झापा , ३० चैत । यहाँ पहिलो पटक एक निजी अस्पतालले ब्रेन ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको छ । बिर्तामोडको ‘बिएन्डसी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर’मा झापाका धार्मिक अगुवा पुष्पलाल निरौलाको सात सेमी लामो ब्रेन ट्युमर शल्यक्रिया गरी निकालिएको हो । सेन्टरका वरिष्ठ न्युरो सर्जन डा चन्द्रप्रकाश लिम्बूको नेतृत्वमा रहेको टोलीले सोमबार बिहान आठ घन्टासम्म शल्यक्रिया गरेको हो । अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य निरौला अचानक टाउको दुखेर सेन्टरमा उपचारका लागि जाँदा ब्रेनमा ट्युमर रहेको पत्ता लागेको मेडिकल डाइरेक्टर डा उमेश शर्माले बताए। हाल सघन उपचारमा रहनुभएका निरौलाको होस फर्किसकेको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ । बि एन्ड सी हस्पिटलले एमआरआई लगायत उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण ल्याएपछि जटिल ठानिएका ब्रेन ट्युमर, क्यान्सरलगायत रोगको सूक्ष्म पहिचान गर्न सहज भएको डा शर्माले बताए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki