इटहरी, १० चैत । पूर्वको पर्यटकीय सहरका रुपमा परिचित धरान उपमहानगरपालिकामा एक सयको हाराहारीमा प्याराग्लाइडिङका सौखिन उड्ने भएका छन् ।
नेपालकै पर्यटकीय क्षेत्रमध्येको पोखरापछि प्याराग्लाइडिङका लागि राम्रो मानिएको धरानको आकाशमा यही चैत १२ देखि १४ गतेसम्म साहसिक प्याराग्लाइडिङ खेल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
पूर्वी नेपालको पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पूर्वमा नै पहिलोपटक चौथो माउन्टेन स्पोर्टस फेस्टिवलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा यति धेरै सङ्ख्यामा खेलाडीले सहभागिता गराउन लागिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना तथा एक्सट्रिम धरानको संयोजनमा धरानमा चौथो माउन्टेन स्पोर्टस फेस्टिभलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपको अन्तिम तयारी पूरा भएको पत्रकारसम्मेलनमा बताइएको छ ।
विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडानसमेत सुरु भएको छ । स्काई एडभेन्चर प्रालिले गत असोजदेखि धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरेसँगै धरानमा साहसिक खेल पर्यटकको आगमन सुुरु भएको एक्सट्रिम धरानका अध्यक्ष तथा कार्यक्रमका संयोजक लेखमणि जिमीले बताए।
प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पोखरामा मात्रै केन्द्रित प्याराग्लाइडिङलाई अब पूर्वमा विस्तार गर्न सहयोग पुग्ने व्यवसायी बताउछन् ।
प्रतियोगितामा पहिलो हुनेले नगद २५ हजार, ट्रफी र मेडल तथा दोस्रो हुनेले नगद १५ हजार, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले बताए।