काठमाडौँ, १६ चैत । नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) को १४औँ राष्ट्रिय अधिवेशन आगामी चैत १९ र २० गते काठमाडौँमा हुने भएको छ ।
‘प्राकृतिक प्रकोपमा महिला स्वास्थ्य भन्ने नाराका साथ अधिवेशनमा नेपालमा गत वैशाखको भूकम्पले महिला र गर्भवती महिलामा पारेको असरका बारेमा छलफल हुने नेसोगका अध्यक्ष डा लता बज्राचार्यले बताइन ।
उनले भनिन– “भूकम्प र नाकाबन्दीका कारण धेरै महिलाको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । विशेषगरी गर्भवती महिला यसको मुख्य सिकार भएकाले उनीहरुको प्रजनन स्वास्थ्यमा पारेको असर र समाधानका विषयमा यो अधिवेशन केन्द्रित रहनेछ ।”
अधिवेशनका अवसरमा नेसोगले आजदेखि १८ गतेसम्म तीनदिने इन्डोस्कोपी सर्जरी र १८ गते सर्ब फर्टिलिटीसम्बन्धी पूर्व कार्यशाला गोष्ठी गर्ने उहाँले बताउनुभयो ।
उक्त गोष्ठी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हुनेछ । अधिवेशनमा देशभित्र र बाहिरका गरी करिबको ४०० को सहभागिता रहने बताइएको छ ।
हाल यो संस्थामा करिब ४०० जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ स्थायीरुपमा आबद्ध छन् । यसको स्थापना सन् १९८९ मा भएको हो ।
प्रजनन तथा महिला स्वास्थ्यसम्बन्धी राष्ट्रियस्तरमै सक्रियरुपमा पेसागत गतिविधि गर्दै यो संस्था अन्तर्राष्ट्रि«य पेसागत संस्थामा समेत संलग्न रहेको अध्यक्ष बज्राचार्यले बताए ।