काठमाडौँ, २५ चैत । आपूर्तिमन्त्री गणेशमान पुनले पछिल्ला दिनमा उल्लेख्य मात्रामा इन्धन आयात भए पनि उपभोक्ता मारमा पर्नुको कारण खोजी भइरहेको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटीले आयोजना गरेको सिटिइभिटी कपको आज यहाँ उद्घाटन गर्दै उनले एकैपटक धेरै इन्धन भण्डारण गर्ने प्रवृत्तिका कारण पनि बजारमा अभावको अवस्था आएको बताए ।
उहाँले निगमको भण्डारण क्षमता कम भएका कारण पनि कुनै अवरोध हुनेबित्तिकै बजारमा अभाव देखिने गरेको उल्लेख गर्दै भने– “सिंहदरबारभित्र र आसपासमा आश्रय लिएर बसेका कालोबजारियालाई तह लगाउन युवा विद्यार्थीको सहयोग अत्यावश्यक छ । हामीले कालोबजारियालाई तह लगाउन सकेनौँ भने कोही कसैले सक्दैन ।”
मन्त्री पुनले निगमको भण्डारण क्षमता १६ दिनको मात्रै रहेकाले त्यसलाई कम्तीमा पनि ९० दिनको बनाउने तयारीमा लागेको बताए ।