झापा , २५ चैत । मानिसको स्वभाव पनि फरक फरक हुन्छ । कसैलाई राजनीति मनपर्छ त कसैलाई खेलकुद ।
तिनैमध्येका एक हुन झापा धाइजन निवासी नरेन्द्र मेचे । उनले खेलकुद भनेपछि मरिहत्ते गर्नुहुन्छ । चाहे भलिबल होस् या फुटबल । अहिले उनले आफू खेल्नुहुन्न तर खेलकुद भन्नेबित्तिकै सहयोग गर्न भने हौसिन्छन् ।
त्यही भएर होला उनले यही वैशाख २ गतेदेखि हुने मोफसलकै सर्वाधिक राशिको तेस्रो राष्ट्रिय प्रतियोगिताका लागि रु छ लाख सहयोग गरेका छन् ।
“मेरो नसा–नसामा फुटबल छ”, खेलप्रतिको मोह दर्शाउँदै मेचे भन्छन – “हाम्रो पालामा खेल खेल्ने ठाउँको अभाव थियो तर पनि खेल्न मन लाग्थ्यो ।”
खेलकुद भनेपछि हुरुक्कै हुने नरेन्द्रले खेलकुदले युवापुस्तालाई सही दिशातर्फ डो¥याउन मद्दत पुग्ने हुँदा जति पनि सहयोग गर्न आफू तयार भएको बताए ।
उहाँले भर्खरै धाइजन सहरेडाँगीमा सम्पन्न पूर्वाञ्चलस्तरीय प्रतियोगितामा रु एक लाख ११ हजार सहयोग गरेका थिए । त्यतिमात्र होइन, दुवागढी, धाइजनलगायतका स्थानीय क्षेत्रमा भएका वडास्तरीय प्रतियोगितामा सक्दो सहयोग गरेर खेलकुद क्षेत्रको विकासमा आफूलाई समर्पित गरेको उनको भनाइ छ ।
आगामी वैशाख २ गतेदेखि झापाकै धाइजनमा हुने तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिताका लागि रु छ लाख सहयोगमात्र गर्नुभएन प्रतियोगिता सफल बनाउनका लागि कम्मर कसेर लागेका छन ।
“यति ठूलो प्रतियोगिता गर्नु हाम्रो गौरवको विषय हो”, उनले भने – “यसखाले प्रतियोगिताले स्थानीय क्षेत्रलाई चिनाउन मद्दत गर्छ ।” खेल क्षेत्रको विकास गर्न राज्यले प्रत्येक गाविसमार्फत लगानी गर्नुपर्ने उनको सुझाव छ । तर, त्यसका लागि खेलकुद नीति आवश्यक रहेको उनको तर्क छ ।