‘पत्रकारिता त गर्नुहुन्छ, अनि काम चाहिँ के गर्नुहुन्छ नि ?’

diyopost.com
राजु झल्लु प्रसाद
  शनिबार, पौष १०, २०७८ | १४:४१:०९

ए, पत्रकारिता त गर्नुहुन्छ, ठिक छ । अनि काम चाहिँ के गर्नुहुन्छ नि ?’ यो एक ‘अजर-अमर प्रश्न’ बनेर रहेको छ । ‘दाइ पत्रकार, डलरे पत्रकार, झोले पत्रकार, दले पत्रकार, फेस्बुके पत्रकार, युट्युबे पत्रकार, र्याल पत्रकार, स्याल पत्रकार, सारौँ पत्रकार, कपी-पेस्ट पत्रकार, कर्पाेरेट पत्रकार या पत्रुकार’ सबैले यस प्रश्नको उत्तर बोली लर्बराउँदै भए पनि केही न केही दिएकै हुनुपर्दछ । 

यस प्रश्न किन सोधिन्छ या सोधिदै छ ? यसको जवाफमा अर्को प्रश्न देखापर्दछ, ‘नेपाली पत्रकारिताले आफ्नो विश्वासनियता किन र कसरी गुमाइरहेको छ ?’ यिनै प्रश्न र प्रतिप्रश्नको जवाफमा  हामीले यहाँ केही  उदाहरणहरू भेट्यौं, जसलाई यहाँ पस्कने जमर्को गरेका छौं;

१. बुद्ध एयर : कम्पनीको लापार्वाही, पाइलटको वाहीवाही, मिडिया खोइ ? 

गत असोज ११ गते काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो । जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गरियो । 

राजारानीको गुणगान गाइयो । “जहाँ राजरानी हुन्छ, त्यहाँ भगवानको बास हुन्छ भन्ने सही साबित भयो । ” टिकटक र फेसबुकमा भित्ताभर राजारानीको सो फोटो देखियो ।  तर,  साउथ एसियाफ्याक्ट  चेकले तथ्य जाँच गर्यो- फोटो ३ वर्ष पुरानो फोटो रहेको खुल्न आयो । 

तस्बीर : साउथ एसिया चेक

यही घटनामा अर्को कुरा पनि भयो,

७० जनाको ज्यान जोगाउने पाइलटलाई नायक बनाइराख्दा बुद्ध एयरको लापरवाहीमाथि हामीले प्रश्न नै गरेनौं । पांग्रा किन खुलेन ? ल्यान्डिङ गियरको इन्डिकेटरमा कहिलेदेखि समस्या देखिएको थियो ? जहाज सेकेन्ड ह्याण्ड भइसकेपछी विमानको प्राविधिक गडबडीबारे विस्तृत समीक्षा हुन् आवश्यक थियो की थिएन ? विमान कहिले कोबाट किनिएको हो ? लगायतका कुराहरू मिडियामा आउनुपर्ने थियो, आउँदै आएनन् । बहसको विषय बन्नुपर्ने थियो, बन्न सकेनन् । 

काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन 9N-ANI, उडान संख्या U4 701, मा वयष्क ६८, बच्चा २, इन्फ्यान्ट ३ जना गरी ७३ जना यात्रु थिए । जुनसुकै उमेर समुहका यात्रुहरू भएता पनि यात्रुको सुरक्षा जिम्मेवारी विमान कम्पनिले बोक्नैपर्छ । यसपटक मिडियाले बुद्ध एयरलाई प्रश्न गरिदिएको भए अन्य विमान कम्पनिहरू सतर्क हुने थिए ।  

यहाँनेर प्रश्न गरिनुपर्दछ-  बुद्ध एयरको लापरवाहीमाथि चुपी साध्न मिडियाले कुन कुराले रोक्यो ? यद्यपी, उकेरा डट कम लगायत केही मिडियाले यसबारे केही लेखेका पनि छन्, तर यी अपवाद भए । 

