काठमाडौं, २१ चैत्र । पत्रकार तथा लेखक किशोर नेपाल र अर्का लेखक नयनराज पाण्डेबीच सामाजिक सञ्जालमा शितयुद्ध चलेको छ । शनिबार कान्तिपुर दैनिकको साहित्यीक पत्रिका कोशेलीमा नेपालले लेखेको ‘लेख’ प्रति नयनराजले सामाजिक सञ्जालमा असहमति जनाएका छन् । ‘किशोर दाई जस्तो लेखकले आफ्नो आक्रोश पोख्न हामी जस्ता भाई पुस्ताका लेखकको काँधमा बन्दूक राखेर फायर गर्नु ठीक लागेन मनलाई । मन दुख्यो,’ लेखक नयनराज पाण्डेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘म कसरी भन्नसक्छु पठन संस्कृतिको विकास नभएर पढ्ने फेसन बढेको हो ? मेरो भनाइृमा छ्यासमिस पारेर किशोर दाईले आफ्नो कुरा राख्नुभएको छ ।’
पाण्डेको भनाई खण्डन गर्दै नेपालले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘कान्तिपुर कोसेलीमा प्रकाशित मेरो लेखमा उत्पन्न प्रतिक्रिया स्वभाविक थियो । लेखभन्दा वढी त्यो मेरो पर्यवेक्षण थियो । फेसवुक लगायतका सामाजिक सन्जालमा यसको निकै चर्चा भयो । सन्जालका प्रयोगकर्ता कसैले पनि मेरो लेख गम्भीरतापूर्वक पढेको देखिएन । खासगरी, मेरा राजनीतिक विचार र टिप्पणीहरुमा केन्द्रीत रहेर मेरो गैर राजनीतिक लेखमाथि टिप्पणी गरियो । टिप्पणीमा आलोचनाभन्दा पनि मेराप्रति अपशव्दको प्रयोगगरे संजालका मित्रहरुले । यसैबाट उनीहरुको नियत के हो भन्ने थाह हुन्छ । सवभन्दा नमिठो प्रतिक्रिया आयो नयनराज पाण्डेको । मैले झण्डै चार महिना अघि बत्तीशपुतलीमा रहेको बाजेको सेकुवाको नूरी कफी पसलमा उनीसंग कुराकानी गरेको थिएँ । “पढने फेशन” शव्द उनैको चयन थियो, मेरो होइन । अहिले उनले त्यसलाई अस्वीकार गरेका छन । मलाइ त्यसमा भन्नु केही छैन । यत्ति हो कि या त मेरा भाइ पुस्ताका समर्थ लेखकले आफनो स्मरण शक्ति गुमाउन थालेका छन । या, उनी राजनीतिको फन्दामा परेका छन ।’
त्यस्तै उनले थपेका छन्, ‘नयनलाई मिसकोट गर्नुपर्ने मलाइ कुनै आवश्यकता छैन । उनलाई कोट नगरेको भएपनि लेख लेखिन्थ्यो । यथार्थको सामना गर्न नसकेर चियाको कपमा तूफान सिर्जनागर्ने अप्रिय काम भयो । यो विवादबाट म पन्छिएको छु । जसलाई विवादगर्नु छ ती विवाद गरिरहुन । जसलाई मेरा विरुध्द अभियान चलाउनु छ, चलाइ रहुन ।’
उनलेसँगै शनिबार पनि पाण्डेको भनाईको खण्डन गरेका थिए । उनले आफ्नो लेख सतही नभएको भन्दै बचाउ गरेका थिए ।
‘कान्तिपुरमा प्रकाशित मेरो लेख त्यति सतही छैन, जति आरोपित गरिएको छ । मेरो त्यो लेखले पूर्णता खोजेको छ । पठन संस्कृतिको विकास भएको छैन म भन्दिन । तर दावी गरिएजति भएको छैन । विवाद यतिमात्र हो, सनातनदेखि लेखक पाठक र प्रकाशकवीच तादात्म्य स्थापित हुन सकेको छैन । त्यसको अभावमा साहित्यका पाठक वढदैनन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले उध्दृत गरेका लेखक नयनराजले म माथि आफना भनाई वंग्याएको आरोप लगाएछन, जो हुुँदै होइन । केही महिना पहिले मेरो उनीसंग यस विषयमा लामो वार्ता भएको थियो । मैले त्यो वार्ताबाट उनलाई उध्दृत गरेको हुँ । मसंग त्यसको टिपोट पनि छ । समयान्तरमा उनको विचार वदलियो भने त्यो दोष मेरो थाप्लोमा किन हाल्नु ?
