नेपाल ‘एक चीन’ नीतिप्रति पूर्ण प्रतिबद्ध – प्रम ओली

दियो पोस्ट  

बेइजिङ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताएका छन् ।

चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आज आयोजित ‘वान बेल्ट–वान रोड इनिसिएटिभ्स’ को सन्दर्भमा दुई मुलुकबीचको सम्बन्ध विषयको एक विद्वत गोष्ठीलाई सम्बोधन गर्दै उनले दुई मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको उल्लेख गरे। उनले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई मुलुकको स्थिर मित्रता निर्देशित रहेको छ भने ।

प्रधानमन्त्री ओलीले भने– “त्यसैगरी, नेपालको सार्वभौमिकतालाई जनगणतन्त्र चीनले सम्मान दर्शाउँदै आएको छ र नेपालको विकास प्रयासलाई सघाउँदै आएको छ । हाम्रा दुई मुलुक सुख र दुःखका बेलाका सदाबहार मित्र हुन् ।”

नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाहरुका लागि चीनबाट प्रदत्त उदार सहायताले नेपालको विकास प्रयासलाई सघाएको विचार व्यक्त गर्दै उनले चिनिया कम्पनीहरुको लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगमा उनीहरुको गतिशील संलग्नताले नेपालको विकासलाई गति प्रदान गरेको भएपनि आर्थिक सहयोगलाई थप उचाइमा लानुपर्नेमा जोड दिए।

चीन नेपाली विद्यार्थीका लागि एउटा सुगम र महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएको बताउँदै उनले भने– चीनमा अध्ययनरत नेपाली विद्यार्थीको बढ्दो सङ्ख्याले ज्ञानको आदानप्रदान, सिप विकास र साझा भविष्यको सम्भाव्यतालाई चहकिलो बनाएको छ ।
उहाँले भने – “अल्पविकसित अर्थतन्त्रयुक्त भूपरिवेष्टित राष्ट्र नेपालसामु मुलुकलाई समृद्ध बनाउने थुप्रै चुनौतीहरु विद्यमान छन् । हामीलाई लगानी अभिवृद्धि गर्न, स्रोत उपयोग गर्न, प्रविधि र नवीन रणनीतिहरुको विकास गर्न जरुरी छ । लगानीले हाम्रा बाध्यतालाई सहज बनाइदिनेछ, स्रोतले उत्पादनशील आधार खडा गर्ने छ र प्रविधिले विकासलाई गतिवान् बनाइदिनेछ ।”

औद्योगिक आधारलाई फराकिलो पार्न र कृषिलाई आधुनिकीकरण गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताउँदै अाेलीले उद्योगलाई इन्धनका रुपमा आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न र जलस्रोतको अधिकतम उपयोग गर्न आफूहरु कटिबद्ध रहेको जानकारी दिए।

लगानीका लागि नेपाली बजार खुला रहेको बताउँदै उनले भने– “भूबनोटका कारण सिर्जित अवरोधलाई वन बेल्ट वन रोड अभियानले सहज पार्ने मेरो विश्वास छ ।’’

सन् २०१५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हीरक जयन्ती मनाइएको स्मरण गर्दै उनले विगतका ती मित्रतापूर्ण वर्ष र दशकहरुमा सँगै मिलेर अवसरहरु पहिल्याएको, साझा आकाङ्क्षालाई मूर्त रुप दिन प्रतिबद्धता व्यक्त गरेको र खाँचो परेका बेला सहयोग आदानप्रदान गरेको स्मरण गरे।

उनले भने– ‘‘वन बेल्ट वन रोड अभियान समृद्धिको सहयोगात्मक आयामहरु भेटाउने, साझा सरोकारलाई मुखरित गर्ने र सहयोगलाई गहिरो बनाउने सम्पर्क स्थापित गर्ने हाम्रा सम्भाव्यताहरुको ढोका खोल्ने मुख्य कदम हो ।”

प्रधानमन्त्री ओलीले भने – “यो अभियानबाट अघि बढ्दा चिनियाँ राष्ट्रपति सि जिन पिङले भन्नुभएको ‘साझा गन्तव्यका समुदाय’ लाई अन्ततः भेट्टाउन हामीले अनगिन्ती छालहरुलाई पार गर्नुपर्ने हुन्छ ।”

सम्बन्धित खबर