कवि नवीन प्राचिनले यसै विषयमा बडो घत्लादो स्टाटस लेखेका छन्, स्वभावत: यसका खासै प्रतिक्रियाहरू आएनन् । प्राचिनको स्टाटस पाइलटको नायकीकरणबीच गुमनाम भइ हरायो । स्टाटस यस्तो थियो;

“हामी अतिशय भावुक छौँ, जयकार हाम्रो स्वभाव हो । प्रश्न त हरेक बिहान नित्यकर्ममा चर्पीमा बगिजान्छ । त्यसैले रवी लामीछाने हाम्रा लागि भगवान बन्छन् । राष्ट्रप्रमुखहरु छेउमा राखेर धुर्मुश सुन्तलीले रङ्गशाला बनाँउछौँ भन्दा हामी ताली बजाउँछौँ तर खास जिम्मेवारहरुलाई प्रश्न गर्दैनौँ ।

यसपटक पनि ७० जनाको ज्यान जोगाउने नायक पाईलटको जयकारमा हामीले बुद्ध एयरको लापरवाही बिर्स्यौँ, नियामक निकायलाई प्रश्न सोधेनौँ । प्रदिप गिरि भन्छन्- ‘नायकहरु चाहिने समाज अभागा समाज हो ।’ बिडम्बना हामीसँग हरेक क्षेत्रमा महानायकहरु छन्, हामी उनिहरुको एकोहोरो जयकारमा कान बज्ने गरि झापड लाउनुपर्ने नालायकहरुलाई नजरअन्दाज गरिरहन्छौँ ।”

२. मेलम्ची बाढी : अघिल्ला वर्षका फोटोहरू हालेर भ्यूज खोजियो।

मेलम्ची नदीमा २०७८ साल असार १ गतेदेखि बाढी आयो । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा घरलगायतका संरचनालाई क्षति पुर्यायो । मानवीय क्षतिसमेत भयो । बाढी सुरु भएदेखि नै #prayforsindhupalchok ह्यासट्यागसहित तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा शेयर हुन् थाले । 

तर, शेयर भएकामध्ये केही तस्बीरहरू यस वर्षका थिएनन् । अघिल्ला वर्षहरूका थिए (साउथ एसिया चेक) । 

तस्बीर : साउथ एसिया चेक

सामाजिक सञ्जाल भ्रम छरेर सूचना बाँडेर ‘पत्रकार’ भइखानेहरूले गरेको बदमाशी मात्रै थियो यो ।  यसप्रकार सस्तो भावुकता बटुल्ने र लाइक/भ्यूज बटुल्ने परम्परालाई पनि ‘पत्रकारिता गरेको हूँ’ भनिरहिएको छ, जुन दुर्भाग्यपूर्ण कुरा हो ।  

३. माधवकुमारको रुँदै गरेको फोटो :

गएको भदौ १२ गते माधवकुमार नेपाल रुँदै गरेको फोटो भाइरल भयो । नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रोएको फोटो भाइरल बनाउनुको राजनतिक महत्व रहन्छ । 

ब्रेकएनलिङ्कसको नेपाली संस्करण, एमाले बौद्धिक केन्द्र नामको फेसबुक ग्रुप, टुडेखबरको फेसबुक पेज लगायतका सार्वजनिक स्थलहरूमा नेपाल रोइरहेको फोटो भेटिएको थियो ।

सूर्य थापाले समेत सोही फोटोको प्रयोग गर्दै भ्रम प्रचारप्रसार गर्ने उद्धम गरे, जसलाई मिडियाले समर्थन जताइदियो । सूर्य थापा गलत छन् भनेर लेख्नुपर्नेमा ‘नयाँ समाचार नेपाल’ले लेखिदियो- “माधव नेपाल रोएको तस्बिर शेयर गर्दी सूर्य थापाले जे लेखे…। ”

यहाँ उसले सूर्य थापाको बदमाशीलाई इंकित गर्न खोजेको त हो तर, विकाउ शीर्षकका कारण नयाँ समाचार नेपाल चिप्लियो । ऊद्वारा सूर्य थापाको बदमाशीको अझ प्रचार हुन् पुग्यो ।

यथार्तता यस्तो छ,

माधवकुमार नेपाल रोएको फोटो दुई वर्ष पुरानो रहेको पाइएको छ । त्यतिबेला एमाले नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री भएका थिए । सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त योगेश भट्राईलाई स्वागत कार्यक्रम राखेको थियो, जहाँ २०४३ सालको निर्वाचनको प्रसंग कोट्याउदै योगेश भक्कानिएका थिए । योगेश भक्कानिएपछी नेता नेपालको आँखा भिजेको थियो । यसबारे  नेपाल फ्याक्ट चेकले विस्तृतमा लेखेको छ। 

वास्तविक फोटो

४.इटालीका प्रधानमन्त्रीले कोरोनासामू आत्मसमर्पण गरेको झुटो खबरको शिकार भएका ओली :

२०७७ असारताका कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट छाएको अवस्था थियो । कोरोना रोगबारे मात्र होइन, औषधि तथा खोप विकासलाई लिएर अफवाहहरू आइरहेका थिए, जुन यद्यपी पनि जारी नै छ ।

सोही समयमा तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अफवाहको शिकार भए, त्यो हो- इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको फेक न्युज ।

इटालीका प्रधानमन्त्रीको अभिव्यक्ति भन्दै मिथ्या सूचना पोष्ट गरीएको थियो, जसले नेपालमा पनि चर्चा-परिचर्चा बटुल्ने काम गर्यो । लेखिएको थियो- ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । पृथ्वीमा सम्भव सबै प्रयासहरु सकिए । अब आकाशतिर हेर्नुको विकल्प छैन ।’

यथार्थमा, 

फेसबुकमा भाइरल बनेको रोइरहेका तस्वीर इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको नभई ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको थियो । सन् २०१९ को डिसेम्बरमा एउटा प्रार्थना सभालाई सम्बोधन गर्ने क्रममा उनी यसरी रोएका थिए ।

पत्रकारहरुलाई भाषा सिकाउने प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले त्यही भाइरल पोस्टलाई टेकेर राष्ट्रिय सभामा अभिव्यक्ति दिए, ‘आइसोलेसनमा राख्दा पनि इटालीजस्तो देशले सडकमा लगेर राख्नुपर्‍यो । आईसीयूको सेवा सडकमा दिनुपर्‍यो । भेन्टिलेटरमा बस्नुपर्ने अवस्थामा मात्र ल्याउनू, नभए ठाउँ छैन नल्याउनू । आइसोलेसनमा बस्नू भनेर विकसित देशहरूले घर पठाउनुपर्‍यो । हामीले यस तहमा हात उठाइसकेका छैनौं’, ओलीले भनेका थिए ।  ‘अब भगवानको भरोसा छ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं’ उनले बताएका थिए । 

(ओलीका झुटका फेहरिस्तबारे हामीले अघिल्लो अंकमा चर्चा गरेका थियौं । )

५. तीन महिना बासी समाचार पढाउने- कान्तिपुर :

असोज १८ गते सोमबारको कान्तिपुरले १२ औँ पेज तीन महिना बासी समाचार छाप्न पुगेको थियो । ‘मंगलबार, ८ असार २०७८ (Tuesday, June 22, 2021)’ लेखिएको समाचार असोज १८ को अंकमा छापिएको हो । यद्यपी उसले गल्ती भएको भन्दै माफी मागीसकेको छ। 

यस्ता गल्तिहरू टेक्निकल इरर हुन्, यिनलाई फर्जी समाचार नै भन्नु उपयुक्त नहोला तर पत्रकारिताको नाममा ‘हतारको लतरपतर’ भने कान्तिपुरबाट भएकै हो ।  

कान्तिपुरका जस्ता पत्रिकाहरूको गल्तिहरूको फेहरिस्त निकै लामै छ । ट्वीटरमा यसअघि पटक-पटक #GrowUpNagarikNews, #GrowUpSetopati #GrowUpNepaliMedia जस्ता ह्यासट्यागहरू प्रचलनमा आएका पनि हुन् । तर अनलाइन र पेपर दुवैतर्फ गल्तिहरू दोहिरीरहेकै छन्।  सामाजिक संजालको केही आलोचना वा खबरदारी मात्रैले यस्तो ठूलाबडा मिडियाको बदमासी र छलपूर्ण खेलहरू रोकिने देखिदैनन् ।

अगाडि पनि यस्तै थियो त ?

डिजिटल युग विकसित नहोइसकेको बखत अर्थात परम्परागत आमसञ्चारका माध्यम पनि ‘झुटको खेती’ गर्न माहिर नै थिए । पत्रकारिताको आधारभूत सिद्धान्त पालना गर्न नसक्दा नेपाली पत्रकारितामा लज्जित हुनुपर्ने गरिका बग्रेल्ती घटना भएका छन् । विगतका प्रख्यात फेक न्यूजहरूलाई उदारणस्वरूप अगाडि सारौँ;

क. ‘धन्य अनुजा’ले झस्काएको राष्ट्रपति कार्यालय :

२०६८ साल वैशाख ६ गते बुधबारको दिन कान्तिपुर दैनिक (प्रमुख संवाददाता हर्ष शुब्बाको बाइलाईन) मा ‘धन्य अनुजा’ शिर्षकको समाचार प्रकाशित भयो । यसले राम्रो चर्चा बटुल्यो । गाडीमा भेटेको ९१ लाख नेपाली रुपयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भनेर एकाएक चर्चामा आएकी बानियाँलाई तत्कालिन राष्ट्रपति रामवरण यादवले राष्ट्रपति कार्यालयमा नै बोलाएर ‘स्याबास राम्रो काम गर्यौ’ भन्दै बधाइ पनि दिए । 

‘अनुजा नानी, म रामवरण यादव । नेपालको राष्ट्रपति । चिन्यौ मलाई ?’साँझ ६ बजे नसोचेको फोन आएपछि इटहरीमा रहेकी २२ वर्षिया अनुजा बानियाँ फुरुङ्ग भइन् । राष्ट्रपतिले स्याबासी दिन फोन गरेको थाहा पाएपछि उनले तत्काल नमस्ते गरिन् ।’ कान्तिपुरले अगाडी लेखेको थियो, ‘भोजपुर भुल्के घर भई धरान बस्दै आएकी अनुजाले चैत २६ गते धरानमा उक्त सम्पत्तिसहितको झोला फेला पारेकी थिइन् । झोलामा रहेको कागजपत्रमा उल्लेख सम्पर्क नम्बरबाट उनले उक्त सम्पत्तिको धनी काठमाडौं सीतापाइलाका पुरुषोत्तम पौडेललाई खबर गरी बुझाएकी थिइन् । यससम्बन्धी समाचार बुधबार सार्वजनिक भएपछि चारैतिरबाट अनुजालाई फोनको ओइरो लागिरहेको बेला राष्ट्रपतिले स्याबासी दिएका थिए ।..’ (राष्ट्रपतिले भने, ‘स्याबास् अनुजा’ शिर्षकको समाचार यहाँ पढ्न सक्नुहुनेछ।) 

तर, कान्तिपुरको खबर पूर्ण रुपमा झूटो थियो । यस प्रकरणपश्चात स्वयम राष्ट्रपति कार्यालय झस्किएको थियो । अन्तत: अनुजाको झूटको पर्दाफास भयो । आफ्नो झूट प्रति क्षमायाचना गर्दै उसले प्रथम पृष्ठमा नै माफि माग्यो।

ख.  ‘रसेन्द्रको निजी हवाईजहाज’ चिप्लिदा खोजपत्रकारिताले मुखमा हिलो।

‘अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लिन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने धनाढ्य नेपाली’ भन्दै नेपालका ठुला मिडियाहरू (कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजन) ले फेक समाचार छापिएको घटना पनि उल्लेखनीय नै छ । 

‘रसेन्द्रको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ । रोयल्स रोयस, बीएमडब्लू, मर्सि्डिज, जगुवार, फेरारी आदि कार। अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू। संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि’, भन्दै नक्कली अरबपतिको स्तुतीगान छापिएको थियो ।  

तर सत्य ठीक बिपरित थियो । यो समाचार झुट थियो ।  यो समाचार झूट भएको थाहा पाएपनि ठुला मिडियाहरूले उक्त समाचार सच्याएर क्षमायाचना गरेनन् । 

ग. मीना सिंह खड्का र गेट कलेजको बदमाशी : 

विश्वको थुप्रै विश्व विद्यालयबाट आफूले विद्यावारिधी गरेको दाबी गर्ने एक महिलालाई कान्तिपुर टेलिभिजन र कान्तिपुरकै नेपाल साप्ताहिकले ‘रोल मोडल’ बनायो । उनी थिइन्- मिना सिंह खड्का ।  ‘दलदलमा फुलेकी कमल — मीनासिंह खड्का’ शीर्षकमा प्रदीप बस्याल र राजकुमार बानियाँले लेखेको प्रोफाइल पढ्नुहोस् । जहाँ यी-यस्ता दाबी गरिएका छन्, जो पुष्टि हुन् सकेनन्;

  • पिताजीले मदर टेरेसाकहाँ छाडिदिए मीनालाई । मदरले भारतकै टप स्कुल बालीगन्ज साउथ प्वाइन्ट, कोलकाता पठाइदिइन् । “स्कुलमा बलिउडका राज कपुरकी छोरी, उत्तमकुमार, विश्वजीतका छोराछोरी, मुनमुन सेनकी आमा सुचित्रा सेन, औद्योगिक घराना टाटा, बिड्ला, जिन्दलका छोराछोरी पनि पढ्थे,” उनी सुनाउँछिन्, “तर, मदरको एउटै चिठीका कारण मैले नि:शुल्क पढ्न पाएँ ।”
  • उनकै पहलमा सन् १९८१ मा क्यालिफोर्निया युनिभर्सिटीमा स्कुल फर इन्डिपेन्डेन्ट स्टडिज अफ साउथ एसिया (सिसा) विभाग खोलियो । शेर्पा, गुरुङ, मगर, तामाङ, नेवारी, कुमारी, दसैँ, तिहारलगायत आठ संस्कृति र पर्वको अध्ययन सुरु भयो । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए ।
  • मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । त्यसबेला उनी वल्र्ड कलेज वेस्ट, स्ट्यान्डफोर्ड, क्यालिफोर्नियामा काम गर्दै थिइन् । कोलम्बिया युनिभर्सिटीले बोलाइहाल्यो । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । सन् २००९ मा युनिभर्सिटी अफ टोकियोमा पनि उनले दक्षिण एसिया विभाग खोलिन् ।

बाल्यकालमा मदर टेरेसासँग बिताएको, मिसेल ओबामासँग दोस्ती रहेको, ३५ विश्वविद्यालय गेस्ट लेक्चररको रुपमा जाने गरेको, डबल पिएचडी गरेको भनेर हावादारी गफ गरेर नेपाली मिडिया झुक्याएकी मीना सिंह खड्का काठमाडौंकी गेट कलेजकी अध्यक्ष थिइन् । त्यतिबेला मिडियामा आएका समाचारको आधारमा मीना सिंह खड्का वास्तवमै अन्तर्राष्ट्रिय पहुँच भएकी महिला हुन् भनेर गेट कलेजले नै विद्यार्थीहरुमा दूष्प्रचार गरेर आफ्नो धन्दा चलाएको थियो । गेट कलेज पढेपछि मीनाको पहुँचका कारण राम्रो देशको भिसा लाग्ने, अरु देशमा पढ्न जाने अवसर पनि हुने जस्ता आश्वासन कलेजले बाँड्ने गरेको बारे नेपाल आजले विस्तृतमा लेखेको छ ।

नागरिक दैनिकले मीनाले कुनै विश्व विद्यालयबाट विद्यावारिधी नगरेको भेट्यो, यस्पश्चात्त उनीबारे थप खोजी भएको थियो । सोही पत्रिकालाई समेत उनले आफूलाई मिसेल ओबामाको फोन आएको तथा, यता पाकिस्तानी प्रधानमन्त्री बेनेजर भुट्टो आफूलाई भेट्न आफ्नै घरमा आएको बताएकी थिइन् । तर, तथ्यहरुले उनले सबै झूट बोलेको पुष्टि गर्यो । यद्धपी झूट प्रकाशन गर्ने कान्तिपुरले भने माफि या क्षमायाचना प्रकाशन वा प्रशारण गर्ने हिम्मत भने गरेन । जब मीनाबारे तथ्य बाहिर आयो, गेट कलेज आफ्नो प्रतिरक्षा गर्न उनलाई अध्यक्ष पदबाट बाहिर निकालेको सूचना दिन बाध्य भयो ।  

दिलभूषण पाठकले लिएको  मीनासँग अन्तर्वार्ता,  मीनाको झुटको पर्दाफास गरेको नागरिक खुदले छापेको मीनाको आर्टिकल, नेपाल म्यागजिनको प्रोफाइलमा लेखिएका झुटहरूको चर्चासहित ‘नेपाली पत्रकारितामा अर्को रस्सेन्द्र भट्टराई कान्ड?’ अन्तर्गत माइ संसारले लेखेको लेख यहाँ पढ्न सक्नुहुनेछ। 

माथि उल्लेखित घटना (स्कान्डल)हरू उदाहारणस्वरूप पेश गरिएका हुन् । यस्ता घटनाहरू थुप्रा छन् । जसले नेता, सरकारी निकाय, पत्रकार र सामाजिक अगुवाहरूका विसंगत चरित्र, भ्रष्ट नियत र स्वार्थ लिप्सालाई प्रष्ट पार्दछ । यी घटनाहरूले नेपाली पत्रकारिता क्षेत्रलाई पत्रकारीता क्षेत्रलाई नै ‘कुरी–कुरी’ गरिरहेको छ । यस्ता घटनाहरूकै कारण पत्रकारीताको विश्वसनियतामाथि प्रश्न उठीरहेका छन् । 

प्रश्न हराएको नेपाली पत्रकारिता !

इन्टरनेटमा आम सर्वसाधारणको पहुँच बढेसँगै उनीहरुलाई झुक्याउन अफवाह, झूट र भ्रामक सूचना नियोजित रुपमा फैल्याउने गरिएको साउथ एसिया चेकका सम्पादक अधिकारी बताउँछन् । अधिकारीका अनुसार, हामीकहाँ नियतवश फैलाइने भ्रामक सूचना (Disinformation) र नराम्रो नियत नराखिकन गलत सूचना प्रसारित गर्ने प्रचलन (Misinformation) गरि दुई खाले फेक न्यूजहरूको संक्रमण बढीरहेको छ ।

“प्रियतावादी राजनीतिकर्मीले डिसइन्फर्मेसन फैलाइरहेका हुन्छन् भने गलत फोटो र शिर्षक सहितका कन्टेन्ट अन्जानमा फैलाउनु चाहिँ मिसइन्फर्मेंसन भयो,” उनी भन्छन्, “कहिल्यै नाम नसुनेको अनलाइनबाट आएका त्यस्ता फेक न्यूजहरू हामी देख्नासाथ् पत्याइइदिन्छौं र लाइक, कमेन्ट या शेयर गरिदिन्छौं । प्रत्यक्ष-परोक्ष रुपमा त्यो फेक न्यूजलाई प्रचारप्रसार गर्नमा हाम्रो पनि सहभागिता रहने भयो ।” कोभिड–१९ को सन्दर्भमा पनि कयौं र मिथ्या सामाग्री प्रसारण/प्रकाशन गरेर आमरुपमा त्रसित बनाइएको अधिकारीको भनाइ छ।  

