काठमाडौैं । चन्द्रागिरीस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका प्रतिनिधिले दियोपोस्ट डटकममा प्रकाशित समाचार हटाउन धम्की दिएका छन् ।
ट्रयल सेन्टर भाडामा लिँदा सेटिङ गरिएको र गैरकानुनी गतिविधि भएको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएको थियो । प्रकाशित समाचारको खण्डन गर्नुको सट्टा समाचार हटाउन लिखित धम्की दिइएको हो ।
कम्पनीका अध्यक्ष बताउने राजेश घिमिरेले समाचार हटाउन पत्राचार गरेका छन् । प्रकाशित समाचारमा कुनै सत्यता नरहेको, समाचारमा हुँदै नभएको विषय उल्लेख भएको जस्ता आरोप लगाइएको छ । जबकी तथ्यगत र कागजातसहितका पुष्टि गर्ने आधार दियोपोस्टसँग सुरक्षित छन् ।
‘तपाईंको मिडियाबाट प्रकाशित सो सामग्रीप्रति कुनै सत्यता नरहेको कारणले गर्दा तुरुन्त सामग्री हटाई खण्डन प्रकाशित गरिदिनु हुन अनुरोध गर्दछौँ,’ धम्कीपूर्ण पत्रमा भनिएको छ,‘अन्यथा हामी कानुनी उपचार खोज्न बाध्य हुनेछौँ ।’
प्रेस काउन्सिल आचार संहितामा समाचार हटाउनु वा डिलिट गराउनु गैरकानुनी कार्य हो । यदि यस्तो कार्य गरे पत्रकार तथा संचार माध्यममाथि नै कारबाही हुने व्यवस्था छ ।