि उनीहरू झुट बोलिरहेका छन्, त्यसलाई होइन भनेर हामी तथ्य अगाडी राख्न सकीरहेका छैनौँ । तिम्ले बोलेको यो यो असत्य हो भनेर हाम्ले भन्न सकेनौं,” उनी अगाडी भन्छन्, “हामी आफू सजग भएमा उनीहरू पनि सजग हुन्छन् । जनता र पत्रकार सजग भएपपछि व्यवस्था सुव्यस्थिति हुन्छ । न्युयोर्क टाइम्सले ट्रम्प झुट बोलिरहेको छ भनेर १०÷१२ चोटिसम्म किन लेख्न सक्यो ? किनकी न्यूयोर्क टाइम्स सजग थियो ।”

तथ्य थाहा पाउनेहरू पनि नबोल्दिदा झुटको रजगज अझ बढेको थापाको मत छ । उनी भन्छन्, “एमालेको तथ्य एमालेको मान्छेलाई थाहा हुन्छ, कांग्रेसको तथ्य कांग्रेसको मान्छेलाई थाहा हुन्छ । सर्पको खुट्टा सर्पले नै देख्ने हो तर यहाँ दुवैथरी सर्प चुप बस्छन् किनकि एउटा सर्पले अर्को सर्पको खुट्टा देखे भनेर भन्नुपूर्व उसले आफ्नो पनि खुट्टा लुकाउनुपर्ने अवस्था छ । अनि कहाँ कोही बोल्छ ?”

के ओलीमा औषधीको प्रभाव छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक आफ्नो मृगौला प्रत्यारोपण गराएका छन् । प्रत्यारोपणपछि उनले इमिनो ससप्रेस्यान्ट नामक औषधी सेवन गर्दै आएका छन् । जुन औषधीले मानिसलाई आवश्यकताभन्दा बढी उत्तेजनामा ल्याउने चिकित्सकहरुको मत छ, ‘उहाँले जति पनि बोल्दै आउनु भएको छ । जिम्मेवार नेताबाट भन्दा पनि मृगौला प्रत्यारोपणको विरामीको मुखबाट आइरहेको हामी देख्छौँ ।’

‘यसले उहाँलाई झूटैझूटको संग्राहालय जस्तो बनाएको छ,’ एक चिकित्सक भन्छन्, ‘सत्य सुचना पाउनुपर्ने नागरिकको हक नै कुण्ठित हुँदै गएको छ किनभने नेताले बोल्नु भनेको आम मान्छेले सुन्नु हो । नेताबाट आउने यस्ता अभिव्यक्तिले फर्जी जनमत तयार हुँदै जान्छ ।’

***

यो पनि पढ्नुहोस्;

नेपालमा ‘फेक न्युज’को महामारी : फर्जी जनमत निर्माणको खतरा (भाग- १)

अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुटा खबर थाहा हुन्छ (भाग-२)

नेपालमा ‘फेक न्युज’को महामारी : फर्जी जनमत निर्माणको खतरा ।  (भाग-३) 

सम्बन्धित खबर