हरेका पत्रकार, पत्रिका र आम सञ्चारका संस्थाहरूको ‘प्रतिबद्धतापत्र’ वा ‘घोषणापत्र’ वा ‘संकल्पपत्र’ छन्, जहाँ ‘सत्य-तथ्यको पक्षमा रहने, भाषिक शुद्धतालाई ख्याल राख्ने, पत्रकारिताको साख गिर्न नदिने’ लगायतका यावतयावत वाचा, आश्वासन गरिएकै छन् । तर, के त्यस्तै भइरहेको छ त ? नेपाली पत्रकारितालाई राष्ट्रिय संवाद कायम गर्ने सेतु बनिरहेको छ ? नेपाली पत्रकारिताले प्रश्नको दायरा बढाएको छ त ? हामीकहाँ सूचनाको अस्वस्थ प्रतिष्पर्धा र समाचार ब्रेक गर्ने अस्वस्थ होडबाजी त चलिरहेको छैन ? नेपाली प्रेस, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता (सम्पादकीय स्वतन्त्रता) को उपभोग गर्ने नाममा संयमित हुन् चुकिरहेको त छैन ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको तीन वटै अंग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) भ्रष्ट छ भनेर चौथो अंग (पत्रकारिता)ले भनिरहँदा उसले स्वयं आफ्नो इमान्दारिताबारे प्रश्न गरेको छ त ? 

यस प्रश्नको जवाफमा लेखक/पत्रकार नारायण वाग्ले भन्छन्,  “विज्ञापन, तलब पनि नियमित आइरहेकै छ । थोरै दिमाग खियाए पनि समाचार, विचार सङ्कलन भएकै छ । सबैलाई सुख, सयल छ । अलि–अलि यो भएन, त्यो भएन भन्नेछ । अलि–अलि प्रतिस्पर्धा छ । अरू त ठिकै छ नि । ” प्रश्न हराएको नेपाली पत्रकारिता जगतमाथि व्यंग्य कसेका वाग्लेको भनाईलाई भारतीय पत्रकार रवीश कुमार यसरी प्रष्टाउछन्, “पत्रकारले सत्ताले दिएको सूचनामा प्रश्न गर्नु, त्यसको परीक्षण गर्नुको सट्टा सक्दो छिटो प्रकाशित, प्रसारित गर्न लागिपरेको छ ।” 

इकागजका पत्रकार विमल आचार्य भन्छन्, “पत्रकारिताको आत्मा प्रश्न हो । पत्रकारिताको प्राथमिकतामा प्रश्न पर्छ र पर्नुपर्छ । जब सबै सञ्चार माध्यम मा प्रश्नवाचक (?) चिह्नभन्दा पूर्णविराम (।) धेरै हुन्छन् नि, अनि पत्रकारितामै पूर्णविराम लाग्छ ।” उनी अगाडि भन्छन्, “जुन देशमा मिडिया र अदालतप्रति प्रश्न उठ्छ । शंका उब्जिन्छ । यिनले विश्वास गुमाउँछन् । तब समाजमा प्रश्न नै सकिन्छन् । प्रश्न सुक्नु सुन्धारा-ढुंगेधारा सुक्नुभन्दा खतरनाक छ । यो लोकतन्त्रको स्वास्थ्यका लागि हानिकारक छ । अरू क्षेत्रको ऐना देखाइदिने मिडिया र करेक्सन गर्ने ‘अदालत’ हो । यी क्षेत्र नै पावरतन्त्र र पैसातन्त्रको मुखपत्र बने भने त उज्यालो कहीँबाट छिर्नेवाला छैन । जोगाऊँ, उज्यालाका बीउ । “

(क्रमश ..)

यो पनि पढ्नुहोस्;

नेपालमा ‘फेक न्युज’को महामारी : फर्जी जनमत निर्माणको खतरा (भाग- १)

अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुटा खबर थाहा हुन्छ (भाग-२)

नेपालमा ‘फेक न्युज’को महामारी : फर्जी जनमत निर्माणको खतरा ।  (भाग-३) 

जनमानसमा केपी ओलीले फैल्याएको अनगिन्ती झूट : पानी जहाजदेखि रेल, कहाँ कहाँ भयो झेल ? (भाग-४ )

सम्बन्धित खबर