काठमाडौं, ६ फागुन । काँग्रेस वरिष्ठ नेता एवम् भावी सभापतिका उम्मेद्वार शेरबहादुर देउवाले सभापतिका अर्का सम्भावित उम्मेद्वार रामचन्द्र पौडेलसामु प्रधानमन्त्रीको कार्ड फालेका छन् । पौडेललाई भावी प्रधानमन्त्रीकोरुपमा अघि सार्दै देउवाले सभापतिमा आफूलाई सघाउन प्रस्ताव गरेका हुन् ।
बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले आफूले पौडेलसामु यस्तो प्रास्ताव राखिसकेको जानकारी गराए । यद्यपी पौडेल भने सभापति बन्न संस्थापन पक्षको सर्वसम्मत उम्मेद्वार बन्ने कसरतमा छन् ।
‘म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ,’ देउवाले संचारकर्मीसँग भने, ‘सहमतिकै लागि रामचन्द्रजीलाई प्रधानमन्त्रीमा सहयोग गर्न म चाहन्छु ।’
अहिलेका राष्ट्रिय मुद्दा सम्वोधन गर्न र पार्टीलाई एक ढिका आफ्नो उम्मेद्वारी हुने देउवाको स्पष्टोक्ति थियो ।
देउवासँगै रहेका काँग्रेस केन्द्रीय नेता विमलेन्द्र निधिले सबै राजनीतिक शक्तिलाई मिलाएर अघि बढाउन सक्ने क्षमता र लचकता भएको नेताको रुपमा देउवालाई पेश गरे ।
यसैबीच पार्टी सभापतिका अर्का प्रतिस्पर्धी कार्यबाहक सभापति रामचन्द्र पौडेलले पनि आजै सञ्चारकर्मीहरुमाझ आफ्नो धारणा राख्दैछन् ।