रत्ननगर (चितवन), १८ चैत । नेपाल निर्माण व्यवसायी महासङ्घको सर्वोच्च सम्मान मानिने ‘गौरव अवार्ड’ काठमाडौँका पुराना निर्माण व्यवसायी गणेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
चितवनको रत्ननगरमा जारी केन्द्रीय साधारणसभाका क्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । यो सहित २८ विधामा विभिन्न व्यक्तिलाई सम्मान वितरण गरिएको महासङ्घको पुरस्कार तथा सम्मान समितिका सदस्य सचिव प्रेमसिंह ऐरले बताए ।
श्रेष्ठलाई उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।
सम्मानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले यो सम्मान समग्र निर्माण व्यवसायीकै भएको बताए । आफूले ५६ वर्षसम्म निर्माण सेवामा लागेकामा गर्व लागेको समेत उनले बताए । वृद्ध भएकाले अहिले उनको निर्माण व्यवसायको काम छोरालाई जिम्मा दिइसकेका छन ।
यस्तै, चतरा पुल निर्माण गरेर जोखिमपूर्ण क्षेत्रमा छिटो काम सकेको भन्दै अर्का निर्माण व्यवसायी विक्रम पाण्डेलाई पनि सोही क्रममा विशेष सम्मान गरिएको थियो ।
इन्जिनियर आनन्दबहादुर गुरुङलाई बेस्ट कन्सल्टेन्स अवार्ड र इन्जिनियर भोजराज रेग्मीलाई बेष्ट कन्ट्रक्सन इन्जिनियरिङ अवार्ड प्रदान गरिएको थियो ।
यस्तै, इन्जिनियर अपिल भट्टराईलाई ‘टप ¥याङ्किङ इन्जिनियरिङ ग्रयाजुएट अफ द इयर’बाट सम्मान गरिएको छ । यस्तै, निर्माणमा उल्लेख्य योगदान गर्नेलाई छानेर यो पटक महासङ्घले २७ विधामा अवार्ड र एउटा गौरव सम्मान प्रदान गरेको जनाए छ ।
सो क्रममा समूह ए अन्तर्गत गोल्डेन अवार्डबाट रमण कन्स्ट्रक्सन र नेपाल आदर्श निर्माण कम्पनी, सिल्भर अवार्डबाट कन्काई इन्टरनेशनल बिल्डर्स तथा समूह बी बाट गोल्डेनमा रोशन कन्स्ट्रक्सन र सिल्भरमा लुम्बिनी कन्स्ट्रक्सनलाई सम्मान गरिएको थियो ।
यस्तै समूह सी बाट नयाँ बाटो निर्माण सेवा कास्कीलाई स्वर्ण, कार्कीबन्धु कन्स्ट्रक्सनलाई रजत र खुश्बु कन्स्ट्रक्सनलाई मोरङलाई कास्य अवार्ड प्रदान गरिएको थियो भने समूह डी बाट वाई पिआर धनकुटालाई स्वर्ण, सुन्दर निर्माण सेवालाई रजत र शिवराम कन्स्ट्रक्सनलाई कास्य अवार्डबाट सम्मान गरिएको थियो ।
उत्कृष्ट क्षेत्रीय सङ्घमा सुदूरपश्चिमाञ्चल र उत्कृष्ट जिल्लामा हिमाली क्षेत्रअन्तर्गत दार्चुला तथा तराईको झापा जिल्ला परेका छन् । उत्कृष्ट कन्सल्टिङ कम्पनीमा इष्ट कन्सर्न प्रालिलाई अवार्ड दिइएको छ । ओम सकम्बरी निर्माण सेवाकी कोमलकुमारी बस्नेतलाई उत्कृष्ट महिला निर्माण व्यवसायी अवार्ड प्रदान गरिएको सम्मान समितिका सदस्य सचिव प्रेमसिंह ऐरले बताए ।
सहयोगी मिडियामा टिभीतर्फ कान्तिपुर, पत्रिकामा राजधानी, अनलाइनमा नेपालपाटी डटकम र रेडियोमा कालिका एफएमलाई सम्मान गरिएको र प्रायोजक सहयोग गरेबापत अटो इलेक्ट्रामेक प्रालिलाई सम्मान प्रदान गरिएको ऐरले बताए । आज चितवनको सौराहामा घोषणापत्र जारी गर्दै साधारणसभा सम्पन्न गरिनेछ ।
साधारणसभामा एक हजारभन्दा बढी निर्माण व्यवसायी सहभागी भइरहेका छन् । उक्त सम्मान समारोहमा कलाकारले विभिन्न प्रस्तुति दिएका थिए । कलाकार मनोज गजुरेलले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए भने गायक रामकृष्ण ढकाल, मिलन लामा, रेश्मा पुनलगायतले गीत प्रस्तुत गरेका थिए ।
यस्तै रत्ननगर कलामन्दिरलगायत क्षेत्रबाट आएका कलाकारले नृत्यसमेत प्रस्तुत गरेका थिए । उक्त साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका थिए।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki