काठमाडौं, १४ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा भक्तपुर पूर्वअध्यक्ष कृष्ण प्रसाद ताम्राकारको ‘ठगीधन्दा’को संरक्षणमा भक्तपुर उद्योग वाणिज्य संघ नै लागिपरेको छ ।
दियोपोस्ट डटकममा ताम्राकारले भक्तपुरकै स्थायी बासिन्दा शरु महत र उनका पति मनसुन विक्रम शाह ‘मणि’लाई होटल यातुको शेयर दिएर १ करोड १५ लाख रुपैयाँ ठगी गरेको विषयमा लामो अनुसन्धानपछि ठगी भएको सबै प्रमाणसहित समाचार प्रकाशन भएको थियो । समाचारको श्रङखला प्रकाशन भएपछि आफ्नो बचाउ गर्ने क्रममा ताम्राकारले उद्योग वाणिज्य संघकै ‘लेटर प्याड’मा समाचारको खण्डन गरेका छन् ।
सामान्यतया प्रकाशित समाचारको खण्डन सम्बन्धित मिडिया हाउसबाटै गर्नुपर्ने प्रावधान छ । तर, ताम्राकारले भने उद्योग वाणिज्य संघ भक्तपुरकै लेटर प्याड दुरुपयोग गरेर आफ्नो बचाउ गरेको एक सदस्यले दियोपोस्टलाई बताए ।
विज्ञप्तिमा ताम्राकार र सरु महत तथा उनका पति मनसुन विक्रम शाहबीचको लेनदेन मुद्दा जिल्ला अदालतमा विचाराधिन रहेको उल्लेख गरिएको छ । तर, पीडित दम्पत्तिका अनुसार जिल्ला अदालत र उच्च अदालत पाटनमा ताम्राकारले दायर गरेको निषेधाज्ञा मुद्दा खारेज भएर नै ताम्राकारलाई अपराध महासाखा र सिआइबीले पटक पटक पक्राउ गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।
२०७४ साल चैत्र ६ गते पीडित मनसुन दम्पत्तिले सिआइबीमा जाहेरी दिएका थिए । जाहेरी पश्चात पक्राउ परेका ताम्राकारले आफूले १ हप्ता भित्रै ठगी गरेको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएर बाहिरिएका थिए । सिआईबीमा भएको छलफलको अडियो रेकर्ड समेत दियोपोस्टसँग सुरक्षित रहेको छ । तर, ताम्राकार सिआइबीको सम्पर्कमा आउनुको सट्टा फरार भएका थिए ।
चैत्र अन्तिममा सिआइबीले पक्राउ गरी महाराजगन्जमा चार घण्टा नियन्त्रणमा राखेको थियो ।
छलफलमा ताम्राकारले सरु महत दम्पत्तिलाई एक हप्ता भित्र रकम दिन्छु भनेको तर रकम नदिएपछि सिआइबीले आवश्यक कारबाहीका लागि भक्तपुर परिसरमा पठाएको थियो । तर, परिसरका तत्कालिन एसपी प्रहरी प्रमुख किरण राणाले मुद्दा चलाउनुको सट्टा ‘केपी दाई त्यस्तो मान्छे होइन, सिआइबीको चिठी आएपनि थुन्नुपर्ने आवश्यक म देख्दिनँ’ भन्दै छाडिदिएकी थिइन् ।
दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार भक्तपुर कमलविनायकका स्थायीबासिन्दा ताम्राकारले २०७५ वैशाख २५ मा आफूलाई पक्राउ नगर्न र धरपकड गर्ने प्रहरी प्रशासन विरुद्ध निषेधाज्ञा जारी गरी पाउँ भन्दै पाटन उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले तीन दिनपछि वैशाख २८ मा निषेधाज्ञा जारी गरेको थियो । तर, सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा ३ बमोजिम ठगी मुद्दामा फौजदारी कानुन आकर्षित हुने भएकाले पाटन उच्च अदालतले जेठ १४ गते ताम्राकारले माग गरेको निषेधाज्ञालाई न्यायाधीशहरु रेवन्त बहादुर कुँवर र रामप्रसाद अधिकारीको संयक्त इजलाशले निरन्तरता दिइरहनु नपर्ने र प्रहरीले आफ्नो कारबाही अघि बढाउन पाउने भन्दै ताम्राकारको निषेधाज्ञालाई भ्याकेट गरिदिएको थियो ।
सो भ्याकेटको आवश्यक कागजात प्रहरी परिसर भक्तपुर र प्रहरी केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीलाई समेत अदालतले पठाएको थियो । पाटन उच्च अदालतको भ्याकेट भएको पत्र पश्चात प्रहरी परिसर भक्तपुरले ताम्राकारलाई ठगी मुद्दामा कारबाही अघि बढाउनु पर्ने भएता पनि प्रहरीले अदालको आदेशलाई समेत लत्याएका थिए ।
