सभापति बन्न ११ मतले रोकिए देउवा

दियो पोस्ट  

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापति हुनबाट ११ मतका कारण रोकिएका छन् । तर अन्य दुइ जना प्रतिस्पर्धी भन्दा बढी मत ल्याएका छन् ।
अब दोस्रो चरणको निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । अर्का उम्मेदार कृष्ण सिटौला भने निर्वाचनबाट बाहिरीएका छन् ।
आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । जस मध्ये १ सय १ मत भने बदर भए । कांग्रेसको विधानमा सभापति हुन बुहमत भन्दा पनि ५१ प्रतिशत ल्याउनु पर्ने व्यवस्था छ । त्यसकालागि देउवालाई विजयी हुन १ हजार ५७५ मत चाहिन्थ्यो ।
तर, देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएका छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् ।
देउवा र पौडेलबीच हुने प्रतिस्पर्धामा ५१ प्रतिशत मत नल्याए पनि जसले बढी मत ल्याउँछ, उही विजेता हुने कांग्रेसको विधानमा व्यवस्था छ ।