लेखमा मैले उत्तर दिएको छैन । जो उत्तर जस्तो लाग्दछ त्यो मेरो प्रतिक्रिया मात्र हो । यसले लेखक, पाठक र प्रकाशकलाई पक्कै झकझक्याएको छ ।’
के लेखेका थिए नेपालले ?
लामो समय पत्रकारीता गरेका किशोर नेपालका लेख निकै आक्रमक हुनेगर्छन् । शनिबार कान्तिपुरको कोशेलीमा उनले ‘लेखक पाठक र प्रकाशक’ शिर्षकमा लामो आलेख लेखेका थिए । उनको आलेखमा नेपालमा पठक संस्कृति र लेखक तथा प्रकाशकका विषयमा प्रकाश पारिएको थियो । नेपालले पाण्डेले भनेको कुरा उदृत गर्दै लेखेका थिए, ‘लेखक नयनराज पाण्डेको अनुभवमा लेखक र प्रकाशकको सम्बन्ध हुनुपर्ने जति सुमधुर छैन । उनको विचारमा कुनै पनि कृति बजारमा सफल हुनुको अर्थ त्यो कृतिको वैचारिक सामथ्र्यको निर्धारण होइन । दुई चारजना लेखकको आर्थिक हैसियत बढेको होला । तर, त्यत्तिकैले साहित्यको विकास हुने होइन । नयनको भनाइ आजको प्रकाशन व्यवसायको कटु यथार्थ हो । यहाँका अधिकांश साख भएका भनिएका प्रकाशकहरूको कुनै मुहार छैन । कति प्रकाशकले लेखकको रोयल्टी दिंदैनन् । कति प्रकाशक लेखकसँग क्षणिक स्नेह र विश्वासको आधार देखाएर कुनै सम्झौता नै नगरी पुस्तक प्रकाशन गर्दछन । प्रकाशकले कति पुस्तक छापेको हो लेखकलाई त्यसको कुनै जानकारी हुँदैन । कुनै लेखकले हिसाब–किताब माग्यो भने प्रकाशकसँग उसको सम्बन्ध चिसो र कर्कश हुन्छ । प्रकाशन व्यवसायमा लागेका नयाँ व्यवसायी चिन्तनशैली परम्परागत प्रकाशकको जस्तै छ । तिनको मानसिकतामा कुनै परिवर्तन आएको देखिंदैन । तिनका विचारमा लेखक भनेको दयनीय जीवन बिताउने एउटा निरीह प्राणी हो । लेखकको कृति प्रकाशित गरेर प्रकाशकले उसमाथि ठूलै गुन लगाएको छ । त्यो कमजोर प्राणीलाई जसरी सुमरे पनि हुन्छ । नयनको अनुभवमा साहित्यिक पाठक बढेका छैनन् । अहिले पुस्तकको खरिदमा गैरसाहित्यिक पाठक बढेका छन् । उनी भन्छन्, ‘मेरो उपन्यास ‘लू’को सन्दर्भमा पाठकहरूले त्यसलाई नेपाल–भारत सीमाको कथा भनेर पढेका हुन् । साँच्चै भन्ने हो भने अहिले पठन संस्कृतिको होइन, पढ्ने फेसनको विस्तार भएको छ । यो विस्तारले कुन बेला विश्राम लिन्छ भन्न सकिंदैन ।’ नयनसँग असहमतिको कुनै बिन्दु भेटिँदैन ।’
किशोर नेपालले कोशेलीमा लेखेको स्क्रिन सर्ट