निषेधाज्ञा भ्याकेट भएपछि ताम्राकारलाई पुन महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाले जेठ २४ गते पक्राउ गरी मुद्दा चलाउन भक्तपुर प्रहरी परिसर पठाएको थियो । दियोपोस्टलाई प्राप्त अडियो रेकर्डमा ताम्राकारलाई जोगाउन अंगद खड्का नाम गरेका व्यक्तिले पीडित मनसुन शाहलाई फोन गरेका छन् । ‘परिसरबाटै ‘केपी’ दाइलाई निकाल्नु पर्यो । तपाईंलाई कति करोड दिनुपर्ने हो दिनुहुन्छ,’ अंगदको भनाई उदृत गर्दै मनसुनले भने,‘मलाई पैसा होइन न्याय चाहिएको हो ।’
भक्तपुर प्रहरीका एसपी हिमालय श्रेष्ठले ताम्राकारलाई मुद्दा चलाउनुपर्नेमा उल्टै महानगरीय प्रहरी अपराध महासाखामा फिर्ता गरेका थिए । पीडित मनसुन, उनकी पत्नि सरु महत र सरुका मामा रदिप महतका अनुसार त्यतिबेला ठग ताम्राकारलाई छुटाउन सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बस्नेत प्रहरी परिसरमै पुगेका थिए । बस्नेतले अपराध महासाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहलाई ‘जागिर खाइदिने’ धम्की दिएको बताइएको छ ।
बस्नेतको धम्कीपछि ७ दिनभित्र हाजिर गराउने गरी ताम्राकार अपराध महासाखाबाट पनि छुट्न सफल भएका थिए । प्रहरीलाई छक्याउन सिपालु ताम्राकारले अपराध महासाखालाई पनि ढाँटे र एक हप्तापछि हाजिर नै भएनन् ।
गत असार ३ गते गृहमन्त्रालयले भक्तपुर प्रहरीलाई ठग ताम्राकारलाई मुद्दा दर्ता गरी कारबाही अगाडी बढाउन निर्देशन दिएको थियो । तर, भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले गृहमन्त्रालयको निर्देशन समेत लल्त्याइदिए । उनले चौतर्फी दबावपछि असार २४ गते मात्रै ताम्राकार विरुद्ध ठगीको जाहेरी दर्ता गरेका थिए । जाहेरी दर्ता भएको १० महिना पुग्न लाग्दा पनि प्रहरीले ताम्राकारलाई पक्राउ गर्न भने सकेको छैन ।
अनौठो त के छ भने उच्च अदालत पाटनले खारेज गरेको रिटलाई जिल्ला अदालत भक्तपुुरले पुन आदेश गरेको पाइएको छ । दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार गत असार ३२ गते जिल्ला अदालत भक्तपुरका न्यायाधीश मातृका प्रसाद मरासनीले ताम्राकार विरुद्ध ठगी मुद्दा चलिरहँदा ‘देवानी प्रकृतिको’ विवाद भन्दै पक्राउ नगर्न आदेश दिएको पाइएको छ ।
तर, जिल्ला अदालतको आदेश गैरकानुनी भन्दै मनसुन दम्पति पुनः उच्च अदालत पाटन पुगेका थिए ।
उच्च अदालत पाटनले जिल्ला अदालत भक्तपुरको आदेशमा ‘देवानी दायित्वको विषयमा धरपकड नगर्नु भन्ने आदेश दिए पनि प्रहरीले भने देवानी मुद्दामा नभई ठगी मुद्दा चलाएको थियो । ठगी मुद्दामा फौजदारी कानुन आकर्षित हुने भन्दै प्रहरीले उच्च अदालतलाई पत्राचार नै गरेको थियो ।
‘भक्तपुर जिल्ला अदालतबा मिति २०७५।०४।२० मा जारी अन्तरिम आदेशमा देवानी दायित्वका विषयमा विपक्षीलाई गिरफतार नगर्नु भन्ने उल्लेख भई फौजदारी अपराध सम्बन्धमा अनुसन्धान तहकिकात गर्ने कार्य उपर रोक लगाइएको नपाइएको, महानगरीय प्रहरी अपराध अनुसन्धान तथा कारबाही महासाखाबाट प्राप्त च.नं. ९४२ मिति २०७५।०६।१० को पत्रबाट मिति २०७५।०३।२४ मा दतौ मा दर्ता भएको जाहेरीका सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको भन्ने ब्यहोरा उल्लेख भएको परिप्रेक्षमा ताँहा अदालतबाट मिति २०७५।०४।२० मा जारी भएको अन्तरिम आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहन परेन कानुन बमोजिम शिघ्र निषेधाज्ञा र लगाउनका मुद्दामा कारबाही किनारा गर्नुहोला,’ उच्च अदालत पाटनका न्यायाधीश रमेश पोखरेल र अग्नि प्रसाद थपलियाको संयुक्त इजलाशको आदेशमा भनिएको छ ।
