चार दिनदेखि महिलाको शव अलपत्र

चार दिनदेखि महिलाको शव अलपत्र

ताप्लेजुङ, १६ चैत । जिल्ला अस्पताल ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा रहेको छ ।

शेर्पा थरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएपछि शव बुझ्न अहिलेसम्म कोही नआएकाले चार दिनदेखि शव अलपत्र अवस्थामा रहेको हो ।

उपचारकै क्रममा मृत्यु भएपछि प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शवलाई अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए ।
पण्डितका अनुसार चैत ११ गते जिल्लाको निघुरादिन–२ का एक स्थानीयको गाई गोठमा बिरामी अवस्थामा स्थानीयले फेला पारे पछि स्थानीयको सहायतामानै अस्पतालमा ल्याई उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको तीन दिनमा शनिबार दिउँसो ती महिलाको उपचारकै क्रममा ज्यान गएको हो ।

अस्पताल भर्नाका क्रममा ती महिलाले आफ्नो नाम फुर्वा शेर्पा रहेको र ढुङ्गेसाँघु–४ मा घर रहेको बताएकी थिइन् । तर अहिले ती महिलाले बताएअनुसार खोजी गर्दा कोही आफन्त नभेटिएको प्रहरीले जनाएको छ ।

हालसम्म मृतकका आफन्त कोही नआएपछि प्रहरीले हुलियासहित सूचना निकालेर हकवालालाई शव बुझ्न आग्रहसमेत गरेको छ ।

Trending News