
दियोपोस्ट संवाददाता
मलेशिया, १५ माघ । गैरआवासीय नेपाली संघ एनआरएए मलेशियाका उच्च अधिकारी पत्रकार अपहरण गर्ने योजनामा लागिरहेको तथ्य खुलाशा भएको छ । मलेशिया ‘भ्रमण’मा रहेका दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई अपहरण गर्ने योजना बनाउँदै गरेको तथ्य फेला परेको हो ।
गैरआवाशीय नेपाली संघ ‘एनआरएनए’ कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले विश्वकर्मालाई अपहरण गर्ने योजनामा विभिन्न व्यक्तिहरु परिचालनमा लागेको पाइएको छ । उनी आफै पत्रकार विश्वकर्माको अपहरणका लागि क्रियाशिल भएको पाइएको छ । उनले पत्रकार ‘विश्वकर्मा कहाँ बस्छन् ? उनको नम्बर कति हो ? उसलाई चिरिप्प पार्नु पर्यो’ भन्दै विभिन्न व्यक्तिलाई फोन गरेको रेकर्ड दियोपोस्टले फेला पारेको छ । उनले फोन मात्रै गरेका छैनन्, मलेशियामा रहेका आपराधिक गिरोहलाई परिचालन समेत गरेको खुलेको छ ।
दियोपोस्टलाई प्राप्त अडियो रेकर्डमा कोषाध्यक्ष नेपालले भनेका छन्,‘उहाँले न्युजको स्रोत कहाँबाट पाउनु भयो । म संघको कोषाध्यक्ष एक पटक मलाई सोधेर न्युज लेखेको भए हुन्थ्यो । स्रोत के हो थाहा पाउनु पर्यो । उ मलेशिया आएको छ भन्ने कुरा आयो ।’
आफूहरुले दियोपोस्टकर्मीलाई कानुनी कारबाहीको तयारी गरेको समेत उल्लेख गरेका छन् ।
‘त्यो मान्छेको अफिस कहाँ रहेछ भन्ने पत्ता लगाइसकियो । त्यो मान्छेलाई कानुनी कारबाही पनि हुन्छ । चरप्प पार्दाखेरी यसो मिलाएर पार्न पर्छ । हामी माओवादी हौँ कसरी पाथ्र्यौं पहिले,’ उनले अपहरण गर्ने धम्की दिँदै भनेका छन्,‘त्यसरी चरप्प पार्नुपर्छ ।’
‘एनआरएनए’ मलेशियाका अध्यक्ष हरि भट्टराईले श्रमिक कल्याणकारी कोषका लागि दिएको चेक कोषको खातामा जम्मा नभएको प्रमाणसहित दियोपोस्टमा समाचार प्रकाशीत भएको थियो । प्रकाशित समाचारको प्रमाणसहित खण्डन गर्नुको सट्टा भट्टराईले विज्ञप्ति मार्फत थप झूटो विवरण सार्वजनिक गरेका थिए ।

सोही समाचारको विषयमा एनआरएनए मलेशियामा चर्चा परिचर्चा भएको थियो । उक्त समाचार किन लेखेको भन्दै भट्टराईले दियोपोस्ट डटकमका प्रधानसम्पादक विश्वकर्मालाई फोन गरेर आफू ‘लिगल एक्सनमा जान लागेको चेतावनी दिएका थिए ।
अपहरणको धम्की दिने र योजना बनाउने कोषाध्यक्ष नेपाल भट्टराईकै स्टाफ हुन् । उनी भट्टराईकै ‘हाउसमेड भिषामा मलेशिया आएका व्यक्ति हुन् ।
उनले अपहरण गर्न विभिन्न व्यक्तिलाई सम्पर्क गरेको अडियो रेकर्ड दियोपोस्टसँग सुरक्षित छ ।