सिंहदरबारमा आम नागरिकको पहुँचको माग

दियो पोस्ट  

काठमाडौँ, १४ चैत । देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारमा आम नागरिकलाई सहज पहुँच दिनुपर्ने माग गर्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गरिएको छ ।

फ्रिडम फोरमका अध्यक्ष एवम् सूचनाको हकका अभियन्ता तारानाथ दाहालले राष्ट्रिय सूचना आयोगमा सिंहदरबारभित्र आम नागरिकको प्रत्यक्ष सरोकार र सम्बन्ध रहेका सूचना सार्वजनिक गर्नुपर्ने माग गर्दै आज उजुरी दर्ता गराएका छन् ।

सार्वजनिक निकायबाट सेवा प्राप्त गर्न तथा आफ्नो र सार्वजनिक सरोकारको विषयमा सूचना प्राप्त गर्न तथा नीति योजना कार्यक्रमजस्ता विषयमा आफ्नो सरोकार, मत र सहभागिता प्रकट गर्न सर्वसाधारणलाई सहज पहुँच नभएको भन्दै उनले आयोगमा उजुरी दर्ता गराउनु परेको बताए ।

उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संसद् सचिवालयलाई समेत दिइएको छ ।

सिंहदरबार प्रवेशकै लागिसमेत दलाल बिचौलिया, राजनीतिक दलका नेता कार्यकर्ता र कर्मचारीको सहारा खोज्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै अभियन्ता दाहालले यसबाट नागरिकले सूचना प्राप्त गर्न पाउने मौलिक हकसमेत बन्देज भएको निवेदनमा उल्लेख गरेका छन्।

अहिले सिंहदरबारको दक्षिण ढोकाबाट मात्र सर्वसाधारण नागरिकले परिसरभित्रका कुनै कार्यालयको अनुमति प्राप्त गरी नागरिकताको प्रमाणपत्रका आधारमा निश्चित समयमा प्रवेश पाउँदै आएका छन् ।

सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित दुई दर्जनभन्दा बढी मन्त्रालय, राष्ट्रिय योजना आयोग, संसद् सचिवालय, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यम तथा अन्य विभिन्न राष्ट्रिय महत्वका विभाग, कार्यालय र विभिन्न अस्थायी प्रकृतिका आयोग, कार्यदल र समिति समेतको कार्यालय छ

सम्बन्धित खबर