खुल्लामञ्चकाे एक खतरनाक भाषण – ‘ सबै नेपाली भारतीय हुन ?’

दियो पोस्ट  

bhagat sing koshiyari

काठमाडौं, २० फागुन । नेपालबारे विवादास्पद अभिव्यक्ति दिनेमा भारतीयहरु अग्रपंक्तिमा छन् । केही महिनाअघि भारतीय सांसद कृति आजादले मधेसको २२ जिल्लालाई भारतमा गाभ्नुपर्ने विवास्पद अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भएको थियो । त्यस्तै केही वर्षअघि भारतमा शरणार्थी जीवन विताइरहेकी बंगलादेशी लेखिका तसलिमा नसरिनले नेपाल भन्ने देश नै नरहेको र भारत भित्रै नेपाल पर्ने अभिव्यक्ति दिएपछि उनलाई त्रिभूवन विमानस्थलबाटै फिर्ता पठाइएको घटनासमेत त्यतिबेला  निकै चर्चामा थियो ।
विहीबार कांग्रेस महाधिबेशनको उद्घाटन समारोहमा एउटा भाषण निकै खतरनाक थियो । जुन भाषणको संकेत घुमाउरो रूपमा नेपाल भारतकै एउटा प्रान्त हो भन्न खोजिएको थियो । भगत सिंह कोशियारी जो भारतीय जनता पार्टीका प्रमुख नेता मानिन्छन् । उनै कोशियारीको भाषणको सार नेपाल भारतको एउटा अंश हो भन्ने थियो । त्यसको प्रतिवाद एमाओवादी अध्यक्ष बाहेक कसैले गरेनन् । कोशियारीले भाषणको सुरुवातमै आफू नेपाल होइन भारतमै बोले जस्तो लागेको बताएका थिए । ‘मुझे तो विल्कुल ऐसा लगरहे, मे नेपालमा नही भारतमे हुँ,’ उनले यसो भनिरहँदा कांग्रेस कार्यकर्ताले विरोध जनाएका थिए ।
उनले आफूले भनेअनुसार नेपालमा परिवर्तन भएको भन्दै नेपालको राजनीतिक परिवर्तनमा भारतको भूमिका ठूलो रहेको बताएका थिए । ‘म पछिल्लो महाधिबेशनमा आएको थिएँ, मैले भनेको थिएँ, नेपालका संविधान बन्नेछ, अहिले नेपाल परिवर्तन भएको छ, त्यो मैले ६ वर्ष अघि भनेको थिएँ,’ उनले भने, ‘संविधान बनेको छ, संविधानमा केही कमजोरी भएको पनि छ, सबै चीजमा कमजोरी हुनेगर्छ । त्यसलाई दूर गर्नुपर्छ ।’
‘म ज्योतिषी होइन तर भविष्यवाणी गरेर जाँदैछु’ भन्दै उनले नेपालले दुनियाँलाई ज्ञान  विज्ञान दिने भन्दै फूक्र्याएका थिए । जसरी भारतीय प्रधानमन्त्री मोदीले तत्कालीन नेपाल भ्रमणको बेला संविधानसभाको भवनमा फूक्र्याएका थिए । उनले पछिल्लो दिन नेपालको मधेसमा चलेको आन्दोलन स्वभाविक भएको बताए । ‘पछिल्लो दिन नेपालमा आन्दोलन चल्यो, यो भइरहन्छ,’ उनले भने, ‘हाम्रो उत्तराखण्डमा पनि आन्दोलन चलिरहेको छ । तर अन्त्यमा सत्यको विजय हुनेछ ।’
भारतीय जनता पार्टीका अध्यक्ष अमित साह र प्रधानमन्त्री मोदीले शुभकामना सन्देश पठाएको भन्दै उनले आफू नेपाली मूलको भारतीय नागरिक भएको बताएका थिए । ‘हरेक भारतीय नेपाली हो । हरेक नेपाली भारतीय हो,’ उनले भने, ‘हामी सबै एक हौं, देश दुई हो । एकले अर्कोलाई विगार्न सक्दैनन् तर जनता एकै हुन् ।’
कोशियारीको यो अभिव्यक्तिको सार हरेक नेपाली भारतीय हुन् भन्ने बुझीन्छ । उनले खुल्लामन्चबाट यस्तो भनेपनि नेताहरुले कुनै प्रतिवाद गरेनन् । एशियाकै सबैभन्दा पुरानो देश हो नेपाल । जतिबेला भारतको अस्तित्व थिएन तर नेपालको आफ्नै पहिचान थियो । तर हाम्रा नेताहरुले त्यसको कुनै प्रतिवाद गरेनन् । ‘हाम्रो देशमा आएर एउटा भारतीय नेताले हरेक नेपाली भारतीय हुन् भन्दा हाम्रा नेताहरु केही बोल्दैनन्,’ कार्यक्रम स्थलमै एक पत्रकार भन्दै थिए, ‘के हाम्रा नेता हरेक भारतीय नेपाली हुन् भन्न सक्छन ? हामी यो दास मानसिकतामा कहिलेसम्म बाँच्ने ?’
कूटनीतिक क्षेत्रका एक हस्ति कोशियारीको भनाइ निकै खतरनाक भएको बताउँछन् । ‘उहाँले नेपालमा आएर यस्तो भन्नु हाम्रो लागि निकै लाजमर्दो कुरा हो,’ उनले भने, ‘उनको यो भनाइले भारत नेपाललाई कस्तो मित्र देख्न चाहान्छ भन्ने बुझाउँछ । भारतीय जनता पार्टीका वरिष्ठ नेता भएको कारण उनको भाषणले डरलाग्दो संकेत गर्छ ।’
कोशियारीले हामी सबैलाई आफ्नो मान्छौं भन्दै नेपाल भारत रेल मार्ग जोड्ने प्रस्ताव प्रधानमन्त्री मोदी समक्ष राखेको बताएका थिए ।
आफ्नो भनाइ सिध्याएर निस्कन लागेका कोशियारीलाई एमाओवादी अध्यक्ष प्रचण्डले रोकेका थिए । ‘उहाँ आफ्नो कुरा गरेर जान लाग्नुभएको थियो मैले पख्नुस् मेरो कुरा सुनेर जानुहोला भनेर राकेँ,’ प्रचण्डले मन्तव्यको क्रममा भने, ‘म उहाँ मार्फत भन्न चाहान्छु, नाकाबन्दी बेहोर्नुपर्ने हामीले के गल्ति ग¥यौं ? ईतिहास नदोहोरियोस् ।’

TATA ADD