काठमाडौँ, ३० चैत । सांसद रामेश्वर फुयाँलले बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धनाथ क्षेत्रको आर्थिक पारदर्शिता र सुदृढ व्यवस्थापन समिति गठनको माग गरेका छन् ।
गुठी संस्थानले अन्य यस्ता सांस्कृतिक सम्पदामा व्यवस्थापन समिति गठन गरी कार्य सञ्चालन गरिरहेकामा बौद्धनाथमा भने व्यवस्थापन समिति नबनाइएकाले तत्काल समिति गठन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन ।
“हरेक चार वर्षमा लामा गुरु परिवर्तन हुनुपर्ने चलन रहे पनि लामो समयदेखि एकै जना व्यक्ति रहँदा व्यापक आर्थिक अनियमितता भएको छ, मन्त्रालयले ज्ञापनपत्रको अध्ययन गरेर छिटो कार्यान्वयन गरोस्,” उनले भने ।
ज्ञापनपत्रमा विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपमा गत वैशाखको भूकम्प र त्यसपछिका परकम्पबाट ठूलो क्षति भएकामा गुरुयोजना बनाएर राष्ट्रिय महत्वका साथ ऐतिहासिकता, मौलिकता, पुरातात्विक, कलाकौशलयुक्त हुने गरी छिटो पुनःनिर्माण गर्न सरकारसँग माग गरिएको छ ।
सांसद फुयाँलले परिवर्तित राजनीतिक व्यवस्थामा जनताको भावना प्रतिविम्बा हुने गरी बौद्ध घ्याङ गुठी र बौद्धनाथ क्षेत्र विकास समितिको पुनःसंरचना गर्न माग गरे । “व्यवस्थापनको लापरबाही र अनियमितताका कारण केही महिना अगाडि बौद्धनाथको अजिमा मन्दिरमा रहेको ऐतिहासिक गरुडको टुँडाल हराएको छ, यसको खोजी गर्न जिम्मेवार निकाय लागेको छैन, तत्काल खोजी गरी दोषी पत्ता लगाएर कानुनी कारवाही गर्न माग गर्दछु,” ज्ञापनपत्रमा भनिएको छ ।
बौद्धनाथमा गुठी संस्थानको मिलेमतोमा विवादित र चोरीको मुद्दामा मुछिएका व्यक्तिलाई लामा गुरु नियुक्त गरी करोडौँ आर्थिक हिनामिना भइरहेको आरोप लगाउँदै पटक पटक ऐतिहासिक र अमूल्य वस्तु हराउँदा पनि सम्बन्धित निकाय जिम्मेवार नबनेको भन्दै सांसद फुयाँलले आक्रोश व्यक्त गरे ।
ज्ञापनपत्र बुझ्दै भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा र राज्यमन्त्री विक्रमबहादुर थापाले तत्कालै स्थानीय जनताको मर्मानुसार नै काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको सांसद फुयाँलका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।