काठमाडौ, १० चैत । उप–प्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गरेका छन् ।
स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नु हुँदैन । भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनु पर्छ । छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाईदा हुन्छ । त्यसैले भारतपनि यो सम्झौताले खुसी छ ।’
उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको ब्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाट समेत तेस्रो मुलुकसँगको ब्यापार गर्न पाउने ब्यवस्था भएकोले यसले मुलुकको दिर्घकालिन रुपमा फाईदा गर्ने बताए ।
ईन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन । तेलको मुल्य,ढुवानी, कर लगायतका प्राविधिक कारण टुङगो लागि नसकेकोले मात्रै अहिले सम्झौता हुन नसकेको हो ।’
उनले छिमेकीहरुसँग पारस्परिक हित, लाभ र समानतामा आधारित रहेर सम्बन्धलाई अझै फराकिलो र गहिरो बनाउन लागि परेको दावी गर्दै चीनसँग भएको सम्झौता नेपालको आर्थिक विकास र दुई मुलुकको सम्बन्धलाई अझै गहन बनाउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । उनले भने,‘ यो सम्झौता ऐतिहासिक र दिर्घकालिन प्रभाव पार्ने खालको छ । नेपाल सार्वभौम राष्ट्र भएकोले दिगो शान्ति, स्थायीत्व र विकासकोलागि सम्झौता गर्न सक्छ । यो नेपालको हितमा कोशेढुंगा सावित हुन्छ । ’
उनले भने नेपालले चीनसँग पारवहन सुविधान लिनु भारत विरोधी हुनु होइन । चीनसँग भएको सम्झौता कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्दै सम्झौता भएसँगै अब त्यसको कार्यान्वयनको प्रक्रिया सुरु भएको र त्यसकोलागि सबै एकजुट भएर लाग्नु पर्ने जोड दिए ।
मधेसी मोर्चासहितका दलहरुले चिनियाँ राजदुतलाई ज्ञापन पत्र बुझाउनु राष्ट्र हित र स्वार्थ विपरित काम भएको भन्दै नेपाली जनताको हितको लागि राजनीति गर्ने दलहरुले यस्तो गर्न नसुहाउने धारणा ब्यक्त गरे ।