एमाओवादी प्रवक्ताले नै भने, ‘सरकारको काम कछुवाको गतिजस्तै’

diyopost.com
diyo sudip  बुधबार, चैत्र १७, २०७२ | १२:३३:४९

भक्तपुर, १७ चैत । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले वर्तमान सरकारको काम कछुवाको गतिजस्तै अगाडि बढेको बताएका छन् ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षातकार कार्यक्रममा उनले वर्तमान सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै सरकारले जनताको हितमा काम गर्न नसकेको धारणा राखेका छन्।

उनले काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तनको विषय हल्लामात्र भएको बताउँदै यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शीर्ष नेता लागिपरेको बताए।

मधेस आन्दोलनका जायज मागका सम्बोधन नगरे स्थानीय निकायको निर्वाचन असफल हुने भन्दै उनले सङ्घीयता र सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको टिप्पणी गरे।

प्रवक्ता शर्माले सरकारले कालो बजारीलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै नेपाल आयल निगम र सरोकारवालाले नै इन्धनको अभाव सिर्जना गरेको र सरकार मुकदर्शक मात्र बनेको बताए ।

सम्बन्धित खबर