दियोपोस्ट संवाददाता,
धादिङ, ८ फागुन । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङमा रमिता छ । भूकम्प आएको मौकामा दाताहरुले दिएको लाखौँ रुपैयाँ झ्वाम पार्ने जिल्ला शाखा धादिङका सभापति सहितका पदाधिकारी फेरी रेडक्रसकै नेतृत्व हत्याउन चक्रव्युहमा लागेका छन् ।
कुनै समय नेपाल रेडक्रस सोसाइटीको अनियमितता बाहिरिएपछि केही समयलाई केन्द्रीय कोषाध्यक्ष समेत बनेका जिल्ला समापति सिताराम कोइरालाले आफू फेरी सभापति बन्न लिखित सहमति नै गरेको पाइएको छ ।
२०७१ सालमा तत्कालिन एमाओवादीले लिखित निर्णय गरेरै सभापतिमा उम्मेवार बनाएका कोइराला ५ वर्षसम्म निरन्तर सभापति छन् । आगामी चार वर्षे कार्यकाल समेत हत्याउन दाउमा उनले लिखित सहमति गरेको खुलाशा भएको छ ।
दियोपोस्टले प्राप्त गरेको पत्र अनुसार आजदेखि शुरु भएको रेडक्रसको साधारण सभामा उनले आफूलो सभापति बनाउन रेडक्रसकै पदाधिकारीबीच सहमाति गरेका छन् ।
उनीहरुबीचको लिखित सहमतिमा कोइरालाले उपस्थिति जनाएपनि हस्ताक्षेर भने गरेका छैनन् ।
‘नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार हाल दशौं अधिवेशनबाट सिताराम कोइरालालाई सभापति पदमा निर्वाचित गराउने,’ निर्णयमा भनिएको छ । त्यस्तै आगामी ३० औँ साधारण सभाबाट भने सभापतिमा हालका उपसभापति नारायण तिमल्सेनालाई जिताउने सहमति समेत भएको देखिन्छ ।
रेडक्रस जिल्ला शाखामा विभिन्न अनियमितता भएको सार्वजनिक हुँदा पनि उनीमाथि कारबाही भने हुनसकेको छैन ।
सभापतिको कार्यकाल लम्ब्याउन विभिन्न चालबाजी गर्दै आएका कोइरालाले यसअघि हुने भनेको साधारण सभा समेत राकेका थिए ।
कोईरालाले अर्को सहमति पत्र समेत बनाएको एक सदस्यले बताए । रेडक्रस स्रोतका अनुसार आफ्नो पक्षमा बनेको उक्त सहमति पत्रमा भने कोइरालाको हस्ताक्षर छ ।
भूकम्पको समयमा करिब ६ लाख रुपैयाँ हातपारेका कोइरालाले लाखौं आर्थिक अनियमितता गरेको रेडक्रसकै कर्मचारी बताउँछन् ।