गत मंसिर २० गते भएको यो आदेशले भक्तपुर जिल्ला अदालतले हुँदै नभएको मुद्दामा आदेश दिएको पाइएको थियो । प्रहरीले देवानी मुद्दामा नभई फौजदारी मुद्दामा कारबाही अघि बढाएको जवाफ दिएको थियो । तर, एक पटक उच्च अदालतले खारेज गरिदिइसकेको मुद्दालाई ‘तोडमोड’ गरि आदेश गर्ने भक्तपुर जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासनीलाई कारबाही गर्नुपर्ने माग नेपाल बार एशोसियशनमा समेत उठेको छ । उनी विरुद्ध न्याय परिषदमा उजुरी गर्ने तयारी समेत पीडितको छ ।
सोही उच्च अदालतले खारेज गरिदिइसकेको मुद्दा लिएर ताम्राकारले भक्तपुर प्रहरी परिसरलाई दुरुपयोग गरिरहेको बताइएको छ ।
उद्योग वाणिज्य संघ भक्तपुरले सोही खारेज भएको मुद्दालाई आफ्नो विज्ञप्तिमा ‘अदालतको अन्तरिम आदेश’ भन्दै दुरुपयोग गरेको अदालती कागजातबाटै पुष्टि हुन्छ ।
ताम्राकारको झूटको पर्दा यतिसम्म छकी उनले उच्च अदालतले २०७५ जेठ १४ गते उनको निषेधाज्ञा भ्याकेट गरिदिएको थियो । त्यसपछि प्रहरीले पुन पक्राउ गर्ने डरले उनले सो मुद्दालाई जालसाँझीपूर्वक परिवर्तन गरी ‘हरहिसाब गरिपाउँ’ भन्दै जिल्ला अदालत भक्तपुरमा २०७५ साल जेठ ३ गते मुद्दा दर्ता गरे । उनको मुद्दा नम्बर 074–ccp1356 रहेकाे छ ।
विज्ञप्तिमै ‘निराधार’ आरोप !
विज्ञप्तिमा पीडित मनसुन विक्रम शाहले भक्तपुरका अन्य व्यावसायीलाई ‘जापानी नागरिक’ भन्दै ठगी गरेको उजुरी वाणिज्य संघमा आएको आरोप लगाइएको छ । तर, पीडित मनसुन शाहले संघको विज्ञप्तिमा लगाइएको आरोप झूटो र कपोलकाल्पित रहेको बताए ।
‘जापानी नागरिक हुँ भन्दैमा कसैले पैसा दिन्छ र ठगी हुन्छ ? म विरुद्ध उजुरी गर्ने निकाय उद्योग वाणिज्य संघ हो र ? मैले केही गल्ति गरेँ भने त्यसका विरुद्ध जाने भनेको सम्बन्धित सरकारी निकाय हुनसक्छ । उद्योग वाणिज्य संघले मुद्दा मामिला हेर्ने अधिकार कहाँबाट पायो ?’ मनसुनले प्रश्न गरे,‘यो आफ्नो ठगीधन्दालाई अन्यत्र मोड्ने दुष्प्रयास हो । ठगीधन्दालाई संरक्षण गर्ने दाउपेच हो । उद्योग वाणिज्य संघकै लेटरप्याडमा यस्तो आरोप लगाउन पाइन्छ ? उहाँहरुसँग के प्रमाण छ ? उद्योग वाणिज्य संघ भनेको स्वतन्त्र हुनुपर्ने होकी ताम्राकारको नीजि कम्पनी हो ?’
मनसुनले आफ्ना विरुद्ध विज्ञप्ति निकाल्ने भक्तपुर उद्योग वाणिज्य संघले आरोप प्रमाणित गर्नु पर्ने र प्रमाण सहित नियामक निकाय पुगे आफू नेपालको कानुन अनुसार जस्तो सुकै सजायँ भोग्न तयार रहेको बताए । अन्यथा आरोप झूटो भए उद्योग वाणिज्य संघ भक्तपुरका पदाधिकारीले कारबाही भोग्नु पर्ने उनले चेतावनी दिए ।
‘यसअघि मलाई र मेरो श्रीमतीलाई न्याय दिन नसक्ने प्रहरीकै अगाडी नक्कली जाहेरकर्ता खडा गरिएको थियो । नक्कली जाहेरीकर्ता मुक्तिसन्दर जद्दारीलाई खडा गरी हामीलाई फसाउने षडयन्त्र भएको थियो,’ मनसुनले भने,‘यसैगरी उद्योग वाणिज्य संघकै मान्छेको मिलेमतोमा फेरी नक्कली जाहेरी खडा गर्ने षडयन्त्र त हुँदैछैन ?’
यो पनि पढ्नुहोस्