प्रचण्डले भने,‘हामी आम नेपालीलाई समृद्ध बनाउँछौं’

दियो पोस्ट  

 

काठमाडौँ, १८ फागुन । एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले आम नेपाली जनतालाई आर्थिकरुपमा सम्पन्न र समृद्ध बनाउने अभियान सुरु भएको बताएका छन् ।

माझी राष्ट्रिय मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा वर्ग धनी, अर्को वर्ग गरिब, एउटा जाति अधिकार सम्पन्न र अरु जाति अधिकारबिहीन हुने व्यवस्थाको अन्त्य भएको तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई समान अधिकार दिएको बताए ।

नयाँ संविधानमा व्यवस्था भएका सबै विषय लागू हुन नसकेको भए पनि क्रमशः लागू गर्दै जानुपर्नेमा जोड दिँदै उनले आफ्नो अधिकार प्राप्तिका लागि गरिने सङ्घर्ष जायज हुने र त्यसको नेतृत्वसमेत एमाओवादीले गरेको स्पष्ट पारे ।

अन्य जाति धर्म र वर्गका समुदायका पर्वलाई सूचीकृत गरिएको भए पनि माझी समुदायको ‘लदी पर्व’लाई सूचीकृत गराउने पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सरकार र उच्चस्तरीय राजनीतिक समितिमा उक्त प्रस्ताव लैजाने विश्वास दिलाए ।

कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले अल्पसङ्ख्यक समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन सरकारले विशेष कार्यक्रम ल्याउने बताए ।

उनले अल्पसङ्ख्यक समुदायको आर्थिक समृद्धिका लागि नीति, कार्यक्रम, योजनासहित अगाडि बढ्ने र त्यसका लागि सबैको सार्थक प्रयत्नको जरुरी रहेको स्पष्ट पारे । रासस