शिक्षिकाहरुले धानेको दुर्गा भवानी प्रा.वि.

दियोपोस्ट संवाददाता  

बर्दिया। बर्दियाको राजापुर नगरपालिका वडा न.९ मा रहेको दुर्गा भवानी प्रा.वि.मा सम्पुर्ण शिक्षकहरु महिला छन् । नाम नै दुर्गा भवानी, नारी शक्तिको नाम बाट राखिएको विद्यालयमा सम्पुर्ण कर्मचारीहरु पनि महिला मात्रै हुनु एक संयोग मात्र हो । वि.स. २०५७ सालमा स्थापना भएको यस विद्यालयमा २०७६ साल सम्म एकजना पुरुष शिक्षक कार्यरत थिए । सोही वर्ष उनको सरुवा भयो र त्यसपछि महिलाहरु मात्र कार्यरत छन ।
राजापुर नगरपालिकाले यस वर्ष दरबन्दी मिलान गर्ने भनेर सुचना निकाल्यो । भारतीय सिमा बाट नजिक पर्ने, केन्द्रबाट अलि टाढा र आवत जावतमा असहजता हुने देखेर होला एकजना महिलाको मात्र प्रधानाध्यापकका लागी निवेदन परेको थियो ।
दरबन्दी मिलानमा परेर विद्यालयमा सरुवा भई आएकी प्रधानाध्यापक पवित्रा अधिकारीले सबैजना महिला भएको विद्यालयमा आफुलाई नेतृत्व दिएर खटाए पछि सुधारका योजना सहित कार्यभार सम्हालेको बताएकी छिन् । ‘म विद्यालय सुधार लगायतका योजना बनाएर मेडमहरु सित छलफल चलाउने गर्दछु । उहाँहरुबाट थप सुझाव सहित सहयोग प्राप्त हुने गर्दछ ।’ शिक्षाको अवस्था राम्रो भएपनि खेलमैदानको अभावका बारेमा उनले गुनासो गर्दै भनिन् , ‘साना बालबालिकालाई नियमित अध्यापनका साथै खेलको माध्ययम बाट सिकाउँदा चाडै सिक्छन् तर हाम्रो खेलमैदान एकदमै सानो छ ।’

बाल विकासका २ वटा कक्षा सहित ५ सम्म पढाइ हुने यस विद्यालयमा कार्यालय सहयोगी देखी प्रधानाध्यापक गरी ९ जना महिला कर्मचारी रहेका छन ।
विद्यालय सुधारमा लाग्नका लागी सुरुवात आफै बाट गर्नु पर्छ भन्ने ठानेर शिक्षक आचारसंहिता लागु गरेर अनुशासित ढंगले अगाडी बढेको शिक्षिका पुनम चौधरीले बताइन । ‘हामी सबै कर्मचारीहरु समय अगावै विद्यालयमा पुग्छौँ । नियमित अभिभावकसंग भेटघाट गरी विद्यालय सुधारका योजना बनाएर काम गरिरहेका छौ ।’ उनले थपिन, ‘आफु बाटै सुरुवात गरेकाले होला अभिभावकहरुको पनि पुर्ण सहयोग प्राप्त भई रहेको छ ।’

स्थानीय गंगादेवी थारुका ९ बर्षीय छोरा कक्षा ५ मा अध्ययनरत छन । छोराको पढाइ बारे बुझ्न उनि नियमित जसो विद्यालय जाने गर्छिन् । गंगा देवीले भन्नुभयो,‘सबै शिक्षिका हरु महिला भएको र आमाले जस्तै माया गर्ने भएकाले होला छोरा घरमा बस्न मान्दैन ।’ उहाँले भन्नुभयो, ‘विद्यालयका सबै शिक्षिकाहरुले पढाउने र गृहकार्य मात्र दिने नभई विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने हुँदा विद्यार्थीहरु घरमा भन्दा विद्यालयमै रमाइलो मान्छन् । विद्यालय छोड्न मान्दैनन् ।’

विद्यालय नजिकै घर भएका गोपाल थारु टोलका (मुखिया) पनि हुन । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्यापनि घट्दै गएको अवस्थामा दुर्गा भवानी प्रा.वि.मा त्यस्तो नभएको उनले बताए । ‘उहाँहरुले मेहनत गर्नु भएको छ त्यसैले हामीहरुले आफना बच्चा उहाँहरुको जिम्मा लगाएका छौ ।’ उनल भने, ‘पढाइ राम्रो भएर नै विद्यार्थी संख्या बढेको छ ।  गत वर्ष भन्दा बढि बच्चाहरु छन ।’
महिलाहरु मात्र कर्मचारी भएको विद्यालय पुरै पालिकामा आफनो वडामा मात्र भएको बताउदै वडा नं ९ का अध्यक्ष विष्णु प्रसाद चौधरीले सबै शिक्षिका हरु विद्यालय राम्रो बनाउन लागेको बताए । ‘म बेला बेलामा अनुगमनमा जाने गर्दछु । सिमित साधन र स्रोतका बाबजुद शिक्षिका हरुले विद्यालयको अनुहार नै फेर्नु भएको छ ।’ प्रशंसा गर्दै वडाध्यक्ष चौधरीले भन्नुभयो, ‘उहाँहरुले प्रार्थनाकालमा गर्ने पि.टी.ले म एकदमै प्रभावित भएको छु । सबैजना शिक्षिका हरु मिलेर संगीतमय पि.टी. गराउनुहुन्छ । यसले बच्चाहरुलाई फुर्तिलो त बनाउँछ नै उनीहरु लाई अनुशासित हुन प्रेरणा पनि दिन्छ ।’

आफ्नो विद्यालय भारतीय सिमावर्ती क्षेत्रको नजिकै रहेको र यहाँका अधिकांश अभिभावक मजदुरी गर्नका लागी भारत तर्फ जाने गरको कटु सत्य सुनाउँदै प्र.अ. अधिकारीले स्कुल जाने उमेर समुहका बालबालिका पनि आमा बुवा संगै जाने गरेको बताउनुभयो । अब आउने वर्षहरुमा अभिभावक संग छलफल गरेर सो क्षेत्रका धेरै बच्चाहरुलाई स्कुल आउने वातावरण बनाउने योजना उहाँको छ ।
राजापुर नगरपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन जसमध्ये ३ वटा विद्यालयमा महिला प्रधानाध्यापकले नेतृत्व गरेका छन भने एउटा विद्यालयमा महिलाहरूमात्र कर्मचारी छन् ।